arrow

एन्फामा लफडा, एजेन्डा नै शुरु नभइ बैठक स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ५ बिहिबार
anfa-executive-committee-meeting-2079.jpg

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमिति बैठक एजेन्डामा प्रवेश नगरी स्थगित भएको छ । एन्फा मुख्यालय सातदोबाटोमा डेढ घण्टा ढिला गरी शुरु भएको बैठकको कार्यसमितिका १२ सदस्यले पहिलो बैठकको निर्णय सच्चाउन माग गर्दै हस्ताक्षर अभियान शुरु गरेपछि अध्यक्ष  पंकजविक्रम नेम्वाङ बैठक स्थगित गरेर हिँडेका थिए । 

वरिष्ठ उपाध्यक्षसहित १० जना पूर्व अध्यक्ष गणेश थापा निकटका पदाधिकारीले हस्ताक्षर गरेका थिए । त्यसैगरी दुई जना कर्माछिरिङ शेर्पा पक्षका हुन् । उनीहरु टीका लामा र भरतबुढा थापा हुन् । रमेश व्यञ्जनकार भने उपस्थित हुन सकेनन् । उनी बिरामी भएकाले आउन नपाएको बताएका छन् । उनले पनि समर्थन रहेको जनाएको थापा निकट पदाधिकारी बताउँछन् ।  

गत असार ६ गते कर्माछिरिङ शेर्पालाई हराउँदै अध्यक्षमा निर्वाचित भएपछिको पहिला कार्यसमिति बैठकले महासचिवमा किरण राई, अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख र कोषाध्यक्षमा क्रमशः किरण राई, नविन पाँडे र रविन्द्र जोशीलाई नियुक्त गरेको थियो ।

प्रक्रिया पूरा नगरी नियुक्त गरिएको भन्दै त्यसको विरोध हुँदै आएपछि अहिले त्यो निर्णय सच्चाउन खोजिएको कार्यसमितिका एक पदाधिकारीले बताए । उनले भने, ‘जर्मनीबाट एन्फा चलिरहेको छ । अनि कहाँबाट हुन्छ ?’

पूर्व अध्यक्ष थापाले जर्मन नागरिक नविन पाँडेलाई अन्तर्राष्ट्रिय सम्बन्धको जिम्मा लगाइनु गलत भएको बताएका थिए । उनले एन्फाको विधानविपरीत पाँडेलाई नियुक्त गरिएको भन्दै आपत्ति जनाएका थिए । 

आजको बैठकले सीईओ, तीन सहमहासचिव र प्रवक्ता नियुक्तिसँगै नेपालमा हुने तय भएको महिला साफ च्याम्पियनशिप र नेपाल सुपर लिग (एनएसएल) को बारेमा निर्णय लिने बताइएको थियो ।

यसअघि सोमबार नेम्वाङ अचानक बिरामी परेको भन्दै बैठक स्थगित भएपछि बैठक आजलाई बोलाएको हो । आजको बैठकमा कोरम नपुगेको भन्दै बैठक स्थगित गर्नुपरेको बताएर नेम्वाङ बाहिरिएको थापा निकटका एक पदाधिकारीले बताए । 



नयाँ