arrow

प्रधानमन्त्री देउवासँग आजै गर्नुपर्ने दुई विकल्पः अर्थमन्त्रीको राजीनामा माग्ने वा बर्खास्त गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २१ मंगलबार
janardan-sharma-parliament-2079-03-02-final.jpg

काठमाडौं । अब प्रधानमन्त्री शेरबहादुर देउवासँग अर्थमन्त्री जनार्दन शर्माका बारेमा निर्णय गर्ने दुईमात्र विकल्प बाँकी भएका छन् । अर्थमन्त्रीका रुपमा अहिलेसम्मकै सबैभन्दा बढी कलंक बोकेका अर्थमन्त्री शर्माको तत्काल राजीनामा माग्ने वा अर्थमन्त्रीबाट हटाउने यी दुईमात्र विकल्प प्रधानमन्त्री सामु रहेका छन् । 

यसमा कुनै विवाद रहेन अर्थमन्त्री शर्मासँग देशको अर्थतन्त्र सम्हाल्ने कुनै हैसियत छैन । उनी कारबाहीका लायक छन् । करका दर हेरफेर गर्न अनधिकृत र बिलौलियामात्र उनले मन्त्रालयभित्र लगेनन् अर्थमन्त्रालयको गत जेठ १४ गते रातिको सीसीटीभी फुटेजसमेत हटाउन गर्न लगाए । 

एउटा कुरा स्पष्ट छ यदि त्यो सीसीटीभी फुटेज प्राप्त हुन सकेन भने अर्थमन्त्री त दोषी छँदैछन् मन्त्रालयका सम्बन्धित अधिकारी सबैलाई कारबाही गरेर तत्काल हटाउनुको विकल्प छैन । उनीहरुमाथि छानबिन जरुरी छ । 

यसअघिका मन्त्रीहरुले बहुदल आएपछिमात्र होइन कि पञ्चायती व्यवस्थामा पनि नैतिकताका आधारमा राजीनामा दिने चलन थियो । मन्त्री शर्मा त सशस्त्र युद्ध लडेर नागरिक र सेना मारेर यहाँसम्म आइपुगेका हुन् । उनी गणतन्त्र आएपछिका मन्त्री हुन् । तर उनमा नैतिकता भन्ने एक रत्ति पनि देखिएन । 

यतिसम्म कि प्रमुख प्रतिपक्षले संसदमा आवाज उठाउँदा उल्टै चर्को स्वरमा बोलेर शर्माले आफूलाई सशस्त्र द्धन्द्धको धङधङी देखाइरहेका थिए । उनले एकपछि अर्को गल्ती गर्दै गएका छन् । अब देउवासँग अरु कुनै विकल्प छैन । यी दुई विकल्पमा यदि शर्माले राजीनामा दिन्नन् भने तत्काल हटाउनु नै देशका लागि लाभकर छ । 

अनि त्यसपछि मात्र उनीसहित सिंगो अर्थमन्त्रालयको टिमलाई नै अनुसन्धानको घेरामा राखिनु पर्छ । संसदीय छानबिन समिति बनाएर दोषीलाई कारबाही गरिनु पर्छ । 

यो संसदीय समिति त्यस्तो नबनोस् जसले कारबाहीका लागि सिफारिस गर्दा पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विमान खरिदको घोटालाजस्तै आफैं छानबिन गर्ने समिति बनाएर नाटक गरेजस्तो । अनि सांसद राजेन्द्र केसीहरुको छानबिनकाे निष्कर्ष ओलीले डस्टबिनमा हालेजस्तो । अन्यथा यसले ठूलो दुर्घटना निम्त्याउने देखिन्छ । 

यहाँ पाँच दलीय गठबन्धनको सरकारको हैन देशको सवाल खडा भएको छ । सिङ्गो अर्थतन्त्र जोगाउने सवाल खडा भएको छ । अब शर्मालाई सकिन्छ इमानदारीका साथ तत्काल राजीनामा माग्ने वा सकिँदैन भने तत्काल पदबाट बर्खास्त गर्ने । 

करका दरमा गरेको घोटाला लुकाउन त्यससँग सम्बन्धित एकमात्र प्रमाणका रुपमा रहेको सीसीटीभी फुटेज नै नष्ट भइसकेको भनेसँगै अब उनीमाथि छानबिन गर्नुको अर्को विकल्प छैन । 

यदि प्रधानमन्त्री देउवाले आफ्नो गरिमा जोगाउन नसक्ने हो भने भोलिका दिन उनको पार्टी नेपाली कांग्रेसबारेसमेत प्रश्नचिन्ह खडा हुने स्वयं कांग्रेसका नेताहरुले भनिरहेका छन् । 

सोमबार मात्रै पनि प्रतिपक्ष एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि कांग्रेसका महामन्त्री गगनकुमार थापासम्मले प्रधानमन्त्री देउवाले बर्खास्तीको कदम चाल्न जोड दिइसकेको अवस्थामा अब देउवासँग अर्को विकल्प देखिँदैन । 

अर्थमन्त्री शर्माले राजीनामा नदिने भनेर धेरैपटक भनिसकेका छन् भने देउवासँग एउटै विकल्प छ बर्खास्ती । यो कदम जति छिटो चाल्न सक्यो त्यति नै देशको अर्थतन्त्रमा कम क्षति हुने विश्लेषण भइरहेको छ । 

कांग्रेसकै नेताहरुले भनिरहेका छन्, ‘जनार्दनले माओवादीका लागि चुनावी खर्च उठाइरहेका छन् त्यसमा कांग्रेसले सती किन जानु पर्ने ?’

एमालेले छानबिन समिति बनाएर कारबाही गर्न भनिसकेको छ । यहाँ व्यक्ति हैन प्रवृत्तिको विरोध हो । ओलीले सोमबार संसदमा भनेका थिए, ‘प्रधानमन्त्री लाचार हुनुभएको हो ? केही गर्न नसक्ने अवस्थामा पुग्नुभएको हो ? कि गठबन्धन जोगाएपछि पुग्छ ? देश बर्बाद होस्, जहाँसुकै पुगोस् ?’

अब देउवाले तत्काल निर्णय नगरे सिंगो सरकार नै अप्ठेरोमा पर्ने निश्चित जस्तै छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ