arrow

भीभीआईपी हेलिकप्टर उडानमा दुई पाइलट अनिवार्य, पार्किङ काठमाडौंबाहिर 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ६ सोमबार
helicoptors.jpeg

काठमाडौं । राज्यले भीभीआईपीको सूचीमा राखेका व्यक्तिले अबका दिनमा एकल पाइलटद्वारा सञ्चालन हुने हेलिकप्टर चार्टर उडानमा यात्रा गर्न नपाउने भएका छन् ।

नागरिक उड्डयन प्राधिकरणले आज भीभीआईपी हेलिकप्टर उडानमा अनिवार्य दुईजना पाइलट हुनुपर्ने निर्णय गरेको छ । राज्यले भीभीआईपी भनेका व्यक्तिहरुलाई एकल पाइलट भएको उडानबाट ओहोरदोहोर गराउन नपाइने भनेर निर्णय भएको र सोमबार सबै हेलिकप्टर कम्पनीलाई परिपत्र जारी गरिने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई प्रदीप अधिकारीले जानकारी दिए । 

हाल नेपालमा १० वटा निजी हेलिकप्टर कम्पनी रहेका छन् । प्राधिकरणको आज बसेको सञ्चालक समितिको बैठकले अबदेखि अन्य सर्वसाधरणले गर्ने चार्टर उडानमा पनि दुइटा पाइलट अनिवार्य राख्नुपर्ने निर्णयसमेत गरेको छ । मौसमको अवस्था, पाइलटको स्वास्थ्य अवस्था, भौगोलिक अवस्था आदि स्थितिका आधारमा कतिपय उडानमा एउटा पाइलटले सर्वसाधारणका लागि चार्टर उडान भने गर्न पाउनेछन् ।

साथै हेलिकप्टर तथा जहाज पार्किङका लागि ठाउँ अभाव भएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले १४ वटा हेलिकप्टरलाई अबदेखि ‘नाइट-स्टप’ पार्किङका लागि काठमाडौंबाहिर अनिवार्य जानुपर्ने निर्णय गरेको छ ।

प्राधिकरणको आज बसेको बैठकले उक्त निर्णय गरेको हो । ‘नाइट-स्टप’ पार्किङका लागि विमानस्थलमा ठाउँ अभाव भएको भन्दै व्यावसायिक उडान गर्ने नौवटा वायुसेवाका ४८ मध्ये २० वटा जहाज पनि ‘नाइट-स्टप’ पार्किङका लागि बाहिर जानुपर्ने निर्णय गरिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार अनुमति लिएका हेलिकप्टर र वायुसेवाले आफ्ना जहाज मोफसलमा अनिवार्य राख्नुपर्ने निर्णयसमेत गरिएको छ । 

प्राधिकरणले गरेको सो निर्णय यही असार ७ गतेदेखि हेलिकप्टर र १३ गतेदेखि जहाजमा अनिवार्य कडाइका साथ लागू हुने नेपाल प्राधिकरण (क्यान)का महानिर्देशक ई अधिकारीले बताए । उनले भने, “नेपालको उड्डयन सुरक्षा अभिवृद्धि गर्ने नीतिअनुसार प्राधिकरणले ‘नाइट-स्टप’ पार्किङका लागि काठमाडौंबाहिर अनिवार्य जानुपर्ने निर्णय गरिएको छ । कडाइका साथ निर्णय लागू गरिनेछ ।”

प्राधिकरण मातहतको फ्लाइटअनुसार नेपालमा ३६ वटा हेलिकप्टर रहेको बताइएको छ । अबका दिनमा हेलिकप्टर र वायुसेवाले काठमाडौं विमानस्थलमा तोकिएको सङ्ख्याभन्दा बढी जहाज पार्किङ गर्न पाउने छैनन् । 

सङ्घीयताको मर्मअनुसार प्रदेशको अर्थतन्त्र चलायमान बनाउन र प्रदेशका सर्वसाधारणले आफ्नो समयअनुसार केन्द्रीय राजधानीमा आउन यो समानताको निर्णयले अझ सहज हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले अपेक्षा लिएको छ ।रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ