- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । लमही नगरपालिका वडा न–४ बर्का घुम्नाका प्रकाश चौधरी यतिबेला निकै चिन्तित छन् । स्वदेशमै लगानी गरेर, स्वदेशमै परिश्रम गरी आर्थिक उन्नतिको पाटोलाई जोड्न खोजेका प्रकाश अहिले निराश बन्न पुगेका छन् । झण्डै ६ महिना भन्दा अगाडिदेखि आफूले व्यावसायिक रुपमा पाल्दै आएका बंगुरका पाठापाठीहरु बिक्न छोडेपछि उनी बंगुरका पाठा कसरी र कहिलेसम्म पाल्ने भन्ने चिन्तामा छन् ।
“हमार बंगुर तथा पशुपंक्षी पालन” नामक फर्म खोलेका किसान चौधरीको फर्ममा ३० वटा पाठापाठी छन् । पछिल्लो समय बंगुरको बजारीकरण ठप्प जस्तै भएको र ती पाठापाठीहरुले दैनिक प्रति बंगुर दिनमा ३ किलो दाना खाने भएकाले तीस वटाको खर्च दैनिक ३ हजारभन्दा बढी रहेको किसान प्रकाशको भनाइ छ ।
उनले भने, पहिले हाम्रा पुर्खाहरुले २÷४ वटा पाल्थे, पुख्र्यौली घरपालन भएकाले अलि फरक तरिकाले ठूलो परिणाममा व्यावसायिक रुपमा पालन गर्नुप–यो भनेर थाले, बिक्रि पनि पहिले राम्रै थियो । माग थियो । आत्ममनोबल बढ्दै गएको थियो । तर, अहिले त आफ्नै व्यावसाय देखेर आफैलाई इच्छाशक्ति हराउँदै गएको छ ।
लामो समयसम्म पाठापाठी बिक्री नभएपछि लमही नगरपालिकाले नगरभित्र व्यावसायिक रुपमा कोहीकसैले पालेका बंगुर बिक्री नभएको अवस्थामा भने, नगरपालिकासँग समन्वय गरेमा बिक्रि गर्नका लागि सहजीकरण गरिदिने भन्ने सुनेका चौधरीले नगरपालिकाको पशु सेवा उपशाखा कार्यालयका प्रतिनिधिलाई अनौपचारिक रुपमा जानकारी गराएपनि तर त्यहाँबाट दिईने हरेक अनुदान देखि अन्य सहयोग सम्मका कार्यक्रमवारे आफु बेखबर हुँदै आएको गुनासो गरे । बिक्रिमा सहजीकरण गर्ने कुरापनि खाली फगत मात्रै रहेछ, उनले भने ।
चौधरी जस्ता पीडित अन्य व्यक्तिहरु प्नि रहेको पाईएको छ । सोही ठाउँमा बैंकको जागिर खाँदै गर्दा उक्त व्यावसायमा हात हालेका एक बैंक कर्मचारीले पनि सञ्चालन गरेको भएपनि लगानी डुबेपछि उनले छोडेको पाईएको छ, भने अर्का नेपाल आर्मीको जागिरबाट (रिटायर्ड) भएर बंगुर पालन व्यावसायलाई सरकारी जागिरेपछि जोड्न खोजेका एक पूर्व नेपाल आर्मीले ४५ हजार लगानी गरी सञ्चालन गरेको फर्म १ बर्षपछि ५० हजारमा बेचेर विस्थापित हुन पुगेको सम्म फेला परेको छ ।
यता लमही नगरपालिकाले भने पछिल्लो समय नगरभित्र बसेका नागरिकलाई आर्थिक क्षेत्रमा जोड्नको लागि नस्ल सुधार गरिएका बंगुरका पाठाहरु १७ जनालाई वितरण गरिएको नगरपालिका पशु सेवा शाखाका प्रमुख शिवराज न्यौपाने जनाएका छन् । उनका अनुसार नस्ल सुधार पाठा सम्बन्धित बंगुर पालन अनुसन्धान केन्द्रमा पाईने र जुन पाठाहरु शुद्ध हुने भएकाले उत्पादकत्व वढाउनलाई बंगुर अनुसन्धान कार्यक्रम पाख्रेबास धनकुटा र बंगुर अनुसन्धान केन्द्र सुनसरीबाट ल्याएर किसानहरुलाई वितरण गरिएको शाखा प्रमुख न्यौपानेले बताए । साथै उनले आफुलाई केहीकसैले पनि अनुदान तथा बिक्री गरिदिन भनेर नभनेको दाबी गरे ।
विपन्न समुदायको आयआर्जन बढाउनका लागि दाङको देउखुरी उपत्यकामा रहेको लमही नगरपालिकाले कृषि क्षेत्रमा प्रत्येक वर्ष दोब्बर लगानी थप गर्दै जाने उद्देश्य अनुरुप बंगुरका पाठा खरिद गर्ने कार्यलाई अगाडि बढाएपनि तर सो उद्देश्यले नगरभित्रै रहेका कयौं व्यावसायिक किसानहरुलाई समेट्न नसकेको गुनासो गरेका छन् ।
नगरपालिकाले बंगुर पालनको सम्भावना भएका वडाका विभिन्न स्थानहरुलाई पकेट क्षेत्र घोषणा गरी व्यावसायिक बंगुर पालनलाई अगाडि बढाउने लक्ष्य पुरा गर्न किसानहरुले उत्पादन गरेका पाठापाठीहरुलाई विक्रि गर्न नगरपालिकालाई पनि बजार नभएकाले सकस भएको वताईएको छ । घोषणा गरिएका पकेट क्षेत्रहरुमा बंगुरका पाठा वितरण, कृषकहरुलाई आवश्यक तालिम तथा औषधी उपचारका लागि सहयोग गर्ने र विशेषगरी व्यावसायिकतामा जोड दिँदै पकेट क्षेत्र बनाउन लागिए पनि स्थानीय व्यावसायिक फर्ममा उत्पादन भएका उन्नत जातका पाठाहरुले बजार नपाएपछि किसानहरु निराश वन्दै गएको जनाईएको छ ।
किसानहरुले नगरपालिकाले वितरण गर्ने अनुदान, उत्पादित पाठा तथा मासुका लागि बजारीकरणको व्यवस्था मिलाउने वताएपनि व्यावसायिक रुपमा बंगुर पालन गर्दै आएकाहरुले भने, आफुहरुले हाहलसम्म कुनैपनि सहयोग नपाएको वताए । उनीहरु भन्छन्, नगरपालिका, घरेलु लगायतका कार्यालयमा दर्ता गरेर हरेक वर्ष राजस्व बुझाउँछौं, तर सेवा सुबिधा पाएको छैनौं । लमही नगरपालिका पशु सेवा उपशाखा कार्यालयले दिएको जानकारीअनुसार गत आर्थिक वर्ष ०७८–०७९को स्वीकृत कार्यक्रम अनुसार नगरभित्र व्यावसायिक रुपमा बंगुरपालन कृषकहरुलाई उन्नत जातका बंगुरको पाठा वितरण गरिएको जनाएको छ ।