arrow

घरघरमा पेट्रोल पम्प, विपदलाई निम्तो

logo
नारायण वली,
प्रकाशित २०७९ असार ७ मंगलबार
petrol-pump-home-butwal.jpg

रुपन्देही । रुपन्देहीको बुटवल उच्च जनघनत्व र नेपालकै सबैभन्दा धेरै यातायातका साधन भएको ठाउँ हो । जसले गर्दा सवारीसाधनलाई चाहिने इन्धन आपूर्तिका लागि खोलिएका बाक्लै पेट्रोल पम्पहरुले पेट्रोल पम्प सञ्चालन सम्बन्धी नियमावली कार्यान्वयन गरेर जोखिमपूर्ण तरिकाले चलाउँदै आएको पाइएको छ ।

२०५३ सालअघि सञ्चालनमा आएका पेट्रोल पम्पहरुले नयाँ मापदण्ड पालना गरेर पेट्रोल पम्प संचालन गर्न सकेका छैनन् । जसका कारण बाक्लो बस्तीका देशैभरका अधिकांश पेट्रोल पम्प घर नजिकैमात्र छैनन् घरभित्रबाटै सडकमा गाडीहरु लाइन लगाएर तेल भर्दै आइरहेका छन् । 

जसका कारण कुनै दुर्घटना भयो भने त्यसले भयावह स्थिति ल्याउने छ । धेरैको ज्यानसमेत जानसक्ने देखिएको छ । घना बस्तीमा सञ्चालित पेट्रोल पम्पमा कुनै दुर्घटना भए त्यो नियन्त्रण बाहिर पनि जान सक्ने भएकाले त्यसतर्फ राज्यले बेलैमा ध्यान दिई दूरदर्शी योजना बनाउनुपर्ने यहाँका सरोकारवालाहरुले सुझाएका छन्।

पम्प मात्रै  नभई, नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालय भलवारी डिपो पनि सिद्धार्थ राजमार्ग र बजार बस्ती नजिक छ । गत जेठ १३ गते ट्याङ्करबाट डिपोमा खन्याउनलाई तयारी गरिएको ट्याङ्करमा आगलागी भयो । जसले गर्दा २ वटा ट्याङ्करमा पूर्ण क्षति भयो । तत्कालै सावधानी अपनाइएकाले भलवारी डिपो ठूलो दुर्घटनाबाट बच्न पुग्यो ।

बजार क्षेत्रसँग जोडिएको भलवारी डिपोमा कुनै पनि कारणले आगलागी भए बस्ती नै सखाप हुने अवस्था सिर्जना भएको छ। त्यसैले दीर्घकालीन समाधानका लागि निगमले भैरहवाको रोहिणी खोला छेउमा खरिद गरिएको करिब १४ बिघा जग्गामा डिपोलाई स्थानान्तरण गरिने उल्लेख छ ।

हाल डिपोको क्षमता पेट्रोल ५ लाख १९ हजार लिटर रहेको छ। यसअघि जम्मा १ लाख ४० हजार मात्र रहेकोमा पछिल्लो ५ महिनापछि क्षमतामा अपग्रेड गरिएको थियो ।

डिजेल ३० लाख ४० हजार र मट्टितेल १ लाख ४० हजार क्षमता रहेको छ । अहिले दैनिक डिपोबाट पेट्रोल ३ लाख लिटर, डिजेल १२ लाख लिटर र मट्टितेल ६ हजार लिटर बिक्री हुने गरेको भलवारी डिपोले जनाएको छ।

भलवारी डिपो अन्तर्गत भैरहवास्थित अञ्चलपुरमा ११ कठ्ठा क्षेत्रफलमा पेट्रोल पम्प, ५ कठ्ठा क्षेत्रफलमा हवाई इन्धन एयरपोर्टमा रहेको छ। डिपोका अनुसार प्रादेशिक कार्यालयतर्फ कार्यालय प्रमुख सहित १० जना अधिकृत, १३ जना सहायक कर्मचारी र १५ जना करार कर्मचारी रहेका छन् । 

हवाई इन्धन डिपोतर्फ कार्यालय प्रमुख सहित २ जना अधिकृत, २ जना सहायक तथा १२ जना करार दरबन्दी रहेको छ भने अञ्चलपुरको पेट्रोल पम्पमा १ अधिकृत ६ सहायक सहित १९ जना करार दरबन्दी रहेको छ।

४ बिघा ४ कठ्ठा जग्गामा निर्माण भएको भलवारी डिपो २०३९ सालमा स्थापना भएको हो । अहिले डिपो नजिक बढ्दो शहरीकरणले गर्दा ठूलो जोखिम निम्त्याउने खतरा बढ्दै गएको छ।

प्रादेशिक डिपो भलवारीमा पेट्रोलियम पदार्थको आयात इण्डियन आयलको बेतालपुर डिपो तथा मुगलसरायबाट पेट्रोल आउने गर्दछ। त्यस्तै डिजल इण्डियन आयलको बेतापुर डिपो तथा निगमको अमलेखगञ्ज डिपोबाट, मटिट्तेल इण्डियन आयलको गोण्डा डिपोबाट, एटिएफ इण्डियन आयलको इलासाबाद डिपोबाट र एलपिजी इण्डियन आयलको बरौनी, मधुरा, कर्नाल तथा पारादिप रिफाइनरीबाट आयात हुने भलबारी डिपो कार्यालयले जानकारी दिएको छ।

त्यसरी नै बुटवल उपमहानगरपालिका भित्र रहेका अधिकांश पेट्रोल पम्पहरु बजार क्षेत्रका घरसँगै जोडिँदै आएका छन् । मापदण्ड विपरीत सञ्चालित पेट्रोल पम्पहरुले उच्च जोखिमको संकेत दिँदै आएका छन् । न पेट्रोल पम्पका मालिकहरु सचेत छन्, न त वरिपरिका वस्तीका स्थानीय नै । सरकारी निकाय त ठूलै विपद् नआउन्जेल यतातर्फ ध्यानदिनेतर्फ लागेकै देखिँदैन । 

तर बिडम्वना, नियमावली अनुसार खुल्दैनन् भन्ने कुराको जानकारी हुँदा पनि नियमन निकायले थप नयाँ पेट्रोल पम्प स्थापनाका लागि अनुमति दिँदै आएको छ । रुपन्देहीमा हाल १ सय ८१ वटा पेट्रोल पम्पहरु सञ्चालनमा छन् । १ सय ४५ साधारण, १ नमूना र ३५ अन्य गरी १ सय ८१ पेट्रोल पम्पहरु सञ्चालनमा छन् ।

भलवारी डिपोले रुपदेहीका १ सय ८१ सहित पाल्पाका १०, नवलपरासीका ४९, अर्घाखाँचीका ८, कपिलवस्तुका ७४, गुल्मीका ५, स्याङ्जाका १२ र बाग्लुङका २ वटा गरी कुल ३ सय ४१ पम्पहरुलाई पेट्रोलियम पदार्थ सप्लाई गर्दै आएको जनाइएको छ। 

यीमध्ये अधिकांशले मापदण्ड पूरा नगरी सञ्चालन गर्दै आएको डिपो प्रमुख नवविनोद पोख्रेलले बताए । रुपन्देहीमा एउटा मात्रै नमूना पम्प रहेको बताइएको छ । त्यो हो मोतिपुरको साहारा पेट्रोल पम्प ।

नयाँ मापदण्ड पूरा नगरी पेट्रोल पम्प सञ्चालन भइरहेको नेपाल आयल निगम भलवारी डिपोले बताएको छ । 

नेपाल आयल निगमको पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५ अनुसार महेन्द्र राजमार्ग क्षेत्रमा भएका साधारण पम्पमा जग्गाको क्षेत्रफलको १० कठ्ठा हुनुपर्छ । त्यस्तै शौचालय अपाङ्गतामैत्री, पुरुष महिलाका लागि छुट्टै, मूख्य राजमार्गबाट नदेखिने गरी २ मिटरको अग्लो स्क्रिन वाल निर्माण गर्नुपर्ने, चिया–कफी सप, एटीएम सुविधा, हावा भर्ने सुविधा र पार्किङ सुविधा लगायतका हुनुपर्ने मापदण्ड उल्लेख छ ।

तर यी सुविधा त परै जावस् बस्तीभन्दा टाढा पेट्रोल पम्पमात्र राखिदिने हो भने पनि ठूलो विपद्बाट जोगिन सकिने थियो । बुटवलमै पनि थुप्रै पम्प खतराको सूचीमा छन् । यसरी सञ्चालनमा आउने बुटवलको राजमार्ग चौराहा नजिकै रहेको भैरब आयल स्टोर, पाल्पा बसपार्कमा रहेको ज्योति पेट्रोल पम्प, रामनगरमा रहेको मिलन ब्रदर्स, भैरब पेट्रोल पम्प, गोलपार्कमा रहेको व्यापारिक कर्पोरेशन र मिलनचोकमा रहेको भारी आयल स्टोर बस्ती नजिकै सञ्चालनमा आएका पम्पहरु हुन् । 

भारी आयल स्टोरका सञ्चालक पशुपति भारीले आफूले २०३७ सालमा पेट्रोल पम्प खोल्दा कुनै घरहरु नभएको र पछिल्लो समय शहरीकरणको वृद्धिसँगै अहिले सडकको स्तर बढेकाले घरभित्रबाट पम्प राखेर चलाउनु परेको बताए । उनले २०७५ को नयाँ नियम अनुसार जान नसकिएको र आगामी दिनमा निगमले हटाएमा नीति नियम अवलम्बन गर्दै स्थानान्तरण गर्ने बताए ।

पेट्रोलियम डिलर एसोसिएसन बुटवलका अध्यक्ष प्रेम न्यौपाने २०५३ सालअघि स्थापना भएका पम्पहरु अहिलेको मापदण्डमा आउन नसकेको स्वीकार गरे । ‘उनले भने, ‘पहिले स्थापना हुँदा पम्प मात्रै थिए। अहिले आसपासमा घरहरु बनेका हुन् ।’

यस्तो समस्या रुपन्देहीमा मात्रै नभएर देशका अधिकांश ठाउँमा पनि भएकाले संघीय स्तरबाट ऐन र नियमन निकायले कडाई गर्नुपर्ने सरोकारवालाहरुको सुझाव रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ