- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक आज बस्दैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहान १० बजेबाट बैठक शुरु हुने एन्फाले जनाएको छ ।
बैठकमा यस अघिका १८ र थप गरिएका ४ नयाँ एजेन्डामा छलफल हुनेछ । केन्द्रीय सदस्य पेमा लामाले माग गरेको ४ एजेन्डा थपिएको हो ।
थप गरिएको एजेन्डा पुरस्कार राशि, महिला नकआउट फुटबल प्रतियोगिता, ग्रासरुट तथा महिला फुटबल एकेडेमी सञ्चालन तथा फिफा दिवसमा राष्ट्रिय महिला टिमको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्बन्धी एजेन्डा रहेको छ ।
यसअघि गत साउन ५ गते डाकिएको कार्यसमितिको बैठक एजेन्डामा प्रवेशै गर्न नसकी अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।
त्यसैगरी साउन ५ गतेका पुरानै एजेन्डामा विवादित नेपाल सुपर लिग (एनएसएल) देखि विभिन्न पदाधिकारी नियुक्ति, नेपालमा हुने महिला साफ च्याम्पियनशिप मुख्य एजेन्डा रहेको छ ।
पछिलो समय पदाधिकारी नियुक्तिमा भने निकै पेचिलो बनेको छ । कर्माछिरिङ शेर्पालाई पराजित गर्दै एन्फा हाक्न आएका पंकजविक्रम नेम्वाङ निकै दवावमा पर्न सक्छन् ।
तीन समूहलाई समेट्दै गर्ने नियुक्ति नै कठिन रहेको छ । सीईओ, प्रवक्ता, उपमहासचिव, तीन सहमहासचिव, मानार्थ अध्यक्षसहित विभिन्न पदमा नियुक्ति हुने बताइएको छ ।
तर उक्त साउन ५ गतेको दोस्रो कार्यसमिति बैठक एजेन्डामा प्रवेश नगरी स्थगित भएको थियो । एन्फा मुख्यालय सातदोबाटोमा डेढ घण्टा ढिला गरी शुरु भएको बैठकको कार्यसमितिका १२ सदस्यले पहिलो बैठकको निर्णय सच्चाउन माग गर्दै हस्ताक्षर अभियान शुरु गरेपछि अध्यक्ष नेम्वाङ बैठक स्थगित गरेर हिँडेका थिए ।
वरिष्ठ उपाध्यक्षसहित १० जना पूर्व अध्यक्ष गणेश थापा निकटका पदाधिकारीले हस्ताक्षर गरेका थिए । त्यसैगरी दुई जना कर्माछिरिङ शेर्पा पक्षका हुन् । उनीहरु टीका लामा र भरतबुढा थापा हुन् । रमेश व्यञ्जनकार भने उपस्थित हुन सकेनन् । उनी बिरामी भएकाले आउन नपाएको बताएका छन् । उनले पनि समर्थन रहेको जनाएको थापा निकट पदाधिकारी बताउँछन् ।
गत असार ६ गते कर्माछिरिङ शेर्पालाई हराउँदै अध्यक्षमा निर्वाचित भएपछिको पहिला कार्यसमिति बैठकले महासचिवमा किरण राई, अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख र कोषाध्यक्षमा क्रमशः किरण राई, नविन पाँडे र रविन्द्र जोशीलाई नियुक्त गरेको थियो ।
प्रक्रिया पूरा नगरी नियुक्त गरिएको भन्दै त्यसको विरोध हुँदै आएपछि अहिले त्यो निर्णय सच्चाउन खोजिएको कार्यसमितिका एक पदाधिकारीले बताए । उनले भने, ‘जर्मनीबाट एन्फा चलिरहेको छ । अनि कहाँबाट हुन्छ ?’
पूर्व अध्यक्ष थापाले जर्मन नागरिक नविन पाँडेलाई अन्तर्राष्ट्रिय सम्बन्धको जिम्मा लगाइनु गलत भएको बताएका थिए । उनले एन्फाको विधानविपरीत पाँडेलाई नियुक्त गरिएको भन्दै आपत्ति जनाएका थिए ।
आज पनि बैठकमा सहमति नहुने सम्भावना
आज पनि बैठक निर्णयमा पुग्ने सम्भावना कम रहेको छ । गत साउन २० गते नै असन्तुष्ट पक्षले विदेश विभाग प्रमुख पाण्डेको बर्खास्तीको विषय एजेन्डामा पार्नका लागि सात पदाधिकारीले हस्ताक्षर गरी दर्ता गरेको भए पनि त्यसबारे कुनै निर्णय नगरिएपछि असन्तुष्टि बढ्ने निश्चित छ ।
एक पदाधिकारीले हाम्राकुरासँग भने, ‘पेमाले तीन दिनअघि पेश गरेको एजेन्डा समावेश हुने अनि हामीले ६ दिनअघि एजेन्डामा समावेश गर्न निवेदन दिँदा वास्ता नगरिएपछि बैठक कसरी अगाडि बढ्ला र । आज पनि टालटुल गरेर भाग्ने नियत देखिएको छ ।’
लगातार बैठक स्थगित हुँदै गयो भने समाधान भन्दा जटिलतातर्फ जाने निश्चित छ । एन्फा विधानअनुसार नै निर्णय गर्नुको विकल्प छैन ।