arrow

ठेकेदार हराएको बुटवलको मुख्य सडक

logo
नारायण वली,
प्रकाशित २०७९ भदौ २५ शनिबार
phot.jpg

रुपन्देही । विभिन्न विषयका बखेडाले शुरुदेखि नै अधोगतिमा चल्दै आएको बुटवलको राजमार्ग चौराह–गोलपार्क सडकखण्डलाई ६ लेनमा विस्तार गर्ने कार्य लामो समयसम्म पनि सम्पन्न हुन सकेको छैन । हालसम्म नाली बनाउने, पोल सार्ने लगायतका काम भएपनि अझै केही ठाउँहरुमा खानेपानीका पाइप, विद्युत पोल हटाउन बाँकी नै छ । 

लामो समयसम्म उक्त सडक नबन्दा स्थानीय एवं पूर्वपश्चिम राजमार्ग भएर सवार गर्ने सर्वसाधारणलाई असहज भएको छ भने पछिल्लो समय अस्पताल लाइनदेखि ट्राफिक चोकसम्म सडक अधकल्चो हुँदा सञ्चालनमा आएको एकतर्फी सडकमा दिनहुँ ट्राफिक जाम हुने र दुर्घटनाको उच्च जोखिम बढेको छ । 

न बनाउने न ठेकेदारले छोड्ने कार्यले जीर्ण बन्दै गएको बुटवलको सडकले बुटवलबासी र व्यवसायीहरुलाई निकै समस्या भएको । गत असार ३० गते दोस्रो पटक म्याद सकिएको र तेस्रो पटक थप्ने अथवा के गर्ने सम्बन्धमा अल्झिएको विषयलाई गत बैशाख ३० को निर्वाचनपछि बुटवलको नगरप्रमुख बनेका खेलराज पाण्डेले गत साउन २३ गते उपमहानगरमा काम नगरेर पन्छिदै आएको द कञ्चनजंघा बिरुवा जेभी निर्माण कम्पनीका प्रतिनिधि सुवित श्रेष्ठलाई उपस्थित गराएर सर्वपक्षीय भेलामा सडक नबन्नु कारण सोधियो र सोही दिनदेखि शुरु हुने गरी ठेकेदारले एक महिना समय दिन आग्रह गर्दै महिना दिनभित्र कालोपत्रे गरेर सकाउने प्रतिवद्धता पनि भदौ २३ गते सकिएको छ । 

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–बेलहिया सडकखण्ड विस्तारका लागि द कञ्चनजंघा बिरुवा जेभी निर्माण कम्पनीले २०७३ साल चैत २७ गते राजमार्ग चौराहदेखि बेलहियासम्म चार लेन र चौराहदेखि गोलपार्कसम्म ६ लेन सडक विस्तार गर्ने ठेक्का सम्झौता भयो । सम्झौता अनुसार २०७६ असोज १२ गते काम सक्नुपर्ने समयसीमा ठेक्का प्रक्रियामा स्पष्ट रुपमा तोकियो । तर शुरुमा सडक क्षेत्राधिकार मिचेर घर बनाएकाहरुले भौतिक संरचना समयमै नहटाएर विस्तार कार्यमा अवरोध गरेपछि काम रोकियो । 

घरधनीहरुले सडक विस्तार रोक्न माग गर्दै अदालतमा मुद्धासमेत दायर गरे । रोकिएको सडक विस्तारको काम अघि बढाउन अदालतको फैसला आएपछि काम अघि बढ्यो । असोज २०७६ मा पहिलो समयावधि सकिएपछि २०७९ असारसम्म म्याद थपिएको थियो ।

पहिले विभिन्न विषयले निकास नपाएको सडक पछि निर्माण कम्पनीकै लापरबाहीले गर्दा काम अघि बढ्न नसकेको सरोकारवालाहरुको दाबी छ ।

निर्माण कम्पनी द कञ्जनजंघा–बिरुवा जेभीले सडक विस्तारको जिम्मेवारी पाएपनि सो ठेकेदार कम्पनीले निर्धारित समयावधि भित्रै सडक निर्माण सक्ने प्रतिबद्धता जनाएको भए पनि तर प्रतिबद्धता अनुसार काम नगर्दा उक्त सडकको अवस्था अहिले निकै जोखिम र जीर्ण बनेको छ । सडक विस्तारको म्याद गतअसार मसान्तमा सकिएको छ । 

सार्वजनिक खरिद ऐनको नियमावलीको १२ औं संशोधन भएर आएकाले उक्त संशोधनले लापरबाही गर्दै आएको निर्माण कम्पनीलाई म्याद थप्न बाटो खुले पनि सडक डिभिजन कार्यालय बुटवलले भने यथेष्ट विश्वसनट्यठ लिखित जवाफ नआएसम्म म्याद नथपिने भन्दै म्याद गर्न नमानेको बताइएको छ ।

व्यापारीहरु विस्थापितः
सडक विस्तारमा भइरहेको ढिलासुस्तीले बुटवलको व्यापार व्यवसाय अस्तव्यस्त बनेको छ । बुटवलमा आवागमन सहज नहुँदा महङ्गो घरवहाल तिरेर व्यवसाय गरेका व्यवसायीहरु निराश बन्न पुगेका छन् । कतिपय व्यवसायीहरुले पसल बन्द गरेर अन्य व्यवसायमा लागेको पाइएको छ भने कतिपय व्यापारीहरु मणिग्रामतिर सार्न बाध्य भएको बुटवल उद्योग वाणिज्य संघ बुटवलले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ