arrow

पंकज नम्वाङ बने एन्फाका नयाँ अध्यक्ष

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ६ सोमबार
pankaj-nemwang-2019.jpg

काठमाडौं । पंकजविक्रम नेम्वाङ अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ अध्यक्ष बनेका छन् । सोमबार भएको निर्वाचनबाट पंकजले दोस्रो पटक अध्यक्ष हुने अभियानमा रहेका कर्माछिरिङ शेर्पालाई पराजित गर्दै पंकज नयाँ अध्यक्ष बनेका हुन् । 

८४ भोटमध्ये नेम्वाङले ४५ मत पाउँदा कर्माले मात्र ३९ मत ल्याए । 

चार वर्ष अघि अध्यक्षका रूपमा शेर्पा पहिलो पटक एन्फामा चुनिँदा उनकै प्यानलबाट नेम्वाङ सर्वाधिक मतसहित उपाध्यक्ष निर्वाचित भएका थिए । पछि कार्यसमितिले चार उपाध्यक्ष मध्येबाट नेम्वाङलाई वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिएको थियो ।

लामो समयसम्म चेन्ज एन्फाको नारासहित एन्फाको तत्कालीन संस्थापनविरुद्ध आन्दोलित हुँदा शेर्पा र नेम्वाङ सँगै थिए । लामो समय सहकार्य गरे पनि नेतृत्वमा पुगेपछि यी दुईबीचको सम्बन्ध चिसिन थाल्यो । एन्फा नेतृत्वमा पुगेको झण्डै डेढ वर्षपछि शुरु भएको दुईबीचको खटपटले पछिल्लो समय पूरा प्यानल नै बनाएर एक–अर्काविरुद्ध उत्रिने अवस्था सिर्जना गरेको थियो ।

नेम्वाङलगायत हिजो सँगै सहकार्य गरेका पदाधिकारीहरूले शेर्पामाथि आर्थिक अनियमितता गरेको, निरंकुशता लादेको, व्यक्तिवादी चरित्र प्रस्तुत गरेको, फुटबल विकासभन्दा पनि व्यक्तिगत स्वार्थमा केन्द्रित भएकोलगायतका आरोप लगाएर अलग्गै प्यानल बनाएर चुनावमा होमिएका थिए ।

शेर्पाले भने नेम्वाङसहित आफ्नो समूहबाट अलग भएका केन्द्रीय सदस्यहरूको असहयोग तथा कोभिड १९ महामारीका कारण पूर्वनिर्धारित योजना अनुरूपको काम गर्न नसकेको बताएका थिए । शेर्पाले पछिल्लो कार्यकालमा अधुरा रहेका कामको पूर्णताका लागि दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएको उनको भनाई थियो ।

२०७२ सालमा तत्कालीन अध्यक्ष गणेश थापा फिफाबाट १० वर्षको प्रतिबन्धमा परेपछि भएको निर्वाचनमा शेर्पा नरेन्द्र श्रेष्ठसँग पराजित भएका थिए । त्यतिबेला पनि कार्यसमितिमा सदस्य रहेका नेम्वाङ शेर्पाकै पक्षमा खुलेर लागेका थिए ।

नेपाली फुटबलको उर्वर भूमिका रूपमा परिचित झापाको धुलाबारीका स्थायी बासिन्दा नेम्वाङ सानैदेखि स्थानीयस्तरमा फुटबल खेल्थे । तर खेलाडीका रूपमा अघि बढ्न नसक्ने देखेपछि बिस्तारै रोलिङ क्लब हुँदै झापा जिल्ला फुटबल संघमा छिरेका उनी २०५९ सालमा एन्फाको केन्द्रीय सदस्य भएका थिए । त्यसयता लगातार चार कार्यकाल सदस्य भएर काम गरेका नेम्वाङ चार वर्षअघि उपाध्यक्षमा निर्वाचित भएका थिए । उपाध्यक्षमा निर्वाचित भएको झण्डै एक वर्षपछि उनी वरिष्ठ उपाध्यक्षमा चयन गरिएका थिए ।

वरिष्ठ उपाध्यक्ष

वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का निर्वाचित भएका छन् ।

अध्यक्ष निर्वाचित पंकज प्यानलमा रहेका खड्काले कर्माछिरिङ शेर्पा प्यानलका शिक्षित पराजुलीलाई हराए ।

खड्काले ४४ मत प्राप्त गर्दा पराजुलीले ४० मत प्राप्त गरे ।

उपाध्यक्ष

त्यस्तै उपाध्यक्षमा दावा लामा, विराटजंग शाही, दिपक खतिवडा र दुर्गाबहादुर केसी निर्वाचित भएका छन् ।

लामाले ४८, शाहीले ४७, खतिवडाले ४७ र केसीले ४३ मत पाए ।

केसी भने अध्यक्षमा पराजित कर्माको प्यानलबाट निर्वाचित भएका हुन् ।  

अन्य उपाध्यक्ष पंकजको प्यानलबाट निर्वाचित भएका हुन्  ।

 सुन्दर नरसिंह जोशी, उपेन्द्रमान सिंह, विज्ञानराज शर्मा र रत्न कुमार श्रेष्ठ पराजित भए ।

सुन्दर पंकज प्यानलका हुन्  ।

 



नयाँ