रुपन्देही । हरेक निर्वाचनमा देशकै ध्यान केन्द्रित गर्ने चुनावी जिल्लामध्ये एक हाे रुपन्देही । स्थानीय, प्रदेश र विशेषगरी संघीय चुनावमा सबैको ध्यानाकर्षण गर्ने रुपन्देहीको क्षेत्र नं–२ एमालेका उपाध्यक्षा विष्णु पौडेल र नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाँणको क्षेत्र नं–३ हो । नेकपा एमालेका उपाध्यक्ष पौडेल, कांग्रेसका केन्द्रिय सदस्य खाँण तथा हालका गृहमन्त्री र एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसाल रुपन्देहीबाट संघीय राजनितिक तहमा प्रतिनिधित्व गर्ने दलीय र संसदीय राजनीतिबारे अनुभवी नेता मानिन्छन् ।
आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनका लागि उम्मेदवारका रुपमा रुपन्देहीमा यिनै तीन जना नेताहरुको परिचर्चा शुरु भएको छ । खाँण, पौडेल र भुषाल नै लाइमलाइटमा छन् । बुटवल र आसपासको भूगोल समेटिएको रुपन्देही क्षेत्र नं–२ बाट एमालेका नेता पौडेल चौथो पटक सांसद बन्ने दौडमा छन् ।
२०७४ सालको चुनावमा पौडेलले रुपन्देही क्षेत्र नं–२ बाट ४४ हजार ९ मत प्राप्त गरेका थिए । प्रतिस्पर्धी कांंग्रेसका युवराज गिरीले २१ हजार ९ सय ४६ मत ल्याएका थिए । पाँच वर्षअघि २२ हजारको फराकिलो मतान्तरले विजयी भएका पौडेललाई आगामी चुनाव जित्न भने पहिलेकै जस्तै सहज छैन । २०७४ मा वाम गठबन्धनबाट जितेका पौडेलका लागि यस पटक वाम–लोकतान्त्रिक गठबन्धन चुनौती बन्ने आँकलन गरिएको छ । अर्काेतिर एमाले फुटेर बनेको एकीकृत समाजवादीले पनि विष्णुको मतलाई घटाउने निश्चित छ ।
लगातार तीन वटा संसदीय चुनाव र एउटा स्थानीय चुनाव जितेको बुटवल उपमहानगरपालिका क्षेत्रलाई एमालेले लामो समयदेखि आफ्नो गढ मान्दै आए पनि गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा कां|ग्रेसले एमालेको गढ भत्काउँदै उपमहानगरको मेयर पद जित्न सफल भयो । धेरै वडामा पनि जित्यो । त्यसलाई हेर्ने हो भने पौडेलको आगामी चुनावी यात्रा सहज नभएको अनुमान छ ।
बुटवल उपमहानगरका १९ वटा वडाहरुमध्ये १३ वटा पौडेलको पकेट क्षेत्र पर्दछन् । ती १३ वटा वडाहरुमध्ये दुई वटामा मात्रै एमालेले स्थानीय तहमा जितेको छ । ८ वटा वडाहरुमा कांंग्रेसले विजयी हासिल गरेको छ । कांंग्रेसका बागी, माओवादी केन्द्र (रुख चिह्नबाट) र एकीकृत समाजवादीले एक–एक वडा हात पारेका छन् ।
स्थानीय तहको जस्तै मत संसदीय निर्वाचनमा पनि त्यसैगरी झरेको अवस्थामा पौडेलका लागि यो पटक नतिजा आफ्नो पक्षमा पार्न कठिन छ । अघिल्लो चुनावका वेला आफ्नो घोषणा पत्रमा प्रदेश नं–५ काे अस्थायी राजधानीलाई (हालको लुम्बिनी प्रदेश) को स्थायी राजधानी बुटवलमै राख्ने एजेन्डा छापेर चुनावी कार्यक्रममा भाषण गर्दै हिंडेका पौडेललाई दाङ स्थायी राजधानी तोकिएपछि मतदाता माझ जाँदा यो विषयमा कसरी मतदातालाई रिझाउँछन् भन्ने विषय चुनौती बनेको छ ।
यस्तै, तिलोत्तमा नगरपालिकाका ६ वटा वडाहरु पौडेलकै क्षेत्रमा पर्दछन् । ६ मध्ये २ वटा वडाध्यक्षहरु मात्रै गत बैशाखमा भएको स्थानीय तहको चुनावमा एमालेले जितेको छ । ४ वटा वडाहरुमा कांग्रेस विजयी भएको छ । त्यस्तै, सैनामैनाका नगरपालिकामा पनि ४ वटा वडाहरुमध्ये २ वटामा मात्रै अध्यक्ष पद एमालेले जितेको छ । एउटामा कांंग्रेस र अर्कोमा माओवादी केन्द्र विजयी भएका छन् ।
पौडेलको निर्वाचन क्षेत्रमा पर्ने २५ वटा वडाहरुको कूल मत जोड्दा कांंग्रेसले सबैभन्दा बढी ३४ हजार ९ सय २९, एमालेले ३३ हजार १ सय ४७ मत र माओवादी केन्द्रले ३ हजार १ सय ८८ मत पाएको तथ्याङ्क छ । स्थानीय चुनावको मत आँकडा र परिणाम हेर्ने हो भने एमाले नेता पौडेलका लागि आगामी चुनाव चुनौतीपूर्ण छ । २०७४ सालमा भन्दा २०७९ सालमा पौडेलको क्षेत्रमा एमालेको मत निकै घटेको छ । त्यसमाथि कांग्रेस सहितको वाम–लोकतान्त्रिक गठबन्धन जारी रहेमा पौडेललाई नतिजा आफ्नो पक्षमा पार्न निकै सकस हुने देखिन्छ ।
प्रदेशको अस्थायी राजधानीलाई रुपन्देहीमा नै स्थायी रुपमा राख्न पहल नगरेको, बालुवाटार स्थित ललिता निवासको जग्गा काण्ड जस्ता कडा आलोचना खेपेका पौडेललाई चुनावमा यी यस्ता प्रश्नहरुको मतदाता संग सामना गर्न त्यती सजिलो भने छैन ।
बुटवलमा एमालेको संगठन कांंग्रेसको भन्दा बलियो भएकाले चुनौती भए पनि पौडेललाई संसदीय निर्वाचनमा मत पाउने केही आधार छन् । एमालेबाट पौडेल हाइ प्रोफाइलका उम्मेदवार हुँदा उनलाई चुनौती दिन सक्ने उम्मेदवार गठबन्धनले कसलाई उठाउने भन्ने अझै टुङ्गो लगाउन सकेको छैन ।
२०७० सालको संविधान सभाको चुनावमा तत्कालीन रुपन्देही क्षेत्र न–३ मा कांग्रेस नेता बालकृष्ण खाँण र एमाले नेता तथा पूर्व उपमहासचिव घनश्याम भुषाल बीच कडा प्रतिस्पर्धा भएको थियो । त्यसबेला सयभन्दा कम मतको अन्तरमा खाँणले भुषाललाई हराएका थिए ।
२०७४ सालको चुनावमा भुषाल रुपन्देही क्षेत्र न–३ बाट चुनिएर प्रतिनिधि सभाका सदस्य बने । खाँण समानुपातिक तर्फबाट सांसद बने । भुषालसँग प्रतिस्पर्धाका लागि कांग्रेसले राप्रपासँग तालमेल गरेर दीपक बोहोरालाई समर्थन गरेको थियो । ५ वर्षअघिको चुनावमा भुषाल ३२ हजार ८ सय ६६ मतका साथ विजयी हुँदा कांग्रेसको समर्थनमा दीपक बोहोराले २७ हजार ४ सय २२ मत ल्याएर पराजित भएका थिए ।
क्षेत्र नं–३ मा बुटवल उपमहानगरका ६ वटा, तिलोत्तमा नगरपालिकाका २ वटा, सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिकाका सबै वडा, सियारी गाउँपालिकाका ५ वटा, मायादेवी गाउँपालिकाका २ वटा र ओमसतिया गाउँपालिकाकाे एउटा वडा पर्दछ । गत वैशाखमा भएको स्थानीय तहको चुनावमा यो क्षेत्रअन्तर्गत पर्ने वडा अध्यक्षहरुको मतका आधारमा कांग्रेसको कूल ३४ हजार १ सय ५३ मत, एमालेको २९ हजार ४८ र राप्रपाको १३ हजार ३ सय ९७ मत रहेको जनाइएको छ ।
सो मतले बालकृष्ण खाँणलाई जित्न सहज देखिएको छ । गठबन्धनका अन्य दलको मत थपिँदा एमालेका भुषाललाई दोहोरिन कठिन हुने देखिएको छ । तर एमालेलाई राप्रपाको साथ भएमा भुषाललाई सजिलो हुने सम्भावना छ ।
रुपन्देही क्षेत्र नं–३ मा अहिलेसम्म कांंग्रेसबाट गृहमन्त्री खाँणको मात्रै चर्चा छ । एमाले अध्यक्षसँगको सम्बन्ध अलि चिसिएकाले भुषालको विकल्पमा एमालेबाट तिलोत्तमाका पूर्वमेयर वासुदेव घिमिरेको नाम अगाडि सारिएको छ । यस्तै रुपन्देही क्षेत्र नम्बर १ मा अघिल्लो पटक जस्तै एमाले सचिव छविलाल विश्वकर्माले कांंग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाकसँग प्रतिस्पर्धा गर्ने सम्भावना छ ।
२०७० मा विश्वकर्मालाई हराउँदै रज्जाक विजयी भएका थिए । २०७४ मा नजिता उल्ट्याउँदै विश्वकर्मा विजयी भएका थिए । वडाध्यक्षको मतका आधारमा त्यहाँ एमाले भन्दा कांंग्रेस बलियो देखिन्छ ।
रुपन्देही क्षेत्र नं–५ मा कांंग्रेस नेता भरतकुमार शाहसँग चुनाव लड्न एमालेका नेता खिमलाल भट्टराईले तयारी गरेको बुझिएको छ । २०७०–२०७४ सालको दुवै चुनावमा शाह विजयी भए । सो क्षेत्रमा वडाको मतका आधारमा एमाले केही अगाडि छ ।
अघिल्लो पटक कांग्रेसले बाजी मारेको रुपन्देही क्षेत्र न–४ मा गत स्थानीय चुनावमा लोसपा अगाडि छ ।