arrow

झनककाे सनकः निस्किए संघीयता र धर्म निरपेक्षता खारेजीविरुद्ध कठोर पैदल यात्रामा

logo
नारायण वली,
प्रकाशित २०७९ साउन १५ आइतबार
yatri.jpg

रुपन्देही । दश वर्षे शसस्त्र द्धन्द्ध, ०६२–६३ को जनआन्दोलन, राजसंस्थाको अन्त्य र मधेस आन्दोलन पश्चात् देशको बदलिँदो राजनितिक गतिले सिंगो नेपाललाई सात वटा प्रदेशमा विभाजित गरायो । एउटा संघीय राजधानीसहित अहिले देशमा ७ वटा प्रदेश राजधानी रहेका छन् । 

जनताले संघीयताको स्वाद चाखेको पनि ५ वर्ष बितिसकेको छ । पछिल्लो समय सामाजिक सञ्जाल र विभिन्न ठाउँ र चोकहरुमा संघीयता र धर्मनिरपेक्षता खारेज हुनुपर्ने जनविरोध एव‌ प्रदेश संरचना हटाएर देशमा स्थानीय तह र केन्द्रिय राजधानी भए पुग्ने गुनासो बढिरहेका बेला दाङका एक युवाले भने पूर्वपश्चिम राजमार्गमा संघीयता र धर्म निरपेक्षता खारेजी विरुद्ध कठोर पैदल यात्रामा निस्किएका छन् । 

देश संघीयतामा गए पनि भौतिक रुपमा विकास भने नभएको होइन, दाङको तुलसीपुर उपमहानगरपालिका–११ जसपुरका झनकबहादुर बस्नेतले लुम्बिनी प्रदेशको पश्चिम जिल्ला बर्दिया र कर्णाली प्रदेशको राजधानी सुर्खेत सीमामा पर्ने बबई नदीदेखि सल्यानको कालिमाटी गाउँपालिका हुँदै दाङको बबई गाउँपालिकाबाट काठमाडाैंको यात्रामा पैदल हिंडेर संघीयताले देश र जनतालाई मारमा पारेको र धर्म परिवर्तनले हिन्दू धर्मको राज्य भनेर चिनिने नेपाल धर्मका नाममा बिखण्डन हुँदै गएको भन्दै संघीय राजधानी पुगेर केही ज्ञापन पत्र बुझाउने लक्ष्य रहेको पैदल यात्री झनकले बताए ।

साउन ४ गतेदेखि यात्रा तय गरेका बस्नेत ११ दिनको पैदल यात्रापछि आइतबार बुटवल आइपुगेका छन् । उनलाई बुटवल उपमहानगरपालिका–११ न्यु दुर्गानगर टोल विकास समितिले बुटवल–२ पाखापानीस्थित मनकामना मन्दिर नजिक यात्राको सफलताको कामना गर्दै अबिर र माला लगाएर स्वागत गरेकाे थियाे । सो टोलका युवा लिलाधर बिकको नेतृत्वमा आएको टोल विकास समितिका धेरै जसो महिलाहरुको सहभागिता रहेको थियो ।

२०४१ साल मंसिर २५ गते जसपुरमा जन्मिएका झनकले २०५६ सालदेखि सक्रिय रुपमा राजनितिक यात्रा शुरु गरेको सुनाए । विभिन्न संघसंस्थामा रहँदै आएका उनी हाल नेपाली कांग्रेसको तुलसीपुर नगर कमिटीको सहसचिवमा रहेका छन् । 

काठमाडाैं सम्मको पैदलयात्रामा निस्किएका बस्नेतको संघीयता बिनाको हिन्दू राष्ट्र कायम हुनुपर्ने र संघीयतालाई हटाउनु पर्ने माग छ । दुई वटा मागको ज्ञापनपत्र बुझाएर दबाब दिने उद्देश्यले पैदलयात्रामार्फत सरकारलाई ध्यानाकर्षण गराउने उनले जनाए । आइतबार बुटवल आएका झनकलाई पत्रकारहरुले ज्ञापनपत्र बुझाउनलाई पैदल यात्रा नै गर्नुपर्ने थियो र ? भन्ने सोधेको जिज्ञासामा उनले भने, ‘संघीयता देश र जनताको हितमा छैन । हिन्दू राष्ट्र आजको आवश्यकता हो त्यसैले ‘शक्तिकेन्द्रको स्वार्थमा ल्याइएको संघीयता र धर्म निरपेक्षताको विरोध स्वरुप सरकारको कानसम्म पुगोस् भनेर पैदलयात्रा थालेको बताए ।

कां‌ग्रेसका प्रभावशाली नेता स्व.खुमबहादुर खड्काले लिएको संघीयता र धर्म निरपेक्षता विरुद्धको अठोटलाई अभियानस्वरुप सार्थक बनाउनका लागि पैदलयात्रा थालेको उनले सुनाए ।

पैदल यात्रालाई काठमाडाै‌ंस्थित पशुपतिनाथको मन्दिरमा पुगेर बिट मार्ने निधो गरेका झनकले नेपाली का‌ग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माका साथै समय मिलेसम्म कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत भेटेर ज्ञापन पत्र बुझाउने योजना रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ