- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । नेपालमा महिला सम्बन्धी हकअधिकारलाई कानूनमा थप बलियो बनाए पनि त्यसको कार्यान्वयन भने प्रभावकारी भएको पाइदैन । महिलाहरु घरेलु हिंसामा परेका कारण विगतमा धेरैले घरेलु हिंसाको अत्याचार सहन नसकेर कैयनले आत्महत्या गरेका छन् भने कयौं महिलाले घरपरिवारकै संलग्नतामा ज्यान गएका घटना धेरै छन् ।
२०७३ सालअघि नेपालमा महिला हिंसाका कतिपय घटनाहरु बाहिर आए । धेरैजसो हिंसाहरु बाहिर आएनन् । तर स्थानीय तहमा महिला हिंसाका घटना समाधान गर्ने न्यायिक समिति बनेपछि यस्ता घटना मनग्ये बाहिरिएका छन् ।
घरेलुजन्य र महिला हिंसाका घटनाहरुलाई स्थानीय तहमा नै मेलमिलापको माध्यमबाट सुल्झाउनु पर्ने भन्दै अदालत जानुपर्ने बाध्यतालाई सहज गराउन गाउँपालिकामा उपाध्यक्ष र उप–महानगरपालिकामा उपमेयरको संयोजकत्वमा न्यायिक समितिको गठन गरिएको हाे ।
तर बिडम्वना त्यही न्यायिक समिति प्रमुखको घरमा लुकेको महिला (बुहारी) माथि गरिँदै आएको घरेलु हिंसाको घटनाको समाचार पढ्दा सायदै पत्यार नलाग्न सक्छ । वास्तविकता यही नै हो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी उपमेयर जागेश्वरीदेवी चौधरीकी बुहारी वर्षाकुमारी चौधरीले आफूले विगतका दिनदेखि हिंसा खेप्दै आएको भन्दै साउन १५ गते न्याय माग्न इलाका प्रहरी कार्यालय मंगलापुरसम्म पुगिन् । तब बाहिरियो नगरबासीका नागरिकहरुको समस्यालाई हल गर्ने न्यायिक समितिकी प्रमुख जागेश्वरीको छोराले आफ्नै श्रीमतीलाई दिएको घरेलु हिंसाको घटना ।
आइतबार घाँटीदेखि खुट्टासम्म निल डाम हुने गरी शरीरमा श्रीमानले कुटपिट गरी घरेलु हिंसा गरेपछि साे अत्याचारविरुद्ध प्रहरीमा गई आफूलाई कुटपिट, गाली बेइज्जत र मानसिक एव शारीरिक हैरानीबाट मुक्त गराइदिन उल्लेख गर्दै एक निवेदन पेश गरिन् ।
इलाका प्रहरी कार्यालय मंगलापुरमा पीडित वर्षाले दिएको निवेदन दर्ता भएको छ । निवेदनमा भनिएको छः ‘सेवामा म मेरो निवेदन लेखी पेश गर्नाको कारण यो छ कि मेरो श्रीमान मोहन थारुले दैनिकजसो मलाई गाली बेइज्जती तथा कुटपिट गर्ने र मानसिक तथा शाररिक रुपमा हैरानी दिने हुँदा निजलाई यस कार्यालयमा ल्याई आवश्यक कारबाही गराई मलाई न्याय दिलाई दिन हुनको लागि यो निवेदन लेखी पेश गरेको छु’ ।
तिलोत्तमा नगरपालिका–१७ गंगोलिया मिडहारीकी वर्षा बहालवाला ५ वर्ष उपमेयर बनिसकेकी र अहिले दोस्रो पटकका लागि उपमेयरमा निर्वाचित भएकी न्यायिक समिति प्रमुख जागेश्वरीको घरमा हुने घरेलुजन्य घटनाले अब नगरबासीले कसरी न्यायिक समितिबाट उचित निर्णय पाइएला भनेर चिन्ता गर्न थालेका छन् ।
बुहारी वर्षाले श्रीमान मोहनले दैनिक लागुपदार्थ सेवन गरेर शारीरिक तथा मानसिक एवं यौन दुव्र्यहार गरेर तनाव दिने गरेको र ससुराले छोरालाई गाली गर्ने गरे पनि सासु उपप्रमुख जागेश्वरीले बेवास्ता गर्दै आएको गुनासो गरिन् । ‘श्रीमानले दिँदै आएको सास्ती र दुव्र्यहारलाई सहेर बस्दा पनि नसक्ने भएपछि खेप्न नसकेर उजुरी दिएको उनले बताइन् ।