arrow

पेट्रोलियम पदार्थको मूल्य वृद्धिले ट्रक व्यवसायीको पेशा संकटमा

logo
नारायण वली,
प्रकाशित २०७९ असार २२ बुधबार
33.jpg

रुपन्देही । बदलिँदो राजनितिक व्यवस्था र पछिल्लो समय बढ्दो पेट्रोलियम पदार्थको मूल्य वृद्धिले ट्रक व्यवसायको पेशा गम्भीर स्थितिमा पुगेको व्यवसायीहरुले गुनासो गरेका छन् । 

पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलले बुधबार आयोजना गरेको नेपाल ट्रक यातायात व्यवसायी महासंघको महाधिवेशनवाट निर्वाचित पदाधिकारी तथा स्थानीय निकाय निर्वाचन–२०७९ बाट निर्वाचित जनप्रतिनिधि एवम् विभिन्न संघ संस्थाबाट निर्वाचित व्यक्तिहरुलाई सम्मान गर्न आयोजना गरिएको कार्यक्रममा बाेल्ने बक्ताहरुले यस्तो बताएका हुन् ।

व्यवसायीहरुले राज्यले भाडादर प्रणाली कायमलाई कायम नगर्नाले घाटादर दैनिक रुपमा ओरालो लाग्दै गएकाले कहिलेकाहिँ ट्रक बेचौं कि भन्ने सोँचमासमेत पुग्ने गरेको गुनासो सुनाए । कार्यक्रममा महासंघका पूर्वअध्यक्ष अर्जुन रानाभाटले सरकारले यातायात व्यवसायीको पक्षमा काम गर्नेहरुलाई प्रोत्साहन गर्न नसकेको गुनासो गरे । 

महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले यातायात क्षेत्रको खस्कदो अवस्थालाई सुधार गर्न चुनौतीसँगै अवसर पनि रहेको भन्दै सरकारले तय गरेको भाडादर कायम गर्न जोड दिए । यातायात क्षेत्रमा हिजोका दिनमा सह–चालक हुँदै चालक भएका हाल पाल्पाको तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बढ्दो महंगी र घट्दो भाडादरले नाफा भन्दा पनि गाडीको खर्चसमेत धान्न गाह्रो भएकाले पछिल्लो समय ट्रक व्यवसायीहरु निकै धरासायी बन्दै गएकोमा दुःख व्यक्त गरे ।  

जिल्ला खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष भुपेन्द्रबहादुर थापा क्षेत्री हरीले नेपाल ट्रक यातायात व्यवसायी समितिको स्थापनाकालमा निकै कठोर संघर्ष गरेको बताउँदै, संस्थाको उन्नति र प्रगतिका लागि कठोर दिनको स्मरण गरेका गरेका थिए । साथै उनले आफू सानै उमेरदेखि खेलकुदमा लागेकाले खेलकुदका लागि धेरै योगदान गरेकाले त्यसैलाई मुल्यांकन गरेर सरकारले आफूलाई जिम्मेवारी दिएको र जुन जिम्मेवारीलाई गम्भीर रुपमा खेलकुदलाई अगाडि बढाउन लाग्ने बताए ।

पश्चिमाञ्चल यातायात व्यवसायी समितका अध्यक्ष यमप्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका उपाध्यक्ष विष्णुप्रसाद न्यौपाने, सचिव उमेशचन्द्र मजगैंया, संघका पूर्व अध्यक्ष गुप्तबहादुर केसी, अखिल नेपाल फुटबल संघका उपाध्यक्ष दीर्घबहादुर केसी कुमार र संघका वरिष्ठ उपाध्यक्ष प्रतापबहादुर कार्की, महासचिव हरिप्रसाद कंडेल लगायतले थला पर्दै गएको व्यवसायलाई चलायमान बनाउन व्यवसायीहरु बीचमा एकता जरुरी रहेको बताएका छन् ।



नयाँ