arrow

प्रदेश १ को नाम किराँत राख्न जोड, मनाइयो प्रकृति र मानवबीच सुमधुर सम्बन्ध राख्ने पर्व साकेला सिली

logo
युवराज रेग्मी, 
प्रकाशित २०७९ जेठ २२ आइतबार
sakela-sili.jpg

झापा । किराँतहरुको उभौली पर्वको साकेला सिली झापामा सामूहिक रुपमा मनाइएको छ । प्रदेश १ का  सामाजिक विकास मन्त्री राजन राईको प्रमुख आतिथ्यमा कमल गाउँपालिकाको रतुवामाईमा वृक्षारोपणसमेत आयोजना गरी भव्यताका साथ कार्यक्रम सम्पन्न भएको हो  । 

कार्यक्रममा बोल्दै मन्त्री राईले आफ्नो पार्टी नेकपा एकीकृत समाजवादी किराँत प्रदेश नामाकरणको पक्षमा रहेको र सोही विषयलाई लिएर अन्य पार्टीसँग सहजीकरण गरिरहेको बताए  । उनले ५ वर्ष बित्न लाग्दासमेत प्रदेशको नामाकरण नहुनु दुर्भाग्य भएकोसमेत बताए  ।

सरकारको नेतृत्वकर्ता हुनुका नाताले आउँदो १ असारमा आउने बजेट तथा कार्यक्रम लगत्तै प्रदेश संसदमा प्रदेश नामाकरणको प्रस्ताव टेवल गर्न प्रदेश सरकार तयार रहेको बताए । 

उनले पहिचान र भूगोल समेतलाई जोडेर पनि प्रदेश एकको नामाकरण गर्न सकिने पनि उल्लेख गरे । किराँत राई यायोक्खामार्फत प्रदेश संसदमा प्रतिनिधित्व गर्ने सबै दलका किराँती नेता कार्यकर्ताहरुले पहिचान सहितको प्रदेशको नामाकरणलाई अस्वीकार गर्ने दल परित्यागको घोषणा गरेरसमेत दलहरुलाई नामाकरणमा दबाब दिन सक्ने उनले सुझाव दिएका थिए  ।

कार्यक्रममा किराँत राई यायोक्खाका महासचिव अर्जुनजम्नेली राईले किराँत जाती नभई सभ्यतासँगसमेत जोडिएकाले यो नाम अस्वीकार गर्नु दलहरुको मूर्खता भएको बताए  । उनले  अबको २० औं बवर्षमा किराँत शब्द अस्वीकार गर्ने दलहरु रहलान् नरहलान् तर किराँत सभ्यता युगौं युगसम्म रहने बताए । 

कार्यक्रममा आदिवासी जनजाती महासंघका पूर्व केन्द्रीय महासचिव नित्यानन्द ताजपुरिया, आदिवासी जनजाती महिला महासंघकी नेतृ सुमित्रा वाङदेल चेली , यायोक्खा प्रदेश एकका अध्यक्ष पारसमणी राई लगायतले पनि सम्बोधन गर्दै पहिचान सहित प्रदेश एकको नामाकरण पहिचान सहित हुनु पर्नेमा जोड दिएका छन् ।

सो अवसरमा झापाका विभिन्न पालिका तथा वडाहरुबाट यायोक्खाको प्रारम्भिक समितिका किराँतीहरुको मौलिक पहिचान झल्किने साकेला नाचको प्रतियोगिता सञ्चालन गरिएको थियो भने झापा बाहिर तथा भारतको बागडोगरा लगायतका ठाउँहरुबाट पनि पहिचान झल्किने किसिमका परम्पारगत बाजागाजा सहित साँस्कृति कार्यक्रमहरु प्रस्तुत गरिएको यायोक्खाका केन्द्रीय सदस्य दिपेनवाला राईले जानकारी दिएका थिए  । 

यायोक्खा झापाका अध्यक्ष इन्द्रमान चाम्लिङको सभापतित्वमा भएको कार्यक्रममा सहभागी नृत्य समुहलाई प्रोत्साहन स्वरुप मायाको चिनो प्रदान गरिएको थियो भने झापाका विभिन्न पालिका तथा वडाहरुमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मानसमेत गरिएको छ ।

झापा, इलाम र भारतबाट समेत सहभागी भएका २३ वटा साकेला सिली टोलीले साकेला नृत्य प्रस्तुत गरेका छन् । २ वर्ष कोरोनाका कारण रोकिएको सिली कार्यक्रमका बक्ताहरुले प्रदेश नम्बर १ को नाम  किराँत राख्न मागसमेत गरेका छन् । 

कार्यक्रममा आदिबासी जनजाति महासंघ लगायत विभिन्न जातजातिका संगठनका जिम्मेवार पदाधिकारीले किराती समूदायको उभौली पर्वको शुभकामना दिए । 

उभौली पर्व खासगरी राई, लिम्बु, सुनुवार, याक्खा, थामी,सुरेल, जिरेल, धिमाल, बराम हायु लगायतका जातिले प्रकृति र मानवबीच सुमधुर सम्बन्ध रहोस् भन्ने कामना गर्दै मनाउने गर्दछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ