arrow

बेलडाँडीमा भूमिहीनलाई निस्सा वितरण शुरु 

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७९ साउन २ सोमबार
belbar-nissa.jpg

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका भित्रका भूमिहीनहरूलाई लालपुर्जाको लागि निस्सा वितरण गर्ने काम शुरुआत गरिएको छ । 

बेलडाँडी गाउँपालिकामा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासहरूलाई जग्गाधनी पुर्जा उपलब्ध गराउन सङ्कलन गरिएका निवेदनहरूको निस्सा वितरणको कार्य भइरहेको बेलडाँडी गाउँपालिकाका प्रमुख हरिश्चन्द्र रानाले बताए । 

नागरिकहरूलाई सम्बन्धित वडाबाटै निस्सा वितरण गर्दा सहज हुन्छ भन्ने उद्देश्यले आइतबार देखि सबै वडाहरूलाई गाउँपालिकाले निस्सा उपलब्ध गराएको बेलडाँडी गाउँपालिका प्रमुख रानाले बताए । 

बेलडाँडीका सबै वडाबाट निस्सा वितरणका लागि समय निर्धारण गरी सूचना प्रकाशन गरिसकेको र सोही अनुसार लाभग्राहीहरूलाई निस्सा उपलब्ध गराइने उप प्रमुख शान्ति नाथले बताइन ।

बेलडाँडी गाउँपालिका अन्तर्गतको भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासी सेवा केन्द्रका प्रमुख हेमराज रेग्मी जोशीले दिएको जानकारी अनुसार बेलडाँडी गाउँपालिका भित्र १२६ भूमिहीन दलित, १६८ भूमिहीन सुकुम्वासी र ४ हजार २ सय ९२ अव्यवस्थित बसोबासी गरी जम्मा ४ हजार ५ सय ८६ परिवारलाई निस्सा वितरण गर्ने कार्य हुँदै छ । 

बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र राना, उपाध्यक्ष शान्ति नाथ र प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीले संयुक्त रूपमा वडाध्यक्षहरू क्रमशः जग बहादुर विष्ट, नारद सिंह उर्याल , दुर्गा प्रसाद चौधरी, वीर बहादुर खड्का र इन्द्र खड्का तथा सम्बन्धित वडाका सदस्य तथा कर्मचारी प्रतिनिधिहरूलाई निस्सा हस्तान्तरण गरेका थिए । 

त्यस क्रममा बेलडाँडी गाउँपालिका अध्यक्ष हरिश चन्द्र रानाले निस्सा वितरण लगत्तै जग्गा नाप जाँचको कार्य हुने र छिट्टै लाभग्राही नागरिकहरूलाई जग्गाधनी पुर्जा वितरण गरिने बताए । 

बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष शान्ति नाथले लामो समयदेखि भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासहरूलाई जग्गाधनी पुर्जा उपलब्ध गराउनु पर्छ भनेर माग गर्दै आएको र अहिले जनताले त्यो पूरा गर्ने ठाउँमा पुर्‍याएकोले त्यसै अनुसार काम गरिने बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ