- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पाँच वर्षपछि आम निर्वाचन हाम्रो सामुन्नेमा छ । राजनीतिक दलहरू उम्मेदवार चयनमा जुटेका छन् । नवलपरासी (पश्चिम) निर्वाचन क्षेत्र नम्बर १ को मतदाता र एक सचेत नागरिकको हैसियतले व्यक्तिगत चासो आफ्नै निर्वाचन क्षेत्रप्रति छ । र, बितेका कयौं वर्षहरूमा जस्तै यसपटक पनि यहाँका मतदाताको भाग्यमाथि खेलबाड नगरियोस् भन्नका लागि स्तम्भकारको जस्तै चासो धेरैभन्दा धेरै मतदाताको हुनुपर्छ भन्ने आग्रह पनि छ । किनभने यो क्षेत्र सारा बाहिरी दुनियाँका लागि सुगम छ, सम्पन्न छ ।
तर हाम्रा लागि भने बत्ती मुनिको अध्यारो भनेजस्तै छ । त्यसैले अब हामी सचेत बन्नैपर्छ । र, विगतमा यस क्षेत्रका नेताहरुले यहाँको आर्थिक विकास र सामाजिक परिवर्तनमा देखाएको उदासिनताको अन्त्य गर्ने अवसरका रुपमा यो निर्वाचनलाई प्रस्थान बिन्दु बनाउनु परेको छ ।
नवलपरासीलाई स्पष्ट रुपमा तीन वटा पक्षमा ठोस काम गर्न सक्ने नेता चाहिएको छ । पहिलो यस क्षेत्रका आर्थिक विकासका सम्भावनाहरुलाई यथार्थतामा परिणत गर्ने । दोस्रो, यहाँको समाजको विकासलाई अर्को तहमा पुर्याउने । तेस्रो यस जिल्लालाई देशकै नमूना जिल्लामा परिणत गर्ने र राष्ट्रिय स्तरमा यस जिल्लाको वासिन्दाका रुपमा आफूलाई चिनाउन पाउँदा गर्वको अनुभूति हुने ।
के आजसम्मको राजनीतिले हामीलाई यी कुरा दिन सक्यो ? यहाँबाट निर्वाचित नेताहरूले यस दिशामा काम गर्न सक्नुभयो ? उत्तर आउछ– सक्नु भएन । के त्यसो भए हामी जहिल्यै बत्तीमुनिको अध्यारोमै बसिरहने ? वा गरेर देखाउन सक्ने नेतालाई जिम्मेवारी सुम्पिने ? यस क्षेत्रका दाजुभाई दिदीबहिनीहरूलाई आग्रह छ– हामीले सही नेता छान्नु परेको छ । सही नेतृत्व पायौँ भने नवलपरासीलाई देशकै नमूना जिल्लामा परिणत गर्न सकिनेछ ।
यस पृष्ठभूमिमा नेपाली कांग्रेसले नवलपरासी (पश्चिम) क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं ख्यातिप्राप्त उद्यमी विनोद चौधरीलाई प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बनाउन सिफारिस गरेको छ । यो निर्णयले पक्कै पनि हामी मतदाताहरु उत्साही छौँ । यस क्षेत्रका जनताको ठूलो पंक्ति यस क्षेत्रबाट विनोद चौधरी उम्मेदवार हुनुपर्छ भन्ने पक्षमा छ ।
विनोद चौधरीको उम्मेदवारी निर्वाचन जित्नका लागि मात्रै होइन यहाँको आर्थिक सामाजिक विकासका लागि पनि अपरिहार्य छ भन्ने मान्यताका साथ आम मतदाताहरु उनको पक्षमा ओर्लिएका छन् । नेपाली कांग्रेसमा कटिवद्ध मतदाताहरू स्वभाविक रुपमा विनोद चौधरीको उम्मेदवारी सिफारिसबाट उत्साही छन् भने त्योभन्दा महत्वपूर्ण कुरा अन्य राजनीतिक पार्टीमा आस्था राख्ने मतदाताहरू पनि चौधरी यस निर्वाचन क्षेत्रमा आउन् भन्ने चाहना राख्छन् ।
विनोद चौधरीप्रति उनीहरु सबैको सद्भाव यसकारण रहेको छ की उनी यहाँबाट जनप्रतिनिधि बने भने यस क्षेत्रमा विकासको ज्योती बाल्नेछन् । देशको मध्य क्षेत्र, पूर्व–पश्चिम सडकको सामिप्यता, कृषिका लागि उर्वर भूमि, औद्योगिक क्षेत्र निर्माण गर्न सकिने वातावरण, भारतसँगको बोर्डर लगायतका विकासका आधारहरु रहेको भएता पनि यो निर्वाचन क्षेत्र आर्थिक र सामाजिक विकासका दृष्टिकोणले अहिले निकै पछाडि परेको छ । यहाँको राजनीतिलाई नै यसरी विकृत बनाइएको छ कि केही व्यक्तिहरूले ‘सिन्डिकेट’ खडा गर्ने, चुनाव जित्ने र विकासको मामिलालाई अलपत्र छाडिदिने गर्दै आएका छन् ।
भनिन्छ, राणाहरुले जनताका छोराछोरीले पढ्न पाए भने आफ्नो सत्ता टिकाउन गाह्रो हुन्छ भनेर उनीहरुलाई शिक्षाबाट बन्चित गरेका थिए रे । त्यसैगरी नवलपरासी १ बाट निर्वाचित नेताहरूले यहाँ विकास गर्यो भने आफ्नो राजनीति धरापमा पर्छ भनेर यस क्षेत्रलाई अन्धकारमा राख्ने काम गरिरहेका हुन् कि जस्तो देखिन्छ ।
हिजोसम्म एउटै पार्टीका भएर पनि एकले अर्कोलाई हराउने राजनीति गरेका, विकासलाई बन्धक बनाएका स्थानीय नेताहरू आफ्नो व्यक्तिगत स्वार्थका लागि विनोद चौधरीको विरूद्धमा जुटेका जस्ता देखिन्छन् । अँध्यारो कुनामा बसेर उनीहरूले विनोद चौधरीका विरुद्ध सामाजिक सञ्जालको दुरूपयोग गर्न थालेका छन् ।
के उनीहरूमध्ये कसैले पनि भन्न सक्छ– यो निर्वाचन क्षेत्रमा विनोद चौधरीभन्दा योग्य उम्मेदवार अरु कोही छ ? विनोद चौधरी यस निर्वाचन क्षेत्रमा आउदा यहाँका जनताले के गुमाउँछन् ? यस क्षेत्रले के गुमाउँछ ? पक्कै पनि गुटबन्दीको राजनीतिमा जीवन बिताएका एक व्यक्तिले सांसद पद नपाउलान् तर उनीहरूले भन्न सक्छन् उनीभन्दा अयोग्य विनोद चौधरी हुन् ?
के आजसम्म यस क्षेत्रको विकास गरेर देखाउन उनीहरूलाई विनोद चौधरीले रोकेका थिए ? जनताको प्रतिनिधि बनेर यहाँको आर्थिक विकासमा योगदान गर्न सकेको भए यहाँका जनताको दुःखसुखमा सहभागी बन्न सकेको भए के यहाँका जनताले विनोद चौधरीलाई चुनाव लड्न आउ भनेर बोलाउनुपथ्र्यो ?
भनिन्छ नि बाँदरले आफ्नो घर पनि बनाउँदैन र अरुलाई पनि बनाउन दिँदैन । के उनीहरुको चरित्र पनि यस्तै भएन र ? यहाँका जनताले अयोग्य नेताका कारण कहिलेसम्म सास्ती भोगिरहने ? के यहाँका जनतालाई विकासको उज्यालो प्राप्त गर्ने हक छैन ? के उनीहरुलाई आफ्ना छोराछोरीलाई राम्रो स्कूलमा पढाउने, स्थानीयस्तरमै राम्रो अस्पतालमा उपचार गर्न पाउने अधिकार छैन ? आफ्नै घरमा बसेर रोजगारी पाउने अधिकार छैन ?
विनोद चौधरी यस क्षेत्रमा आउने सम्भावना बढिरहँदा राजनीतिको एउटा तप्का निकै छट्पटाएको छ । र, हतास मनस्थितिमा पुगेको छ । यसको अर्थ के हो ? स्थानीय जनता विनोद चौधरीलाई स्वागत गर्न उत्साही भइरहँदा केही मानिसहरु जसरी पनि विनोद चौधरीलाई रोक्नुपर्छ भन्ने मानसिकताका साथ किन प्रस्तुत भइरहेका छन् ?
यदि उनीहरु यस क्षेत्रमा पार्टीलाई बलियो, लोकप्रिय र जनताको पक्षमा काम गर्ने पार्टीका रुपमा स्थापित गर्न चाहन्छन् भने विनोद चौधरी आउँदा नै यी सबै काम सफल हुनेछन् । विनोद चौधरीको इतिहास के हो भने उनी जुन कुरामा लाग्छन् त्यसलाई सफल बनाएरै छाड्छन् । अहिले उनी राजनीतिमार्फत देशको विकासमा योगदान गर्छु भनेर होमिएका छन् ।
यस्तो नेतालाई आफ्नो निर्वाचन क्षेत्रमा स्वागत गर्न पाउनु भनेको खुशीको कुरा हो । किनभने उनी जुन निर्वाचन क्षेत्रबाट विजयी हुन्छन् पक्कै पनि त्यो क्षेत्रले विकासको प्रतिफल धेरै पाउनेछ । उनले विकासको मोडल नै आफ्नो निर्वाचन क्षेत्रलाई बनाउन सक्छन् र त्यसलाई देशब्यापी बनाउने कोसिस गर्नेछन् ।
यस हिसाबले बर्दघाट, सुस्ता, त्रिवेणीले विकासको नयाँ अध्यायमा प्रवेश गर्ने अवसर पाउनेछ । त्यसको लाभ यहाँका मतदाताले पाउने छन् । विनोद चौधरी आज विश्वमा नेपालका एक्ला सफल उद्यमीका रुपमा चिनिन्छन् । नवलपरासी (हाल नवलपरासी बर्दघाट–सुस्ता पूर्व) बाट शुरु गरेको उनको व्यवसायिक यात्राले उनलाई यहाँसम्म पुर्याएको हो ।
विनोदको नवलपरासीप्रतिको प्रेम पनि यसकै कारणले हो । जुन ठाउँले उनलाई विश्वमा चिनायो विनोद त्यो ठाउँको विकासका लागि आफूलाई समर्पित गर्न चाहन्छन् । उनी नवलपरासीमै हुर्के र नवलपरासीमै उद्यम व्यवसाय मात्र होइन शाश्वतधाम जस्तो अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त सम्पदा निर्माण गरेर ख्याती फैलाए ।
विनोद समग्र नवलपरासीलाई आफ्नो घर सम्झिन्छन् । र, यसको विकासमा आफूलाई समर्पित गर्न चाहन्छन् । विनोद चौधरीको कुनै पनि व्यक्ति विशेषप्रति न आग्रह देखिन्छ न त पूर्वाग्रह नै । तर नवलपरासीको विकासका समस्या जहाँको त्यहीँ रहँदा उनको मन उद्वेलित भएको हामीले महसुस गरेका छौँ । उनी एक विकासप्रेमी नेता हुन् र उनको मुख्य ध्यान नेपालमा कसरी विकास गर्न सकिन्छ भन्नेमा केन्द्रित छ ।
विनोद नवलपरासीलाई देशकै नमूना जिल्लामा परिणत गर्न सकियोस् भन्ने चाहना राख्छन् । र, आगामी पाँच वर्षमा यो काम गरेर देखाउन सक्ने हैसियत भएका नेता उनी मात्रै हुन् । विनोद चौधरीलाई रोक्न चाहने कोही नेताले के यो हैसियत राख्छन् ? यदि राख्छन् भने उनीहरुले सामाजिक सञ्जालमा विनोद चौधरीको विरूद्ध अनर्गल प्रचार गर्नुको सट्टा आफूले आजसम्म के गरेँ र अब के गर्न सक्छु भनेर किन भन्न सकिरहेका छैनन् ?
अध्यारोमा बसेर विनोद चौधरीविरूद्ध अफबाह फैलाउन खोज्नेहरूले मुकुण्डो उघारेर आफूलाई विनोद चौधरीभन्दा योग्य हुँ भन्न सक्ने हिम्मत छ ? यस निर्वाचन क्षेत्रसँग सम्बन्धित धेरै संवेदनशिल प्रश्नहरू छन् । आजसम्म निर्वाचित नेताले सुस्ताका चार गाउँका हजारौं बाढीपीडितको व्यवस्थापन किन गर्न सकेनन् ? गण्डक परियोजनामा १५ मेगावाट बिजुली उत्पादन गरेर त्यसको लाभ स्थानीयले पाउन सक्थे तर आज किन बन्द अवस्थामा पुगेको छ ?
आफूलाई यस क्षेत्रका राजनीतिक ठेकेदार हौँ भन्नेहरुले यत्ति पनि किन गर्न सकेनन् ? यो निर्वाचन क्षेत्र बिहार र उत्तर प्रदेशको सीमानाकासँग जोडिन्छ । यसलाई नेपाल भारतबीचको व्यवस्थित व्यापारिक नाका बनाउन सकिन्थ्यो । यो नाकालाई विकास गर्न सकेको भए यहाँ ड्राइपोर्ट बन्न सक्थ्यो । इन्ट्रिग्रेट्ड कस्टम प्वाईन्ट (आईसीपी) बनाउन सकिन्थ्यो ।
यहाँसँग जोडेर व्यवस्थित सडक बन्न सक्थ्यो । यति हुन सकेको भए त्रिवेणी, सुस्ता, बर्दघाटको आजको स्वरुप नै भैरहवा बुटवलको तहमा पुगेको हुने थियो । तर आजसम्म किन कसैले यो काम गर्न त के सोच्नसम्म सकेन ? हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र त्रिवेणीलाई सनातन धर्मको केन्द्रका रुपमा विकसित गर्न सकिन्थ्यो । धार्मिक पर्यटनको ठूलो केन्द्र बनाउन सकिन्थ्यो यो ठाउँलाई । यहाँ राम्रा पर्यटकीय होटलहरू बन्न सक्थे ।
नेपालगञ्जमा, धनगढीमा, सिमरामा राम्रा होटलहरु खुलिरहेका छन् । बुटवल, भैरहवामा खुलिरहेका छन् भने यहाँ किन एउटा गेष्ट हाउससम्म पनि बन्न सकेन ? यसको जवाफ यहाँका राजनीतिक ठेकेदारहरुले दिनु पर्छ कि पर्दैन ? आज त्रिवेणीधामको दर्शन गर्न, गण्डकी नुहाउन पनि तीर्थालुहरू त्यहाँ पुग्न सक्ने अवस्था छैन । राम्रो सडक छैन । एउटा राम्रो घाटको व्यवस्था छैन । यति सोच्ने नेता यो क्षेत्रले अहिलेसम्म किन पाएन ?
यो ठाउँ औद्योगिक विकासका लागि उपयुक्त छ । देशको मध्य भागमा छ । नेपाल भारत बोर्डर यहीँ छ । तर किन यहाँ एउटा पनि राम्रो उद्योग खुल्न सकेन ? अहिलेसम्म कसैले यहाँ एउटा उद्योग खुलाउने कोसिस गर्यो ? यहाँका जनतालाई रोजगारी दिलाउने प्रयाससम्म गर्यो ? यहाँको जनताको आर्थिक अवस्था कमजोर हुनुमा यस क्षेत्रले राम्रो नेता नपाउनु नै हो ।
राम्रो नेता पाएको भए यो क्षेत्र औद्योगिक क्षेत्रका रुपमा विकासित हुने सम्भावना उत्तिकै थियो । तर यसको विपरीत विदेशी सहायतामा खुलेको लुम्बिनी चिनी कारखाना समेत बन्द हुने अवस्थामा पुर्याइयो । यहाँका किसानले उखु खेतीबाट गरेको आम्दानी सुक्यो । उखु किसानका मर्का सुनिदिने कोही भएन । यहाँ केरा उत्पादनको उत्तिकै सम्भावना छ । केरा खेतीसँगै ‘बनाना बेस्ड चिप्स’ लगायतका धेरै उद्योगहरु खुल्न सक्ने सम्भावना छ । तर यत्ति पनि किन हुन सकेन ? विनोद चौधरीलाई यहाँ आउन रोक्न खोज्नेहरूले के यसको जवाफ दिन सक्छन् ?
यहाँका जनताले यही बेलामा सोध्नुपर्छ– उनीहरुका यी अवसरमाथि किन खेलबाड गरियो ? यति धेरै अवसर हुँदाहुँदै पनि किन ती अवसरहरूबाट जनतालाई बन्चित गराइयो ? यी अवसरबाट बन्चित हुनु भनेको जनताका असीमित अधिकार र अवसरहरूको ढोका बन्द गरिदिनु हो । के अब पनि यस्तै राजनीतिका लागि राजनीति गर्ने, चुनावका बेला जनतालाई लोभलालचमा पार्ने र त्यसपछि आफ्नो व्यक्तिगत स्वार्थमा रमाउने नेतालाई यहाँका जनताले साथ दिन्छन् भनेर सोचिएको हो ? के अझै पनि जनतालाई मुर्ख सम्झिने प्रवृत्ति बाँकी नै छ ?
यहाँका जनता विकासको पक्षमा छन् । र, विकासलाई केन्द्रमा राख्ने नेताको पक्षमा छन् । विनोद चौधरी जस्तो नेतृत्व पाएमा यो क्षेत्र पाँच वर्षमा भैरहवा–बुटवल जस्तै चम्किने दिशामा अग्रसर हुनेछ । तर यसपटक पनि उही पुरानै प्रवृत्तिको राजनीतिलाई प्रश्रय दिने हो भने यो क्षेत्र बत्ती मुनि अँध्यारोकै स्वरुपमा रहिरहने छ । यस विषयमा राजनीतिक दलका शीर्षस्थ नेताहरूले ध्यान पुर्याउनुपर्छ । क्षेत्रीय तहका नेताहरूले ध्यान पुर्याउनुपर्छ । र, स्थानीय युवाहरू सबैभन्दा जागरुक हुनुपर्छ । किनभने कसैले उनीहरुको भाग्यमाथि फेरि पनि खेलबाड गर्ने कोसिस गरिरहेको छ । (नवलपरासी (पश्चिम) क्षेत्र नम्बर १ का मतदाता थापा नेपाल प्रहरीका पूर्व एसपी हुन् ।)