- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । स्थानीय तहको निर्वाचनपछि एमाले र माओवादी केन्द्रबीच गठबन्धन गर्ने चर्चा चलिरहँदा पछिल्लो पटक एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटघाट गराउने कोसिस भएको छ ।
शुक्रबार साँझ नै उनीहरुबीच भेटघाट गराउने कोसिस भए पनि एमाले अध्यक्ष ओली साँझको समयमा घरबाट बाहिर निस्कने अवस्था नबनेकाले रोकिएको थियो । ‘दुवै अध्यक्षलाई भेट गराएर सम्बन्ध सुधार गर्ने कोसिसमा छौ’, माओवादीका एक नेताले भने ।
उनका अनुसार दुई वर्षदेखि आलोचना मात्रै गर्दै आएका छन् जसले गर्दा सम्बन्धमा निकै दरार आएकाले भेटघाटको कार्यक्रम बनाउन खोजिएको छ । ‘उहाँहरुबीचको भेटघाट निकै गोप्य र्न खोजेको तर शुक्रबार सबैतिर थाहा हुने अवस्था आएकै कारण रोकिएको हो’, स्रोतले भन्यो ।
शुक्रबारलाई भक्तपुरकै कुनै होटल वा निजी घरमा भेटघाट तय भएको थियो । तर ओलीले त्यसदिन बाहिर नआउने भनेपछि रोकिएको हो । चितवनको कार्यक्रममा रहेका प्रचण्ड ओलीसँग भेटघाट गर्ने भनेपछि शुक्रबार साँझ नै काठमाडौं आएका थिए । तर समय र स्थान व्यवस्थापनको कुरा मिल्न नसकेपछि त्यसदिन भेटघाट हुन सकेन ।
सकेसम्म वाम गठबन्धन गर्ने नसके एमाले र माओवादी गठबन्धन गरेर जाने कोसिस भैरहेका बेला एमाले उपाध्यक्ष विष्णु पौडेल र प्रचण्डबीच भेटघाट भएको दोस्रो दिनमै दुई अध्यक्षबीच भेटघाट तय भएको थियो ।
बिहीबार राति एमाले उपाध्यक्ष पौडेल प्रचण्ड निवास पुगेर भेटघाटको वातावरण तयार पारिएको थियो । माओवादी नेता नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष ओलीसँग भेटघाट गरेपछि एमाले–माओवादीबीचको सम्बन्धमा सुधार आउने अपेक्षा गरिएको थियो ।
‘सबैतिरबाट वाम गठबन्धनको कुरा उठेको छ, पौडेलले प्रचण्डलाई र श्रेष्ठले ओलीलाई भेटपछि केही हदसम्म सम्बन्धमा सुधार आएको महसुस हुँदैछ’, भेटघाट गराउन सक्रिय रहेका एक नेताले भने । स्थानीय तहमा नेपाली कांग्रेस र माओवादी मिलेर एमालेलाई हराउन कोसिस गरेका थिए । तर भनेजस्तो गठबन्धन नहुँदा एमालेले यथेष्ट रुपमा चुनाव जितेको थियो ।
स्थानीय तहको निर्वाचनमा कांगेससँगको गठबन्धनबाट बढी नै फाइदा लिएको माओवादी पछिल्लो पटक एमालेसँग नजिकिन थालेको छ । संघीय संसदको चुनावी तालमेलमा माओवादी निर्णायक शक्तिका रुपमा देखा परेको छ ।
संघीय संसदको निर्वाचनमा कोसँग गठबन्धन गर्ने भन्ने बारेमा स्पष्ट देखिएको छैन । तर एमाले र माओवादीका नेताहरुबीच धेरै पटक वार्ता र संवादहरु भएका छन् ।
माओवादी एमालेसँग नजिक भएको देखाएर कांग्रेससँग धेरै सिट बाँडफाँड गर्ने पक्षमा देखिन्छ । ‘एमालेसँग नजिक भएको देखाउने तर कांग्रेससँग सीट बाँडफाँडमा बार्गेनिङ तह बढाउने पनि हुनसक्छ’, एक एमाले नेताले भने ।
पछिल्लो पटक वामपन्थी नेताहरुले एक आपसमा कम्युनिष्ट शक्ति मिल्नुपर्ने आवश्यकता बारेमा छलफल गरेका छन् । अहिलेको सत्ता गठबन्धन कायमै रहे आगामी मंसिरमा हुने संघ तथा प्रदेश चुनावमा एमाले कमजोर हुन सक्ने आँकलनपछि एमाले नेताहरू माओवादी नेताहरूसँग भित्रभित्रै लविङमा छन् ।
एमाले अध्यक्ष ओलीले पनि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी जसपा का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई समेतलाई विभिन्न सन्देश पठाइरहेको स्रोतको दाबी छ ।
यसअघि माओवादीका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठले ओलीसँग दुई घण्टा भेटघाट गरेर वाम गठबन्धनको प्रस्ताव गरेका थिए । उनीहरुबीच अहिलेको आवश्यकता नै वाम गठबन्धन भएको र वामगठबन्धबाटै देशले निकास पाउने विषयमा छलफल भएको थियो ।
त्यसअघि प्रदीप ज्ञवाली र वर्षमान पुनबीच भेटघाट भएको थियो । श्रेष्ठले ओलीलाई भेटेको बाहेक अरु नेताहरुबीच भएको भेटघाट पनि गोप्य राखिएको छ ।
वामगठबन्धनको विषयमा एमाले र माओवादीका युवा नेताहरुले जोड गरिरहेका छन् । स्थानीय तहको निर्वाचनपछि एमाले र माओवादीका युवा नेताहरुले वाम गठबन्धनलाई जोड दिँदै आएका छन् ।
उनीहरुले सकेसम्म सीट बाँडफाँड गरेर जाने नसके पनि जित्ने स्थानमा एक अर्कालाई सहयोग गरेर जाने नीति अख्तियार गर्न खोजेको स्रोतको दाबी छ ।