arrow

आइतीमाया, कुमारी र बेलमायाको डोकोबाट जन्मियो डोकेबजार

जसले बसाए डोकेबजार, उनै गुमनाम

डोकोबाट सुरु भएको डोकेबजारको दैनिक कारोबार करोड बेसी

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७९ साउन १७ मंगलबार
doke-bazar.jpg

कञ्चनपुर । डोकेबजार ! कैलाली कञ्चनपुरको सीमा नदी मोहनाको बगर र भारतीय दुधवा राष्ट्रिय निकुञ्जसँग जोडिएको बजार हो । डोकेबजार सुदूरमा प्रख्यात छ । यसको प्रख्यात बन्नुको आफ्नै कारण छन् । कुनै बेला त्रिपाल र थाङनामा पसल थापेर विकसित बजार अहिले सुदूरका धेरैको प्रिय बन्न पुगेको छ । 

सुदूरपश्चिमका मासु पारखीहरूको रोजाइमा परेको बजार डोकेबजार । सुदूरका जुनसुकै स्थानबाट धनगढी पुगेको जो कोही पनि मासुको स्वादमा रमाउन डोकेबजार पुग्ने गर्दछन् । डोकेबजार अहिले जति चर्चामा रहे पनि यो बजारको तीन दशक अगाडि स्थापना गर्ने आइती माया, कुमारी र बेलमाया भने गुमनाम नै छन् । 

२०४८/०४९ ताका कञ्चनपुरको दक्षिणी क्षेत्रका ८ भन्दा बेशी गाविसका स्थानीयहरू धनगढी र सीमावर्ती बजार गौरीफन्टा किनमेलका लागि आउने जाने गर्थे । उजाड अनि चर्को घामका बेला न त बस्ने कुनै ठाउँ न त कुनै बिसौनी नै थियो । साइकल र पैदल यात्री तिर्खा लागे मोहना पारी धनगढीको त्रिनगर र गौरीफन्टा पुगेर प्यास मेटाउने गर्थे । 

यही बिच मानिसहरूको बाक्लो आउजाउ भई रहने यो ठाउँमा भिमबस्ती घर भएकी आइतीमाया नेपाली , कुमारी सुनार र बेलमाया बिकले सालघारीको छायाँ परिरहने यो ठाउँमा सुरु गरिन डोके व्यापार । तिनै आईतीमाया , कुमारी र बेलमायाको अथक प्रयत्नले धेरैको थकान र तिर्खा मेटाउने थलो बन्यो यो ठाउँ । 

कैलालीको धनगढी कैलाली पुल स्थित हाटबजारमा बेच्न राखिएका पहाडका सुन्तला , ज्यामिर , भटमास, गहत , अदुवा लगायतका कृषी उत्पादनका बस्तु , बिस्कुट , चुरोट , सुर्ती , बिडी , डोकोमा बोकेर ल्याउने र यहाँ त्रिपाल र थाङ्ना ओछ्याएर पसल थाप्न सुरु गरेका हुन आईतीमाया , कुमारी र बेलमायाले । डोकेबजारको संस्थापक यी तीन आईतीमाया , कुमारी र बेलमाया मध्य कुमारी मात्रै जीवित छिन् । सुरुमा यिनैले डोके बजारको थापना गरे पनि केही पछि भने धेरैले उनीहरूसँगै सुरु गरे डोको व्यापार । 

धनगढीसँग सीमा जोडिएको मोहनाको बगर नजिक भारतको गौरीफन्टा सँगै जोडिएको कञ्चनपुरको भूभागमा अबस्थित डोकेबजारको इतिहास डोको सँग जोडिएको छ । बिहान घरबाट डोकोमा सामान बोकेर सालघारीको छायाँ पर्ने बाटोको छेउमा त्रिपाल र थाङ्नामा पसल थापेर बेलुका डोकोमै सामान बोकेर फर्कने गर्थे उहिले आइतीमाया, कुमारी र बेलमाया । 

दिनभर पसल चलाएर यात्रीहरूलाई सुस्ताउन र थकाइ मेटन बिसौनीका रूपमा स्थापित गर्ने आइतीमाया , कुमारी र बेलमायाकै अथक प्रयासले स्थापित यो ठाउँ कालान्तरमा डोकेबजारका नामले प्रसिद्धि पाएको हो । तीन दशक अघि त्रिपाल र थाङनामा व्यापार हुने ठाउँमा अहिले ठुला ठुला पक्की पसल बनेका छन् । दैनिक करोड बेसीको कारोबार यहाँ हुने गर्दछ । 

पुनर्वास नगरपालिका वडा नम्बर ११स्थित डोकेबजार कञ्चनपुरको पूर्वी दक्षिणमा रहेको नेपाल भारत अन्तर्राष्ट्रिय सीमा नाका पनि हो । भारतीय सीमा सँगै जोडिएको ठाउँमा डोकेबजार जस्तो सामरिक महत्त्वको व्यापारिक केन्द्र स्थापनामा आफ्नो पसिना सिञ्चित गर्ने आईतीमाया , कुमारी , बेलमाया जस्ता ऐतिहासिक व्यक्तित्व भने गुमनाम छन् । डोकेबजारमा पुग्ने न कसैले चिन्छ न राज्यले नै चिन्छ न स्थानीय निकायले नै चिन्छ यिनीहरूलाई । 

अन्तर्राष्ट्रिय महत्त्वको हुँदाहुँदै पनि डोकेबजार अस्तव्यस्त छ , फोहर व्यवस्थापन हुन सकेको छैन , ट्राफिक समस्या उत्तिकै छ । सार्वजनिक शौचालय छैन । डोकेबजारको ऐतिहासिक महत्त्व र पहिचान झल्किने गरि विकासका कुनै मोडेल तयार पारिएको देखिँदैन । स्थानीय ठाउँको पहिचान उजागर हुने गरि बनाइएका विकासका योजना दीर्घकाल सम्म जीवित रहन्छन् यस तर्फ पुनर्वास नगरपालिकाले पहल गर्नु पर्दथ्यो । 

पर्यटन प्रवर्द्धन र व्यापारिक महत्त्वको डोकेबजार पुनर्वासको आर्थिक लाभको सहयोगी बन्न सक्छ । यहाँको नेपाल भारत नाका व्यवस्थित र सुन्दर बनाउँदै डोकेबजार जाऊँ जाऊँ लाग्ने बनाउने अभिभारा पुनर्वासकै जनप्रतिनिधिहरूको हो भन्छन् स्थानीय हरू ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ