arrow

भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण भव्य बनाउने तयारी

logo
भरत केसी,
प्रकाशित २०७९ वैशाख २९ बिहिबार
lumbini-buddha-siddharthnagar-hall.jpg

लुम्बिनी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणलाई भव्य बनाउन लुम्बिनीमा व्यापक तयारी थालिएको छ। २५६६ औँ बुद्ध पूर्णिमा तथा लुम्बिनी दिवस, २०७९ का अवसरमा आगामी जेठ २ गते भारतीय प्रधानमन्त्री मोदी बुद्ध जन्मस्थल लुम्बिनी आउने कार्यक्रम तय भएको छ। भारतीय प्रधानमन्त्री मोदी जेठ २ गते भारतको सारनाथबाट हेलिकप्टरमा लुम्बिनी आउने कार्यक्रम छ। उनी लुम्बिनी बिहानको करिब ११ बजे आइपुग्ने लुम्बिनी विकास कोषले जनाएको छ।

भारतीय प्रधानमन्त्री चढेको हेलिकप्टर र त्यससँगै आउने अन्य हेलिकप्टर अवतरणका लागि लुम्बिनीमा गुरुयोजना अन्तर्गत अहिले धमाधम चार वटा हेलिप्याड निर्माणको काम चलिरहेको छ। यस्तै लुम्बिनीका भित्री सडकमा सरसफाइ गरेर सौन्दर्य अभिवृद्धिको कामसमेत धमाधम भइरहेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानु राजा शाक्यले जानकारी दिए।

यस्तै नेपालका विशिष्ट पाहुनाका लागि विद्युतीय सवारी चार्जिङ सटेशन नजिकै एउटा र होटेल होक्केमा अस्थायी हेलिप्याड निर्माण गरिने तय भएको छ।

यस्तै लुम्बिनीमा अहिले मायादेवी मन्दिरको रङरोगनको काम भइरहेको छ। मन्दिरको रङरोगनसँगै मन्दिरको सौन्दर्य अभिवृद्धिको काम गरिनेछ। भारतीय प्रधानमन्त्रीले मायादेवी मन्दिरमा बुद्धको पदचापमा पूजा गर्ने र पुष्प चढाउने कार्यक्रम रहेको छ।

यसका साथै मायादेवी मन्दिरसँगै रहेको अशोक स्तम्भमा उनले दीप प्रज्वलन गर्ने कार्यक्रमसमेत रहेको विकास कोषका सदस्य सचिव शाक्यले जानकारी दिए।

भारतीय प्रधानमन्त्रीको भ्रमणमा सुरक्षा व्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी एसपिजी (स्पेशल प्रोटेक्सन गार्ड) बुधवार भारतीय वायुसेनाको विमानबाट लुम्बिनी आइपुगेको छ। यसका साथै भारतीय प्रधानमन्त्रीको लुम्बिनी भ्रमणका क्रममा सवारीका लागि भारतबाट बुधवार नै चार वटा गाडीसमेत आइपुगेका छन्। ती गाडी विमानबाट नै भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा झारिएको थियो।

लुम्बिनीमा मायादेवी मन्दिरको पूजा तथा दीप प्रज्वलनपश्चात् यसअघि प्रधानमन्त्री मोदीका तर्फबाट भारतीय राजदूतले रोप्नुभएको बोधिवृक्षमा जनचेतना गर्ने कार्यक्रम रहेको सदस्य सचिव शाक्यले जानकारी दिए।

यसै गरी भारत सरकारले अन्तर्राष्ट्रिय बुद्धिष्ट कन्फरेडेशन (आइबिसी)मार्फत लुम्बिनीमा निर्माण गर्न लागेको बौद्ध विहारको प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रूपमा शिलान्यास गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए।

लुम्बिनी विकास कोषले कोषको ९ नं गेट हुँदै विहार निर्माण स्थलसम्म पुग्नका लागि करिब ७०० मिटर लामो पक्की बाटो निर्माण गरिरहेको छ। 

यस लगत्तै दुवै देशका प्रधानमन्त्रीको होटेल पवनमा द्विपक्षीय भेटघाट हुने कार्यक्रम रहेको सदस्य सचिव शाक्यले जानकारी दिए। होटेलमा द्विपक्षीय भेटपश्चात् करिब १ बजे २५६६औँ बुद्ध पूर्णिमा तथा लुम्बिनी दिवस, २०७९ मूल समारोहमा भारतीय प्रधानमन्त्री मोदी उपस्थित हुने कार्यक्रम रहेको विकास कोषले जनाएको छ।

सदस्य सचिव शाक्यले यो भ्रमणले लुम्बिनीमा अब विश्वको ध्यान केन्द्रित हुने र भारतीय धार्मिक पर्यटक बढ्ने विश्वास व्यक्त गरे। भारतीय धार्मिक पर्यटक अब लुम्बिनी हुँदै मुक्तिनाथको दर्शनका लागि प्याकेज बनाएर आउने उनको भनाइ छ।

२५६६औँ बुद्ध पूर्णिमा तथा लुम्बिनी दिवस, २०७९ मूल समारोहलाई प्रधानमन्त्री देउवा र समकक्षी भारतीय प्रधानमन्त्री मोदीले विशेष सम्बोधन गर्नुहुने कार्यक्रम रहेको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले जानकारी दिए।

उनले भारतीय प्रधानमन्त्रीको यो लुम्बिनी भ्रमण नितान्त सांस्कृतिक भ्रमण रहेकाले यो भ्रमणले दुई देशबीचको सांस्कृतिक सम्बन्ध थप प्रगाढ बन्ने विश्वास व्यक्त गरे। उनले यो भ्रमणले लुम्बिनी र बुद्धसँग सम्बन्धित विभिन्न भ्रमलाई अन्तर्राष्ट्रिय रूपमा चिर्नेसमेत विश्वास व्यक्त गरे।

बुद्धको विचार सम्पूर्ण एसियामा साझा विचारका रूपमा स्थापित हुँदै गएको अवस्थामा भारतीय प्रधानमन्त्रीको लुम्बिनी भ्रमणले लुम्बिनी र गौतमबद्धको विचारलाई थप बलियो बनाउन प्रचारप्रसार हुने विकास कोषका उपाध्यक्ष भिक्षु मैत्येय बत्ताउँछन्।

उनले भारतीय प्रधानमन्त्रीको लुम्बिनी भ्रमणपछि लुम्बिनी अब अन्तर्राष्ट्रिय केन्द्रका रूपमा स्थापित हुने विश्वाससमेत व्यक्त गरे।

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रको उद्घाटन हुने
लुम्बिनीमा निर्माण भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रको उद्घाटन हुने भएको छ। २५६६औँ बुद्ध पूर्णिमा तथा लुम्बिनी दिवस, २०७९ का अवसरमा जेठ २ गते प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रियस्तरको बौद्ध सभा हल तथा ध्यान केन्द्रको उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको लुम्बिनी विकास कोषका सदस्य सचिव शानुराज शाक्यले जानकारी दिए।

उक्त दिन बिहान सभा हलको प्रधानमन्त्री देउवाबाट उद्घाटन भएपछि बुद्ध पूर्णिमाको मूल समारोह कार्यक्रम यसै हलमा आयोजना गरिने उनले जानकारी दिए।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको यो सभा हल अत्याधुनिक सुविधासहितको रहेको जनाइएको छ। तीन वर्षमा सम्पन्न गर्ने योजना रहेको सभा हलको कोभिडका कारण एक वर्ष ढिलो गरी सम्पन्न भएको छ।

उक्त ध्यान केन्द्र १० मिटर गहिराइका १४० वटा पाइल फाउन्डेसनमा निर्माण गरिएको छ। फाउन्डेसनमाथि ४० वटा पिलर ठड्याएर छानो बनाइएको छ। आठ हजार ३०० वर्ग मिटर क्षेत्रमा रहेको सभा हललाई बन्द राख्न चारैतिरबाट चिनियाँ इँटाको पर्खाल लगाइएको छ। हलभित्र पस्न मुख्य तीन वटा सेन्सर ढोका जडान गरिएको छ। उक्त हलको वरिपरि ५२ वटा हाते ढोकासमेत जडान गरिएको छ।

पाँच हजार जना अटाउने छाता शैलीको हलमा ध्यान केन्द्रको छाना गर्मीमा चिसो र चिसोमा तातो हुने प्रविधिको जडान गरिएको लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले जानकारी दिए।

सभा हललाई चारैतिर पर्खाल लगाइएको छ। पर्खालको भित्रतर्फ बुद्धको विभिन्न आकर्षक प्रतिमा निर्माण गरिएका छन्। योजना प्रमुख भट्टराईका अनुसार ७५० मिटर लम्बाइको कम्पाउण्ड पर्खालको साढे सात-सात मिटर फरकमा ९७ वटा बुद्ध मूर्ति राखिएका छन्।

उक्त सभा हल निर्माणमा पहिलो चरणमा रु ३३ करोड र दोस्रो चरणमा करिब रु २७ करोड खर्च हुने बताइएको छ। विसं २०७४ मा पाल टाँगेर बुद्ध जयन्ती कार्यक्रम गर्दा हावाहुरी र झरीले कार्यक्रम स्थल भत्काएपछि कार्यक्रमका प्रमुख अतिथि रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सोही समारोहमै पाँच हजार क्षमताको ध्यान केन्द्र लुम्बिनीमा बनाउने घोषणा गरेका थिए।

उक्त सम्मेलन केन्द्रको विसं २०७५ वैशाख १७ गते २५६२औँ बुद्ध जयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेकी थिइन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ