- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले बिहीबारदेखि मोबाइल सेटहरुमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम एमडीएमएस शुरु गरेको छ । केही वर्षको प्रयासपछि प्राधिकरणले मोबाइलमा एमडीएमएस प्रणालीको शुरुआत गरेको हो ।
यसको प्रमुख उद्धेश्य नेपालमा चोरी पैठारी तथा अवैध रुपमा भित्रिने मोबाइल सेटहरुको आयात रोक्नु हो । प्रणाली अनुसार अबदेखि नेपालमा भित्रिने सबै मोबाइल अनिवार्य दर्ता गर्नुपर्नेछ । यदि दर्ता नभएको खण्डमा ती मोबाइल सेट नेपालमा नचल्ने प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले बताएका छन् ।
उनी भन्छन्, ‘हामीले प्रयोग गर्ने मोबाइल हाम्रो लिष्टमा हुनुपर्यो भन्ने हो । प्राधिकरणमा दर्ता भएरमात्र चल्नुपर्यो ।’
यसले मोबाइलबाट हुँदै आएको आपराधिक गतिविधिमा पनि कमी आउने विश्वास गरिएको छ ।
मिश्रका अनुसार यो प्रणाली लागू हुनुभन्दा अघिका मोबाइल स्वतः चल्नेछन् । अबदेखि भने सबै मोबाइल दर्ता गर्नेपर्ने हुन्छ ।
ग्राहकले किन्दा पनि अब प्राधिकरणमा दर्ता भएको मोबाइलमात्र किन्नुपर्ने व्यवस्था भएपछि मोबाइलको ‘ग्रे मार्केट’ बन्द हुने अपेक्षा गरिएको छ । सहायक प्रवक्ता मिश्र पनि यसमा विश्वस्त छन् । उनले ग्रेमार्केटलाई निरुत्साहित गर्नेबारे हेर्दै जानुपर्ने बताएका छन् ।
के हुन्छ विदेशबाट आएका गिफ्टमा ?
सबैभन्दा तनाव विदेशबाट आएका गिफ्ट मोबाइलको चिन्ता हुने गरेको छ । विदेशबाट रेमिट्यान्स भित्र्याएर खुशी भएको देशमा तिनै नेपालीले आफन्तका लागि पठाएका मोबाइल कतै अवैध हुने त हैनन् भन्ने भय जनमानसमा छ ।
यसबारे स्पष्ट पार्दै सहायक प्रवक्ता मिश्र भन्छन्, ‘त्यस्ता मोबाइल हामीले दर्ता गर्छौं ।’
नेपालमै किन्दा भने प्रणालीमा दर्ता भए नभएको यकिन गरेर मात्रै खरिद गर्न प्राधिकरणले सूचना नै जारी गरेको छ ।