arrow

‘छोरी’ काखी च्यापेर जनप्रतिनिधिसँग गुहार– प्लिज मेरी छोरीलाई बचाइदिनुस् 

logo
प्रकाशचन्द्र भट्ट, 
प्रकाशित २०७९ भदौ १२ आइतबार
balanced-diet-program.jpg

दार्चुला । महाकाली नगरपालिकाले आइतबारदेखि संचालन गरेको एकीकृत स्वास्थ्य तथा पोषण सम्बन्धी दुई दिने कार्यशाला गोष्ठीमा एउटा रोचक दृश्य देखियो । त्यो थियो, एक जना प्रस्तुतिकर्ताले छोरी (खेलौना) काखी च्यापी मेरी छोरी बचाइदिनुस् मेयर साहेब ! उपमेयर साहेब ! वडाध्यक्ष ज्यू ! भनेर गुहार मागेको । कार्यक्रमबारे प्रस्तुति गर्ने प्रस्तुतिकर्ता सुआहारा दोस्रोका कार्यक्रम संयोजक वीरबहादुर बोहराले छोरीजस्तै खेलौना काखी च्यापी मन्चमा ल्याएका थिए ।

शुरुमै उनले कार्यक्रमको अध्यक्षता ग्रहण गरेका नगरपालिका मेयर, उपस्थित उपमेयर र ९ वटै वडाका वडा अध्यक्षहरुलाई मेरी छोरीको लागि बजेट विनियोजन गरिदिनुस् भने । उनले भन्दै गए– म मेरी छोरीलाई बचाउन चाहन्छु, छोरीको जीवन रक्षाका लागि योजना ल्याइदिनुस्, मेरी छोरीलाई झाडापाखाला लाग्नबाट बचाइदिनुस्, कुपोषित हुनबाट बचाइदिनुस्, सस्कार सिकाइदिनुस्, घोषणापत्र कार्यान्वयन गरिदिनुस्, प्लिज मेयर साहेब ! उपमेयर साहेब ! वडाध्यक्ष ज्यू ! मेरी छोरी बचाइदिनुस् । कार्यक्रमका अतिथि जनप्रतिनिधिहरु पनि उनलाई सुन्न थाले र डायरीमा टिपोट गर्न थाले ।

उनले भन्नुको आशय थियो–‘विशेष गरि बालबालिकाको शुरूआती वर्षहरुमा पोषणमा गरिने लगानीले उनीहरू, उनीहरूका परिवार र समग्र समुदायलाई नै दीर्घकालीन प्रतिफल दिन्छ ।’ यसै बीचमा उनले भनिरहेका थिए, मेरी छोरीलाई एसईईमा तीन दशमलव ८ जीपीए ल्याउने बनाइदिनुस् । यसको मतलब राम्रो सुविधासम्पन्न विद्यालयमा पठाएर होइन उसको पोषणमा ध्यान दिई मेघावी बनाइदिनुस् भन्ने हो । जसको लागि जनप्रतिनिधिहरुलाई बालबालिका त्यसमा पनि हजार दिने बालबालिकाहरुका लागि योजना, कार्यक्रम र बजेटको व्यवस्थापन गरिदिनुस भन्ने सुझाव थियो । 

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ ले जन्मेदेखि २ वर्षसम्मको बालमृत्युदर बढी भएको जनाएको छ । त्यस्तै नेपालमा बालबालिकाहरुको पोषणस्थितिमा अझै पनि उल्लेख्य सुधार नआएको देखाएको छ । 

जसमा पुड्केपना, ख्याउटे, बालमृत्युदर आदि पोषणको कमिले देखिएको छ । कार्यशाला गोष्ठीमा जनप्रतिनिधिहरुलाई घरमा करेसाबारी, बाह्रै महिना तरकारी भन्ने नारासहित कार्यक्रम लागू गरिदिन अनुरोध गरिएको छ । त्यस्तै एक गाउँ एक उत्पादन, दूग्धजन्य र पशुजन्य खाना, स्थानीय अन्नजस्ता स्वास्थ्य र पोषणको क्षेत्रमा सहयोग पुर्याउने कार्यक्रम तथा योजना ल्याउन सुझाइएको छ । 

कार्यक्रममा बालबालिकाको पोषणमा सुधार, स्वच्छ र मापदण्डनुसार खानाका साथै सरसफाइमा ध्यान दिन सकारात्मक सोचको विकासका लागि प्रतिवद्धता जनाउनु पर्नेमा जोड दिइएको छ । बालबालिकाको स्वास्थ्य, पोषण र दीगो विकासका लक्ष्य हासिलका लागि सोमबार प्रतिवद्धतामा हस्ताक्षर गर्ने कार्यक्रम छ ।
महाकाली नगरपालिकाको आयोजनामा दीगोपना सुनिश्चितता र सुआहारा दोस्रो कार्यक्रमको सिकाई आदानप्रदान सम्बन्धी संचालित कार्यशाला गोष्ठी दुई दिन चल्नेछ । 

गोष्ठीमा स्थानीय जनप्रतिनिधि, नगरपालिकास्थितका सम्पूर्ण स्वास्थ्य संस्थाका प्रमुख एवं प्रतिनिधि यस्तै सुआहारा, सीआरडीएसका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ