arrow

प्रचण्डले बाबुरामलाई भित्र्याउँदा नारायणकाजी बाहिरिने, गठबन्धन पनि प्रभावित हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ८ बुधबार
Prachanda-Baburam.jpg

काठमाडौं । सत्ता गठबन्धनमा डा बाबुराम भट्टराईको प्रवेशसँगै सीट बाँडफाँटमा समस्या उत्पन्न भएको छ । माओवादी केन्द्रले गोरखाका दुवै क्षेत्र नछाड्ने गरी अडान लिने र नारायणकाजी श्रेष्ठलाई पनि सँगै लिएर जानुपर्ने भएपछि समस्या उत्पन्न भएको हो । 

गत २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेससँगको सहकार्यमा गोरखा–२ बाट साझा उम्मेदवार बनेका डा. भट्टराईले वाम गठबन्धनबाट उम्मेदवार बनेका  नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठलाई पराजित गरेका थिए । 

अहिले नेपाली कांग्रेसको सहयोगमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ उम्मेदवार बन्ने बेलामा प्रचण्डले भट्टराईलाई ल्याएपछि श्रेष्ठले एमालेसँगको सहकार्यलाई जोड दिन थालेका छन् । 

२०७४ सालमा गोरखा–२ मा ६० हजार ११७ मत खसेकामा डा भट्टराईले ३१ हजार ८०७ र उनका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले २४ हजार ९३३ मत ल्याएर त्यतिबेला श्रेष्ठलाई छ हजार मतान्तरले हराएका थिए । 

तर यसपल्ट श्रेष्ठ गठबन्धनबाट उम्मेदवार बन्ने र भट्टराईलाई हराउने अवसर जुटेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रेष्ठलाई ‘साइज’मा राख्न भट्टराईलाई गठबन्धनको नाममा माओवादीकै चुनाव चिन्हबाट उठाउने सहमति गर्दा श्रेष्ठ रनभुल्लमा परेका छन् । 

उनले यसको बदला लिन जसरी पनि माओवादीको कोटाबाट आफू उम्मेदवार बन्नुपर्ने र त्यसका लागि सबैभन्दा बढी सिट बार्गेनिङ गर्ने कांग्रेसले सिट नदिए एमालेतिर जाने संकेत गरिसकेका छन् ।

 ‘श्रेष्ठले पार्टीभित्र बखेडा गरिरहेका छन् उनको सिंगो समूहले एमालेका नेताहरुसँग कुराकानी गरिरहेका छन्’, माओवादीकै एक नेताले भने । 

भट्टराई विसं २०६४ र २०७० को संविधान सभा निर्वाचनमा क्रमशः गोरखा २ र १ बाट निर्वाचित भएका थिए । भट्टराई र श्रेष्ठ एकै क्षेत्रमा प्रतिस्पर्धामा उत्रिएपछि कडा टक्कर भएको थियो । 

तर अहिले भने कांग्रेससँग माओवादीको गठबन्धन हुँदा श्रेष्ठलाई निकै सहज थियो । यो अवसरको उनले सदुपयोग गर्न नपाएपछि श्रेष्ठले गठबन्धनले सबैभन्दा बढी सिट माओवादी र एसलाई दिनुपर्ने कांग्रेसले ७० सिटमा मात्रै चुनाव लड्नु पर्ने प्रस्ताव गरिएको थियो । लामो समयदेखि गठबन्धनको बैठकमा सिट संख्यामा कुरा नमिल्दा बाँडफाँट हुन सकेको छैन । 

खासगरी माओवादी केन्द्रका नेताहरुले कांग्रेसलाई थोरै संख्या प्रस्ताव गर्नु र अघोषित रुपमा एमालेसँग सहकार्यको प्रस्ताव गर्नुले पनि कांग्रेसले माओवादीलाई शंकाको घेरामा राखिरहेको छ । 

माओवादी केन्द्रका नेताहरुले एमालेका नेताहरु सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल प्रदीप ज्ञवालीसँग बारम्बार कुराकानी गरिरहेका छन् । 

पार्टीभित्र श्रेष्ठ पक्षधरलाई पेल्न प्रचण्डले बाबुराम भट्टराईलाई हँसिया हथौडा चुनाव चिन्ह दिने भएपछि श्रेष्ठ समूहका नेताहरु गिरिराजमणी पोखरेल, लिलामणी पोखरेल, अञ्जना विसंखे लगायतका नेताहरुले एमालेसँग कुराकानी गरिरहेका छन् । 

एमालेले पनि कांग्रेसको साथ छाडेर आए उचित सिट दिने बताउँदै आएको छ । भदौ ७ गते बसेको एमालेको स्थायी कमिटी बैठकमा पनि सुवास नेम्वाङ, घनश्याम भुषाल लगायतका नेताहरुले नारायणकाजी श्रेष्ठको नाम लिँदै माओवादी केन्द्रका नेताहरुले एमालसँग सहकार्य गर्न चाहेको बताएका थिए । 

यो विषयमा एमाले अध्यक्ष ओली पनि सकारात्मक बनेको स्रोतको दाबी छ । माओवादीका नेताहरुले एमालेसँग कुराकानी गरिरहेको बेला प्रचण्डले पनि कांग्रेससँग आफूहरुलाई बहुमत सिट चाहियो भन्दै थप बार्गेनिङ गरेका छन् । 

उता माओवादीसँग पार्टी एकीकरण गर्ने भनेको एस पार्टीका नेताहरुले माओवादीका नेताहरु एमालेका नेतासँग उठबस गरिरहेको चाल पाएका बताएका छन् । 

एस पार्टीका नेताहरुले कांग्रेससँगको गठबन्धनलाई टुटाउन नहुने बताइरहेका बेला माओवादी नेताहरुले एसका नेताहरुलाई पनि थाहै नदिइ एमालेसँग उठबस गरेको भन्दै कांग्रेससँगको सहकार्यलाई कमजोर बनाउन लागेको आशंका गरेका छन् । 

एमालेले गठबन्धन को सँग हुन्छ भनेर सडकमा भन्दै हल्ला गर्दै हिड्ने विषय नभएकाले यसलाई गोप्य राख्नुपर्ने बताएको छ । 

उता सत्तारुढ गठबन्धनको बैठक सरेको छ । गठबन्धनबीच सिट बाँडफाँटका लागि बुधबार बस्ने भनिएको बैठक बिहीबार बिहान ९ बजे बस्ने गरी सारिएको हो । ‘सीट बाँडफाँटमा कुरा नमिलेसम्म बैठक बस्नुको औचित्य छैन । यो शीर्ष नेताहरुको तहबाटै टुंग्याउनुपर्छ’, सीटबाँडफाँड कार्यदलमा रहेका एक सदस्यले भने । 

ती सदस्यका अनुसार सबै दल आ–आफ्नै अडानमा रहेका कारण अहिलेसम्म बैठक मात्रै बसेको तर कार्य विभाजन र सिट बाँडफाँट हुन सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ