arrow

डोटीमा निर्वाचन : १ हजार ५४ उम्मेदवार चुनावी मैदानमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १९ सोमबार
local_election_SoSYi36EtA.jpg

डोटी । आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय- तहको निर्वाचनमा भाग लिने उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै डोटीमा चुनावी माहोल बढ्दै गएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार डोटी जिल्लाका नौ वटै पालिकाका लागि प्रमुख, उपप्रमुख,अध्यक्ष, उपाध्यक्षका साथै ६५ वडाध्यक्ष, सदस्य समेतमा ३ सय ४३ जनप्रतिनिधिका लागि १ हजार ५४ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । 

जिल्लाका नौ वटै निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनमा भाग लिने उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको र ७ राजनीतिक दलले उम्मेदवारी दिएका छन् ।

यही ११ र १२ गते उम्मेदवार मनोनयन दर्ता भएसँगै आ-आफ्ना पक्षमा मत माग्न नेता तथा कार्यकर्ता उत्साहपूर्वक घरदैलो कार्यक्रमलाई अघि बढाइरहेका छन् । 
डोटीमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी , राप्रपा साथै केही स्वतन्त्र व्यक्तिले उम्मेदवारको मनोनयन बुझाएको मुख्य निर्वाचन अधिकृत विदुर काफ्ले जानकारी दिए। 

स्थानीय-तहको निर्वाचनको निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्था पूरा भएको डोटीका प्रमुख जिल्ला अधिकारी शङ्कर बहादुर विष्टले बताए । शान्तिपूर्ण र भयरहित वातावरणमा स्थानीय- निकायको निर्वाचन सम्पन्न गराउने साझा दायित्व भएकाले सबै क्षेत्रबाट सहयोग पाउनेमा आफूहरू आशावादी भएको सरकारी अधिकारीले जनाएका छन् ।

सुरक्षाका लागि पहिलो पङ्क्तिमा नेपाल प्रहरी, दोस्रो पङ्क्तिमा म्यादी प्रहरी, तेस्रोमा सशस्त्र प्रहरी बल र चौथो पङ्क्तिमा नेपाली सेना परिचालन हुने बताइएको छ ।

डोटीका नौ वटा पालिका क्षेत्रमा ११५ मतदान स्थल तथा १७१ वटा मतदान केन्द्रबाट १ लाख २३ हजार ५५४मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन अधिकारी करुणाकर पन्तले जानकारी दिए। सो अन्तर्गत पुरुष मतदाता ५८ हजार २ सय बयासी र महिला मतदाता ६५ हजार २ सय बहत्तर रहेको उनले बताए । 

स्थानीय-तहको निर्वाचन सम्पन्न गर्न जिल्लाभर १ सय एकहत्तर मतदान केन्द्रमा स्वयंसेवक बाहेकका ८ सय छत्तीस जना कर्मचारी खटाइने निर्वाचन अधिकारी पन्तले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ