arrow

एन्फा महासचिवमा किरण राई, दुई केन्द्रीय सदस्यको टुंगो निर्वाचनबाटै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ९ बिहिबार
anfa-elected-team-2079.jpg

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को महासचिवमा किरण राई मनोनित भएका छन् । पंकजविक्रम नेम्वाङ नेतृत्वको नवनिर्वाचित एन्फा कार्यसमितिको पहिलो बैठकले बुधबार राईलाई महासचिवमा मनोनित गरेको हो । अघिल्लो कर्माछिरिङ शेर्पा नेतृत्वको कार्यसमितिमा राई एन्फा प्रवक्ता थिए । 

त्यसैगरी एन्फा कार्यसमितिको पहिलो बैठकले कोषाध्यक्षमा रवीन्द्र जोशी र विदेश विभाग प्रमुखमा नविन पाण्डेलाई मनोनित गरेको छ । जोशी यसअघिको कार्यसमितिमा पनि कोषाध्यक्ष नै रहेका थिए । 

अघिल्लो कार्यसमितिका विदेश विभाग प्रमुखकै भूमिकामा रहेका पाण्डेले अध्यक्ष शेर्पासँग तालमेल मिल्न नसकेपछि बीचमै पद छाडेका थिए । 

गत सोमबार भएको एन्फाको निर्वाचनमा नेम्वाङ नेतृत्वको टिम बहुमतसहित विजयी भएको थियो । एन्फा निर्वाचन समितिले बुधबारमात्रै निर्वाचित पदाधिकारीको पद तथा गोपनियताको सपथ गराएको थियो । सपथ लगत्तै बसेको पहिलो बैठकले महत्वपूर्ण मनोनयन गरेको हो । 

पहिलो बैठकले प्रवक्ता भने चयन गरेन । सम्भवतः अर्को बैठकले प्रवक्ता तोक्ने महासचिव राईले जानकारी दिए । 

बुधबारको पहिलो बैठकले तीन जना पदाधिकारीको मनोनयनसँगै प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग असन्तुष्टि जनाउँदै प्रशिक्षण क्याम्प छाडेका राष्ट्रिय टोलीका १० जना खेलाडीलाई टोलीमा फर्काउने, प्रशिक्षक अल्मुताइरीको विषयमा छानबिन समितिको सुझावसँगै प्रशिक्षक र कतार फुटबल संघसँग छलफल गरेर टुंगो लगाउने, एन्फाका रिक्त रहेका कर्मचारीको पदपूर्ति गर्ने, ३० दिनभित्र भावी कामको स्वेत पत्र जारी गर्ने, दक्षिण एसियाली फुटबल महासंघको आसन्न निर्वाचनमा सुन्दर नरसिंह जोशीलाई उपाध्यक्षमा उठाउनेलगायत निर्णय पनि गरेको छ । 

गत सोमबार भएको निर्वाचनमा कर्माछिरिङ शेर्पालाई ६ मतले हराउँदै नेम्वाङ अध्यक्ष बनेका हुन् । नेम्वाङ निवर्तमान वरिष्ठ उपाध्यक्ष हुन् भने शेर्पा अध्यक्ष हुन् । सपथपछि पदभार सम्हाल्दै अध्यक्ष नेम्वाङले निर्वाचनमा हार जित स्वभाविक भएको भन्दै ‘जिम्मेवारी कर्माजीबाट हामीमा ट्रान्सफर भएको छ । हामी निर्वाचित भएर आएका छौं । गहन जिम्मेवारी पनि पाएका छौं । त्यसलाई जिम्मेवारीपूर्वक नेपाली फुटबलको विकासमा लागु गर्नेछौं,’ भने । 

एन्फाले अझै पूर्णता पाएको छैन । दुई केन्द्रीय सदस्यको छिनोफानो भएको छैन । दुई जना चुनिनुपर्नेमा सोमबारको निर्वाचनमा चार जनाको समान ३९ मत आएको छ । 

यी चारैजनाको पुनः निर्वाचन गरिने पनि निर्णय भएको छ । निर्वाचित उपाध्यक्ष दावा लामाले अबको तीन महिनामा बस्ने विशेष साधारणसभामा निर्वाचन गरिने भएको बताए । 

अहिले चारमध्ये तीन जना कर्मा पक्षका हुन् भने एक जना पंकज पक्षका हुन् । अबको तीन महिनापछि निर्वाचन गर्दा माहोल बदलिने भएकाले दुई जना नै पंकज पक्षमा आउन सक्ने लगभग निश्चित छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ