arrow

महिला टिमकी कप्तान रेनुकाले साफ च्याम्पियनशिप गुमाउने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २१ मंगलबार
renuka-nagarkoti-football-ghaite.jpg

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान रेनुका नगरकोटीले घरेलु मैदानमा हुने महिला साफ च्याम्पियनशिप गुमाउने भएकी छिन् ।  अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार रेनुका १० हप्ता चोटबाट बाहिर रहने जानकारी गराएको हो ।  

सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षण दौरान रेनुकालाई चोट लागेको थियो । १९औं एसियन गेम्सको लागि प्रशिक्षणमा रहेकी रेनुकाको घाँटीमुनिको बायाँ हड्डी भाँचिएपछि ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा शल्यक्रिया गरिएको थियो । 

रेनुका १० हप्ता मैदान बाहिर रहेसँगै लगातार दोस्रो पटक घरेलु मैदानमा हुने साफ च्याम्पियनशिप गुमाउने सम्भावना रहेको मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बताए । 

‘६–७ हप्ता मैदान बाहिर भनेको भए पनि उसले खेल्न गाह्रो नै हुन्थ्यो । शारीरिक व्यायामदेखि लिएर खेल्न डर, त्रासदेखि सबै कुरा हुन्छ,’ महर्जनले भने । 

रेनुकाले चोट बोकेसँगै अनुभवी खेलाडी गुमाउँदा टिमलाई समस्या हुने र प्रतियोगिताका लागि अझै समय बाँकी रहेका कारण अन्य खेलाडीलाई तयारी गर्ने महर्जनले बताए । 

‘रेनुकाको स्थानमा भएका खेलाडीलाई प्रयोग गर्नेछौं । राम्रो खेलाडीलाई गुमाएका छौ । उसको ठाउँमा अरु खेलाडीहरु छन् । तर, रेनुका जत्तिको राम्रो छैन । अझै समय छ । राम्रो खेलाडी ल्याउने कोसिस गर्छौ । तयारी नै मुख्य कुरा हो ।’ पहिलो पटक महिला टोलीको प्रशिक्षण सम्हालेका महर्जनले भने । 

अघिल्लो साता दक्षिण एसियाली फुटबल महासंघ (साफ) को बसेको बैठकले साफ च्याम्पियनशिप भदौ १३ देखि २५ गतेसम्म नेपालमा सञ्चालन हुने निर्णय गरेको थियो । 

यस अघि २०७५ सालमा नेपालमै साफ च्याम्पियनशिप आयोजना भएको थियो । विराटनगरस्थित शहीद रंगशालामा भएको फाइनल खेलमा नेपाल भारतसँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो । 



नयाँ