arrow

ओलीले दुर्विनबाट दृश्यावलोकन गरेको टावरको प्रयोग शून्य

तिलोत्तमा बहुउद्देश्यीय टावर: अघिल्लो मेयरको नेतृत्वद्वारा हतारो उद्घाटन

logo
नारायण वली,
प्रकाशित २०७९ जेठ १९ बिहिबार
tilotama-tower.PNG

रुपन्देही । ०७४ सालको स्थानीय निर्वाचनमा तिलोत्तमा नगरपालिकाको जिम्मेवारी सम्हाल्न पुगेका वासुदेव घिमिरे आफ्नो कार्यकालमा केही चर्चा कमाउने काम गरेर वाह वाह कमाए । कतै त्यही नगरपालिकाकै कतिपय बासीहरूले भने असन्तुष्टि जनाउँदै आए । 

यही बीचमा उनै नगरप्रमुख घिमिरेले आफ्नो कार्यकालको अन्तिम चरणमा आइपुग्दा आफुले निर्वाचनका वेला गरेको घोषणापत्रमा उल्लेख गरेका बुँदाहरू सबै सम्पन्न गर्न पुगेको जनाए । तिलोत्तमा नगरपालिकालाई देशकै उत्कृष्ट श्रेणीमा सम्मानित गराउन पनि भ्याए । स्थानीय तहको नीति बनाएर देशैकै पहिलो मेयरको रूपमा चर्चा बटुले । तर उनका कामले महत्त्वाकाङ्क्षी काम भन्दा प्रचारबाजी धेरै भएको गुनासो स्थानीयहरूको छ ।

नगरप्रमुख घिमिरेले शंकरनगर वन वाटिका भित्र पर्यटन प्रवर्धन गर्ने उद्देश्यले तिलोत्तमा बहुउद्देश्यीय टावर (भ्यूटावर) निर्माण गरे पनि तर, निर्माण कार्य अवस्था नसकिँदै तामझामका साथ उद्घाटन गरियो । टावरमा चढेर वरिपरिको दृश्य हेर्न मन लाग्नु स्वाभाविकै हो । विडम्बना, उद्घाटन भएको करिब ३ महिना पुगिसक्दा समेत उक्त टावर सञ्चालनमा आएको छैन । बाहिर रूप रङ्गिए पनि भित्रको संरचनाको काम बाँकी सकिएको छैन । कार्यकाल सकिनै लाग्दा हतारमा उद्घाटन गरेका पूर्व नगर प्रमुख वासुदेवले सञ्चालन नगरेर जाँदा अहिलेसम्म सो टावर प्रयोगमा आउन सकेको छैन ।

वन वाटिका घुम्न जाने आन्तरिक पर्यटकहरूले ११ तले टावरमा गएर दृश्यावलोकन गर्न इच्छा गरे पनि प्रवेश गर्न नपाउने भएपछि नैराश्यता व्यक्त गर्छन् । ०७८ चैत्र १५ गते उक्त टावरको तामझामका साथ एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । टावरको माथिल्लो भागमा पुगेर ओलीले दुर्विनबाट वरिपरिको दृष्य नियालेर उद्घाटन गरिएको थियो । 

त्यति वेला उक्त उद्घाटन निकै आलोचित बन्न पुग्यो । एमाले नेतृत्वको सरकारले जनताका आधारभूत कुरामा ध्यान नदिएर भ्यूटावरमा राज्यको पैसा खन्याएको भन्दै, सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा व्यापक आलोचना समेत भएको थियो । गत वैशाख ३० गते तोकिएको स्थानीय चुनावको लागि गत चैत्र २५ गतेबाट आचारसंहिता लागु भएको हुने भएपछि त्यसको १० दिन अगाडि मात्रै पूर्व प्रधानमन्त्री ओलीद्वारा उद्घाटन गरिएको थियो ।

वैशाख १६ गते वन वाटिकामा दाङबाट घुम्न आएकी कमला वस्नतले भनिन्, यहाँ त भ्यूटावर वनेको छ भनेर काठमाण्डौं नगएर यता आए तर यहाँ वनेको टावरमा त चढ्न पाइने रहेनछ । टावरमा चढेर फोटो, टिकटक गराउँदै, दृश्यावलोकन गर्ने सोच थियो, त्यसै फर्किनु पर्ने भयो । 

करिब १४ करोड लागतको लागि तिलोत्तमा नगरपालिकाले ७० प्रतिशत र वन वाटिकाको ३० प्रतिशत लगानी रहेको छ । यता, नगरवासीहरूले नगरपालिकामा अझै पनि शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका अन्य समस्याहरू छन् । अनावश्यक पूर्वाधारमा खर्च हुने रकमले सामुदायिक विद्यालयमा शैक्षिक सुधार, स्वास्थ्य केन्द्रमा आधारभूत संरचना, कृषि उत्पादन र रोजगार प्रवर्द्धन लगायतका काम गर्न बाँकी रहेको वेला पूर्ववर्ती नगरप्रमुख भ्यूटावर निर्माणमा लागेको गुनासो छ । स्थानीय वातावरणविद्का अनुसार भ्यूटावरले पर्यावरण, र वन क्षेत्रको प्राकृतिक सुन्दरतामा ह्रास ल्याउने बताउँछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ