बिमल कार्कीको मृत्यु घटनाको छानबिन हुन्छ – गृहमन्त्री खाँण
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १० मंगलबार
553
Shares
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिका वडा नं २ का बिमल कार्कीको २०७९ बैशाख २८ गते राति खोक्लिङको दुङ्जामा भीरबाट लडेर मृत्यु भएको घटनाको छानबिन गर्ने बताएका छन् ।
एमाले सचिव एवं ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्य योगेश भट्टराईको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँग मंगलबार गृह मन्त्रालयमा कुराकानी गर्दै गृहमन्त्री खाँणले छानबिनमा कोही दोषी देखिएका कारबाही गर्ने प्रतिबद्धता जनाए ।
‘नागरिकको जीवनरक्षा गर्ने सरकारको दायित्व हो । ताप्लेजुङमा बैशाख २८ गते राति भएको घटनाको निष्पक्ष छानबिन हुन्छ’, गृहमन्त्री खाँणले भने, ‘छानबिनका क्रममा कोही दोषी देखिए कानुन अनुसार कारबाही हुन्छ ।’
प्रतिनिधिमण्डलका तर्फबाट सांसद भट्टराईले कार्की मृत्युको घटनाको विषेशरूपमा शीघ्र अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरे । उनले घटनाबारे छानबिन गर्न माग गर्दै गृहमन्त्री खाँणलाई लिखित पत्र पनि बुझाएका हुन् ।