arrow

सफल बन्दै गगन थापाको ‘शहर केन्द्रित प्राथमिक स्वास्थ्य सेवा’ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३० सोमबार
gagan-thapa-health--.jpg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री, सांसद तथा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री गगनकुमार थापाको ‘शहर केन्द्रित प्राथमिक स्वास्थ्य सेवा’ कार्यक्रम सफल बन्दै गएको छ । 

भारतको नयाँ दिल्ली र श्रीलंकामासमेत सफल प्रयोग भइरहँदा नेता थापाले काठमाडौं महानगरपालिकाको वडा नम्बर ३० बाट ‘शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र’ संचालन गरी उदाहरणीय प्रयोग गरेका हुन् । 

गत चैत १ गतेदेखि शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट प्राथमिक स्वास्थ्य सेवाको नियमित संचालन थालिएको उनले बताएका छन् । छोटो समयका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री भएकै बेलामा चर्चित योजनाहरु ल्याएका थापाले नागरिकको स्वास्थ्य खर्च घटाएर नेपालको स्वास्थ्य प्रणालीलाई विकास गर्नका लागि यो अभियान थालिएको बताए । 

उनले काठमाडौंको एक वडाबाट थालिएको यो योजनालाई देशका सबै वडामा लागू गर्न सक्ने हो भने नागरिकको स्वास्थ्य खर्च घट्नुका साथै नियमित परीक्षणले गम्भीर रोग लाग्नै नपाउने बताए ।  

उनले सरकारका दुई वटा जिम्मेवारी महत्वपूर्ण भएको स्मरण गराउँदै भने, ‘पहिलो संविधान प्रदत्त दायित्व पूरा गर्ने र दोस्रो नागरिकको स्वास्थ्यमा हुने खर्च घटाउने । त्यसको महत्वपूर्ण पाटोको रुपमा अब शहर केन्द्रित प्राथमिक स्वास्थ्य सेवा प्राथमिकतामा पर्नु आवश्यक छ । तबमात्र स्वास्थ्य बिमाले थेग्न सक्छ । नागरिक र राज्यको खर्च कम हुन्छ ।’

संविधानमा आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुने भनिएको छ । तर त्यो सेवा कहाँ प्रदान हुन्छ भन्ने अन्योल छ । त्यतिमात्र हैन राज्यले एक सयको हाराहारीमा निःशुल्क औषधि उपलब्ध गराउँदै आएको छ । तर ती औषधि कहाँ र कसरी पाइन्छ भन्ने शहरवासीलाई त झन् पत्तो नै छैन । 

प्राथमिक उपचार लिनुको सट्टा गाह्रो साह्रो परे सिधै ठूला अस्पताल जाने र निःशुल्क पाइने सिटामोल पनि जोकसैले फार्मेसीमा गएर किन्ने बानीले गर्दा शहरवासीको स्वास्थ्य थप जटिल बन्दै गएको छ । यही विषयलाई गम्भीर रुपले केलाउँदै गगन थापाले शहर केन्द्रित प्राथमिक स्वास्थ्य सेवाको योजना अगाडि सारेका हुन् । 

भारतको नयाँ दिल्लीमा आम आदमी पार्टी (आप) ले सरकार बनाएपछि मूख्यमन्त्री अरविन्द केजरीवालले यही योजना ल्याएका थिए । उनको यो योजना सफल भएको छ ।

उनले ल्याएको ‘हेल्थकेयर स्किम’ भारतीय केन्द्र सरकारको ‘आयुष्मान भारत’ भन्दा निकै सफल भएको मानिन्छ । केजरीवालले दिल्लीको स्वास्थ्य सेवा ‘सबैका लागि निःशुल्क’ भएकोसमेत बताएका छन् ।

श्रीलंकामा पनि यही योजना लागू भएको छ । विश्वका कयौं देशले केजरीवाल मोडललाई अपनाउन खोजिरहेका छन् । 

के हो शहर केन्द्रित प्राथमिक स्वास्थ्य सेवा ? 
सांसद गगन थापाले गत शनिबार ‘शहर केन्द्रित प्राथमिक स्वास्थ्य सेवा  काठमाडौं महानगरपालिका वडा नं. ३० अनुभव र अभ्यास’ नामक एउटा दस्तावेजसहित प्रस्तुतिकरण नै दिए । 

सो प्रस्तुतिकरणमा उनले प्राथमिक स्वास्थ्य सेवाको महत्व दर्शाए । शहर केन्द्रित प्राथमिक स्वास्थ्य अन्तर्गत सबै नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने र नागरिकको जीवनस्तरमा सुधार गर्ने संवैधानिक दायित्व भएको उनले जनाए । 

त्यस्तै स्वास्थ्य सेवालाई प्रमुख राजनीतिक एजेन्डाको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए । स्वास्थ्य उपचारका लागि आफ्नो खल्तीबाट पैसा तिर्न नागरिक वाध्य भएको अवस्था दर्शाउँदै उनले बहुसंख्यक परिवार आफ्नो अधिकांश सम्पत्ति स्वास्थ्यमा खर्च गर्नुपर्ने अवस्था रहेको यथार्थ सुनाए ।

नेता थापाले स्वास्थ्यकै कारणले थप गरिवीको दुस्चक्रमा फसाउँदै उनीहरुको आर्थिक र सामाजिक उन्नतिलाई अवरोध गरेको बताए । 

यस्तो अवस्थामा उपचारमा लाग्ने खर्च थेग्ने बनाउन र स्वास्थ्य बिमा सफल बनाउन शहर केन्द्रित स्वास्थ्य सेवा आवश्यक रहेको भन्दै आर्थिक अवरोध, चेतनाको कमी, विश्वासको कमी र अन्य कारकहरुले मानिसलाई स्वास्थ्य सेवा लिनमा अवरोध भएको बताउँदै यसका लागि ‘घरमा आधारित सेवाहरु आवश्यक’ भएकोमा जोड दिए । 

कसरी काम भइरहेछ वडा नं. ३० मा ? 
मन्त्री हुँदा गगन थापाले बनाएको सोच अहिले वडामा लागू गरिरहेका छन् । वडा ३० मा करिब ३२ हजार स्थायी वासिन्दा रहेका छन् । बसोवास गर्नेको संख्या एक लाखभन्दा बढी रहेको छ । घरधुरी संख्या करिब १० हजार रहेको छ । 

‘शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र’ ले वडामा बसोबास गर्ने घरपरिवार र व्यक्तिहरुको घरमै पुगेर स्वास्थ्य अवस्थाको जानकारी संकलन गरिरहेको छ । हालसम्म १० हजार जनाको विवरण घरघरमा पुगेर संकलन गरिसकेको गगनका प्रमुख सल्लाहकार प्रताप पौडेलले जानकारी दिए । 

जानकारी लिएको लक्षणको आधारमा रोग पत्ता लगाइ विशेष समूहका मानिसहरुको घरदैलोमा पुगेर निरन्तर हेरचाहसमेत केन्द्रले गरिरहेको छ । ड्रेसिङ, नमूना संकलन, औषधिको डेलिभरी जस्ता सेवा घरमै प्रदान गरिरहेको छ । 

साथै मधुमेह, उच्च रक्तचाप लगायतका समस्या पहिचान भएका व्यक्तिको घरमै पुगेर परामर्श र आवश्यक हेरचाह गरिरहेको छ । 

नेता थापाका सल्लाहकार पौडेलले उच्च रक्तचाप, महुमेह लगायतका समस्या बढ्दै जाँदा यसका लागि प्राथमिक स्वास्थ्य सेवा केन्द्र आवश्यक रहेको भन्दै केन्द्रले नियमित स्वास्थ्य परामर्श र उपचार, एक्सरे, ईसीजी, ल्याब, फिजियोथेरापी, फार्मेसी सेवा सँगसँगै विशेषज्ञ चिकित्सकबाट हरेक दिन विशेषज्ञ परामर्शसमेत दिइरहेको बताए । उनले परामर्शसँगै सबै निःशुल्क दिइरहेकोसमेत बताए । 

त्यो सँगसँगै नागरिकलाई सचेत बनाएर स्वास्थ्य केन्द्रमै आउन नपर्ने गरी प्रत्येक वडावासीको घरको हेल्थ प्रोफाइल बनाउने काम अहिले धमाधम भइरहेको छ । ती सबै ‘घरमै स्वास्थ्य’ अवधारणाअनुसार ल्याउन खोजिएको हो ।

के छ स्वास्थ्य सेवाको विस्तारित अवधारणा ? 
यसको विस्तारित अवधारणामा समुदायमा स्वास्थ्य र स्वास्थ्य प्रवद्र्धनका कायक्रमहरु रहेका छन् । जसमा विद्यालयमा स्वास्थ्य सचेतना कार्यक्रम समेटिएको छ । त्यस्तै सफा पानी र सरसफाइ, खाद्य गुणस्तर निरीक्षण, जनस्वास्थ्य निगरानीलाई पनि प्राथमिकतामा राखिएको छ । 

समय समयमा स्वास्थ्य परीक्षण, टोल र समुदायमा स्वस्थ्य जीवनशैली, स्वास्थ्य जाँच, परामर्श लगायतका स्वास्थ्यका कार्यक्रम रहेका छन् । योजनामा केन्द्रले टोलटोलमा पुगेर ‘जनस्वास्थ्य मेला’ समेत दिने रहेको छ । 

नेता थापाका सल्लाहकार पौडेलका अनुसार अहिले टोलमा स्वस्थ्य कसरी रहने भनेर कक्षा दिने काम भइरहेको छ । त्यस्तै विद्यालयमा स्वास्थ्य अन्तर्गत विद्यार्थी र शिक्षकलाई स्वास्थ्य शिक्षा दिने काम पनि भइरहेको छ । वडा ३० मा १० वटा विद्यालय रहेका छन् । 

पौडेलका अनुसार एक हजारभन्दा बढी शिक्षक र विद्यार्थीलाई स्वास्थ्य शिक्षा दिइसकिएको छ । 

त्यस्तै वडाभित्रका खाद्य पसल र खानेपानी, होटल, भोजनालयको तथ्याङ्क लिएर न्यूनतम पूर्वाधारबारे निगरानी र निरीक्षण गर्ने काम पनि भइरहेको छ । 

एउटा वडाभित्रको एउटा स्वास्थ्य केन्द्रले यी सबै काम गरिरहेको हो । नागरिक समयमै सचेत हुँदासाथ बिरामीमा कमी आउँछ । बिमार लागिहाले प्रारम्भिक चरणमै परीक्षण गरी उपचार हुनेमा दुईमत छैन । 

यो केन्द्रले सरकारका नियमित कार्यक्रमलाई पनि सँगसँगै अगाडि बढाएको छ । जस्तो कि सरकारको विस्तारित खोप कार्यक्रम तालिकाअनुसार दुई वर्षमुनिका बालबालिकाहरुलाई निःशुल्क खोप सेवा उपलब्ध गराइरहेको छ । 

त्यस्तै सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत एएनसी, पीएनसी र परिवार नियोजन सेवा र परामर्श प्रदान गरिरहेको छ । साथै पोषण कार्यक्रम र अन्य नियमित कार्यक्रम पनि चलिरहेका छन् । 

नेता थापाले थालेको यो अभियानको अबको बाटोमा वडा नं ३० का सबै घर परिवारको विस्तृत स्वास्थ्य प्रोफाइल तयार गर्ने, वडामा स्वास्थ्य बिमा कार्यक्रम शुरु गर्ने, निःशुल्क र न्यून शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा दिने, बुढानीलकण्ठ नगरपालिका र वडा नं ७ लगायत अन्य वडामा सेवा शुरु गर्ने साथै घर र समुदायमा स्वास्थ्य सेवालाई जोड दिने रहेको छ । 

के हो त यो केन्द्रको उद्धेश्य र अपेक्षा ? 
गगनको प्रस्तुतिमा उद्धेश्य र अपेक्षाबारे स्पष्टै भनिएको छ । जसमा रोग लाग्नु अगाडि नै तिनको रोकथाम र निदान गर्नु रहेको छ । नसर्ने रोगहरुलाई लक्षित गरी स्वस्थ्य जीवनशैलीका लागि समुदाय तहमा प्रवद्र्धन गर्नु रहेको छ । 

नागरिकलाई नियमित स्वास्थ्य जाँचको बानी बसाल्ने र त्यस्तो स्वास्थ्य परीक्षणलाई घर आँगनमै उपलब्ध गराउने, सामुदायिक नर्सहरुलाई वडावासीको घरदैलोमै उपलब्ध गराउने साथै केन्द्रमा उपलब्ध उपचार प्रदान गरी उपयुक्त उपचारका लागि प्रेषण गर्नुका साथै उपचार गरेर फर्केकाहरुलाई नियमित निगरानी गर्नु रहेको छ । 

त्यसैगरी सस्तोमा गुणस्तरीय सेवा, व्यक्तिका खल्तीबाट औषधि उपचारमा लाग्ने खर्चमा न्यूनीकरण तथा गुणस्तरीय स्वास्थ्य सेवाको आवश्यकता र स्वास्थ्य सेवामा असुरक्षित जनसमुदायको पहुँचलाई सम्बोधन गर्ने रहेको पनि थापाले बताएका छन् । 

जब एक वडामा यो कार्यक्रम सफल हुन्छ भने अन्य वडामा पनि नहुने सवाल नै पैदा हुँदैन । यो कार्यक्रमलाई शहरदेखि गाउँसम्म पुर्याउन सक्ने हो भने नागरिकको स्वस्थ्य रहन पाउने अधिकार पनि सुनिश्चित हुनेमा दुई मत छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ