arrow

बुटवल–नारायणगढ सडकखण्डः सम्झौता सकियो, निर्माण सकिएन

logo
नारायण वली,
प्रकाशित २०७९ असार ३२ शनिबार
butwal narayanghath road.jpg

रुपन्देही । बुटवल–नारायणगढ सडक चार लेन बनेपछि सरर गाडीमा यात्रा गरेर सवार गर्न पाइन्छ भनेर धेरैले आशा लिएका थिए । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बुटवलदेखि नारायणगढको बाटोमा यात्रा गर्दा सबैभन्दा झन्झट व्यहोर्नुपर्ने ठाउँ हो दाउन्ने । साँघुरो सडक, त्यसैमा खाल्डाखुल्डी अझ ओभरलोड ट्रक बिग्रिने समस्याले गाडीवाला र यात्रुहरुले हैरानी खेप्थे । घण्टौं जाममा परेर । 

सोही समस्यालाई हल गर्न र बढ्दो सवारी साधनको चाप, कमजोर सडकको स्थितीलाई मध्यनजर गर्दै, बनाउन थालिएको ४ लेन सडकलाई निर्माण गर्नका लागि चाइना स्टेट इन्जिनियर कर्पोरेशनले ठेक्का हात पा-यो । २०७९ साल साउन २२ गतेभित्र निर्माणकार्य पूरा गर्ने गरी सम्झौता गरिए पनि सडक विस्तारको काम थालेको चाइना स्टेट कम्पनीले निर्माण सम्पन्न गर्न नसकेर एक वर्ष म्याद थप गरेको बताइएको छ ।

पहिलो चरणमा साढे तीन वर्ष निर्माण कार्य सम्पन्न गर्ने समयावधि पाएको चाइना स्टेट इन्जिनियर कर्पोरेशनले ४१ महिनामा भौतिक प्रगति १९ प्रतिशत गरेको छ भने वित्तीय प्रगति १० प्रतिशत गरेको उल्लेख छ । सम्झौताअनुसार निर्माण कार्यको ठेक्का सकिने अवधि अब करिब २३ दिन बाँकी छ ।

१ सय १४ किलोमिटर बुटवल–नारायणगढ सडकलाई निर्माण गर्न मञ्जुर भएको चाइना स्टेट अन्ततः असफल भएको छ । उक्त सडकमा दैनिक साना–ठूला गरी झण्डै १० हजारभन्दा बढी सवारीसाधन आवागमन गर्ने गर्दछन् । चारलेन सडक निर्माण कार्य सम्पन्न नहुँदा स्थानीय र यात्रुहरुले सास्ती खेप्न परेको जनगुनासो हुन थालेको छ । 

जबकि बुटवल–नारायणगढ सडकको यात्रा जम्मा साढे २ घण्टा लाग्ने गरेकोमा अहिले करिब ५–७ घण्टा लाग्ने गरेको छ । यता, सडक आयोजनले पहिलो चरणमा कोरोना महामारी, दोस्रोमा ‘साइट क्लियर’ रुख कटानमा ढिलाई लगायतले गर्दा तोकिएको समयमा निर्माण गर्न नसकिएको बचाउ गर्दै जवाफ दिएको छ । समयमा जंगल क्षेत्रमा चारलेन र बस्तीमा ६ लेन सडक बिस्तार गर्ने गरी २०७५ साल चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलमा शिलान्यास गरेका थिए ।

सडक विस्तारका लागि १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । सो सडकलाई बुटवल–दाउन्ने र दाउन्ने–गैंडाकोट गरी दुई खण्डमा विभाजन गरिएको छ ।

बुटवल–दाउन्ने पश्चिम खण्ड अन्तर्गत पर्ने ४८ किलोमिटरको २० प्रतिशत, दाउन्ने–गैंडाकोट खण्ड ६५ किलोमिटर सडकको १८ प्रतिशत भौतिक प्रगति भएको आयोजनाका परामर्शदाता सुशन श्रेष्ठले वताए ।

साथै उनले पश्चिम खण्डमा हालसम्म झण्डै ८५ वटा कल्भर्ट निर्माण गरिएको ५० वटा कल्भर्टको अधिकांश काम सकिएको र सडकमा २ सय ४० वटा कल्भर्ट निर्माण गर्नुपर्ने इस्टिमेट रहेको छ । 

सडकको कूल लागतमध्ये एसियाली विकास बैंकले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराएको छ भने बाँकी रकम नेपाल सरकारकै लगानी रहेको छ । परामर्शदाता श्रेष्ठका अनुसार दाउन्ने पश्चिमतर्फ ९ वटा ठूला मोटरेबल पुल बनाउनु पर्नेमा ३ वटा निर्माण भइसकेको र थप ३ वटा पुल सम्पन्न हुने चरणमा रहेको बताइएको छ । हालसम्म माटो भर्ने काम १३ हजार मिटर क्षेत्रमा गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ