- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । रेडियो माडी आवाजलाई अभाव हुँदै आएको रेडियो सम्बन्धी उपकरणको अभाव अब लुम्बिनी प्रदेश सरकारले दिने अनुदानले ठूलो राहत हुने अपेक्षा थियो । गत चालु आर्थिक वर्ष २०७८–०७९ को वार्षिक कार्यक्रम अन्तर्गत ३१४०००१२ खर्च शीर्षक नं.३११२२ अन्तर्गत तपसिलमा उल्लेखित रेडियोलाई अन्य उपकरण तथा मेशनरी औजार खरिदको लागि बजेट विनियोजन गरेको सूचना अनुसार सो रेडियोले अभाव भएका सामग्रीहरुको एक प्रस्ताव तयार गर्दै मन्त्रालयमा पेश पनि गर्याे ।
लुम्बिनी प्रदेश सरकारले प्रदेशमा रहेका रेडियोहरुलाई उपकरण तथा मेशिनरी औजार दिने भनेर प्रक्रिया अगाडि बढाए पनि आवेदन दिएर मुकाम बुटवल उपकरण अनुदान पाउने ठूलो अपेक्षा गरेका रेडियो माडी आवाजका स्टेशन म्यानेजर बुद्धिमान वलीले भने – हाम्रो सम्पूर्ण कागजात पास भएर आर्थिक प्रशासन शाखासम्म पुग्यो । तर विडम्वना सामग्री खरिद सम्बन्धमा पुगेको अन्तिम चरणको काम किन रोकियो भन्ने बारेमा कुनै जानकारी गराइएन मन्त्रालयबाट । गत आर्थिक वर्ष पनि सकियो । तर हामीले सामग्री पाएनौं ।
हाम्राकुरासँगको कुराकानीमा स्टेशन म्यानेजर वलीले सचिव आएपछि पनि उक्त विषयलाई अगाडि बढाइएन, जसले उपकरण दिन्छौं भन्ने तर नदिने प्रदेश सरकारको प्रवृत्ति गलत भएको भन्दै सो विषयमा छुट्टाइएको बजेट पारदर्शी रुपमा देखाउनु पर्ने जिकिर गरे ।
सामान दिएको भनेर प्रदेश सरकारसँग हस्ताक्षर छैन । नदिएर कसरी हस्ताक्षर गराउँछ र ? अन्य कागज हेर्ने हो भने हामीमाथि सामग्री लगेकोसम्म देखाउने प्रक्रियासम्म पुगका हौं । जसले गर्दा हामीलाई कठपुतली बनाइयो ।
वलीले भने – हामीले एक सय वाटको एफएमका लागि ट्रान्समिटर एक थान, अडियो मिक्सचर ६ च्यानल एक थान, स्टुडियो माइक एस एम ५८–२ थान, अनलाइन यूपी एस ४८ भोल्ट–१ थान, स्टुडियो हेडफोन–३ थान, डेस्कटप कम्प्युटर–२ थान, एकेजी स्टुडियो ब्रोडकास्ट माइक ठूलोमा एकथान, ल्यापटप–२ थान र फिल्ड रेकर्डर–२ थान गरी १० लाख रुपैयाँ बराबरको सामग्री माग गरेका थियौं ।
त्यस्तै पल्लवी एफएम रोल्पाले पनि नपाएको गुनासो गरेको छ । रेडियो बुद्ध आवाजले २ लाख ५० हजार, सामुदायिक रेडियो रुवरु एफएम बाँके, जलजला एफएम र सुनछहरी एफएम र रोल्पा एफएमका भुप समर्पण क्षेत्रीले पनि उपकरण नपाएको गुनासाे गरेका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको गृहजिल्ला रोल्पाका अधिकांश रेडियोहरुलाई उपकरण दिने प्रक्रिया अन्तिम चरणमा पुगे पनि मन्त्रालयको गैरजिम्मेवार जवाफले आशावादी बनेका रेडियो सञ्चालकहरुले दुःख व्यक्त गरेका छन् ।
यता जलजला एफएमको भवन निर्माणका लागि प्रदेश सरकारबाट ३५ लाख र मालाश्री एफएम रोल्पाले भवन निर्माणका लागि १० लाख रुपैयाँ प्राप्त गरेको बताइएको छ । होलेरी सामुदायिक स्वास्थ्य केन्द्रका प्रतिनिधि बुद्धिजीवी सेजुवालले पनि स्वास्थ्य केन्द्रका लागि माग गरिएको भिडियो एक्सरे मेसिन पनि नपाएको बताए ।
योजनाबद्ध ढंगले यो सब गरेको अनुगमन गर्न सकिन्छ । एक जना व्यक्ति (मन्त्रालयका सचिव) का कारण यस्तो कार्य भएको हुन सक्ने रोल्पाका पत्रकार तिलक संघर्ष मगरले जनाए । यस विषयमा थप जानकारी लिनका लागि आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव कोमल धमला प्रसाद धमलालाई तिन दिनसम्म सम्पर्क गर्दा फोन उठेन भने लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विकको पनि फोन उठेन ।