arrow

वीरगञ्जमा दुवै गठबन्धन ढुक्क, यस्तो छ समीकरण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २५ आइतबार
bijaya-sharawagi-rajeshman-singh.jpg

वीरगञ्ज । करिब एक लाख २५ हजार मतदाता रहेका वीरगञ्ज महानगरपालिकामा यसपटक सत्ताधारी गठवन्धन दलका उम्मेदवार विजयी हुने आँकलन धेरैले गरेका छन् । यसकारण यो आँकलन गरिएको हो कि २०७४ को निर्वाचनमा पहिलो, दोस्रो र चौथो स्थानमा भोट ल्याएका दलहरु अहिले एक ठाउँमा छन् । 

२०७४ को निर्वाचनमा तेस्रो र पाँचौ स्थानमा भोट ल्याएका लोसपा (तत्कालीन राष्ट्रिय जनता पार्टी) र नेकपा एमालेसँग यतिखेर गठबन्धनको सोझो प्रतिष्पर्धा छ । त्यसो त २०७४ को चुनावमा वीरगञ्ज महानगरपालिकामा मेयरमा विजयी भएका विजय सरावगी यसपटक एमालेबाट उम्मेदवार बनेका छन् । 

२०७४ को चुनावमा सरावगीसँग राजेशमान सिंहले प्रतिष्पर्धा गरेका थिए । उनले अहिले पार्टी फेरेका छन् । त्यतिखेर उनले तत्कालीन राष्ट्रिय जनता पार्टीबाट उम्मेदवारी दिएका थिए । चुनावको केही दिन अघिमात्र सिंह पार्टी फेरेर जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।  

अघिल्लो निर्वाचनमा पनि सरावगी र सिंहबीचमै प्रतिस्पर्धा थियो । अहिले पनि यी दुई नेताबीच प्रतिष्पर्धा हुँदैछ । तर अहिले दुवै नेताको पार्टी फरक फरक भएको छ । प्रतिष्पर्धा गर्ने नेताहरु पुरानै छन् ।

दुवै नेताले उम्मेदवारी दिने केही दिनअघि मात्र पार्टी फेरेका छन् । शुरुमा सिंह लोकतान्त्रिक समाजवादी पार्टीबाट एमालेमा गए । त्यसको केही दिनपछि जसपाबाट विजयी सरावगी एमालेमा गए ।   सरावगी नै एमालेमा प्रवशे गरेपछि अब एमालेमा रहेर आफ्नो भविष्य सुरक्षित छैन भन्ने सिंहले ठाने ।  

त्यसपछि उनले पार्टी फेरेर जसपामा गए । पार्टी फेरबदल गर्दा नै यी दुई नेताले मेयरको उम्मेदवारी सुरक्षित बनाएका थिए । यसपटक वीरगञ्जमा मेयरमा गठबन्धनबाट जसपाले पाएको छ भने उपमेयरमा नेपाली कांग्रेसका युवा नेता इस्तियाज आलमले उम्मेदवारी दिएका छन् । उपमेयरमा आलामलाई चुनाव जित्न झनै सजिलो भएको छ । 

उनका प्रतिष्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तम झा झण्डै ७४ वर्षका छन् । वीरगञ्जमा युवाको मत आलमतिर आकर्षित भएको छ । यसपटक वीरगञ्जमा एमाले र लोसपाले गठबन्धन गरेका छन । एमालेबाट मेयरमा सरावगी र लोसपाबाट झाले उपमेयरमा उम्मेदवारी दिएका हुन् । 

त्यसो त मेयरको प्रतिष्पर्धामा यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गिरिश गिरी पनि छन् । तर उनी पछि छन् । यसपटक उनले आफ्नो उपस्थिति देखाएका छन् । प्रतिष्पर्धामा भने नभएको आँकलन गरिएको छ । यति हुँदाहुँदै पनि उनी तेस्रो स्थानमा आउने निश्चित भएको बुझिन्छ । 

मेयरमा ३ यी नेता बाहेक अरु ८ जनाले पनि उम्मेदवारी दिएका छन् । तर उनीहरुको नाम त्यति चर्चामा छैन । 

२०७४ को निर्वाचनमा जसपा (तत्कालीन समाजवादी) पहिलो, दोश्रो स्थानमा नेपाली कांग्रेस र तेश्रो स्थानमा तत्कालीन राजपाका उम्मेदवार विजयी भएका थिए । माओवादी केन्द्र र एमालेका उम्मेदवारले बराबरी जस्तो मत ल्याएका थिए ।

माओवादीका रहवर अन्सारीले ८,३०५ तथा म. बसरुद्धीन अन्सारीले ८,६८८ मत ल्याएका थिए । तत्कालीन राजपाका राजेशमान सिंहले तेस्रो स्थानमा रहेर १२ हजार १६५ मत ल्याएका थिए ।  

नेपाली कांग्रेसका अजयकुमार द्धिवेदीले १७ हजार १९७ मत ल्याएका थिए । जबकि विजेता विजयकुमार सरावगीले १९ हजार ३९३ मत ल्याएका थिए । 

लोसपाका सांसद विमल श्रीवास्तवले वीरगञ्जमा फेरि सरावगी विजयी हुने ठोकुवा गर्छन् । ‘उहाँको पहिलेको मत कायमै छ । घटेको छैन । त्यसमा पनि एमाले र लोसपाको  भोट थपिएको छ’ उनले भने, ‘त्यसैले सरावगी विजयी हुने अवस्था छ ।’  

तर वीरगञ्जका स्वतन्त्र विश्लेषकहरु भने श्रीवास्तवको यो भनाइमा सहमत छैनन् । ‘यसपटक वीरगञ्जमा गठबन्धनको लागि धेरै सहज अवस्था बनेको छ । सरावगीले आर्थिक परिचालन जसरी गरे पनि मेयर र उपयमेयरमा गठबन्धन दलका उम्मेदवारहरु विजयी हुने निश्चित झैं छ’, एक विश्लेषकले भने । ती विश्लेषकको अनुमानमा वीरगञ्जमा दुई तिहाइभन्दा बढी वडामा गठबन्धन दलका उम्मेदवारहरु नै विजयी हुनेछन् । 

पहिलेका राजपाका धेरै नेताहरु अहिले लोसपामा छन् । तर पहिलेको राजपाको पूरा शक्ति  अहिले लोसपामा छैन । किनभने पहिलेका राजपाका केही प्रभावशाली नेताहरु पार्टी फेरेर जसपामा प्रवेश गरेका छन् । 



नयाँ