arrow

सुदूरपश्चिमका मुख्यमन्त्रीको पालिकामा कांग्रेस विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ४ बुधबार
ki-sing-gaupalika.JPG

डोटी । नेकपा माओवादी केन्द्रका नेता एवं सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको केआईसिंह गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष सहित चार वडामा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् ।

गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार लोकेन्द्र बहादुर शाही ४ हजार २६२ मतसहित विजयी भएका हुन् । उनका निकटम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार केशवनाथ योगीले ३६२ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै उम्मेदवार मिना देवी विष्ट ४ हजार ७२ मतसहित विजयी भएका छन् । उनका निकटम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका उम्मेदवार  निर्मला अवस्थीले २५३६ मत प्राप्त गरेका छन् ।

केआईसिंह गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गठबन्धनमा चुनाव लडेका थिए । केआईसिंह मुख्यमन्त्री भट्ट र नेकपा एकीकृत समाजवादीका नेतृ सुदूरपश्चिम प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री पूर्ण जोशीको गृह पालिका हो ।

अध्यक्षमा निर्वाचित शाही र उपाध्यक्षमा निर्वाचित विष्ट २०७४ को निर्वाचनमा पनि ७ वटा वडासहित भारी मतले विजयी भएका थिए । केआईसिंह गाउँपालिकाका सात वटा वडाहरू मध्य चार वडामा नेपाली कांग्रेस, एक वडामा राप्रपा र एक-एक वडामा समाजवादी र माओवादीका उम्मेदवार विजयी भएका छन् ।

वडा नं. १ मा नेपाली कांग्रेसका कृष्ण बहादुर बम, २ मा कांग्रेसकै नेत्रबहादुर रावल निर्वाचित भएका छन् । वडा नं. ३ मा कांग्रेसका रामबहादुर कुँवर र ४ मा कांग्रेसकै जय बहादुर धामी निर्वाचित भएका छन् । त्यस्तै वडा नं. ५ मा समाजवादीका दुर्गा सिंह रावल र ६ मा माओवादीका कृष्ण प्रसाद जैसी निर्वाचित भएका छन् भने वडा नं. ७ मा राप्रपाका दिलबहादुर बलायर निर्वाचित भएका छन् ।

योसँगै डोटीका नौ स्थानीय तहमध्ये आठ स्थानीय तहको नतिजा सार्वजनिक भैसकेको छ। जसमा ६ पालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ भने एउटामा नेकपा एमाले र एउटामा नेकपा माओवादीले जित निकालेको छ।

जिल्लाका दिपायल सिलगढी नगरपालिका, बडीकेदार गाउँपालिका, पूबीचौकी गाउँपालिका, आदर्श गाउँपालिका, सायल गाउँपालिका र केआईसिंह गाउँपालिकामा नेपाली कांग्रेसले जितेको छ भने जोरायल गाउँपालिकामा नेकपा एमाले र बोगटान फुड्सिल गाउँपालिकामा नेकपा माओवादीले जितेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ