arrow

नमूना गाडी देखाउन प्रतिस्पर्धामा भाग लिँदै केयूका विद्यार्थी, सहयोग गर्न आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ६ बिहिबार
ku-student-2.0-junkiri-gadi.jpg

काठमाडौं । काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरु एक अन्तर्राष्ट्रिय हाइस्कुल एवं विश्वविद्यालय स्तरीय प्रतिस्पर्धामा सहभागी हुन इन्डोनेसिया जाने भएका छन् ।

प्रायः प्रत्येक वर्ष विभिन्न देशका शहरहरुमा आयोजना हुने 'शेल इको म्याराथन' मा विभिन्न देशका विश्वविद्यालयका विद्यार्थीहरुले आफ्नो इन्नोभेसन क्षमता अनुसारको गाडीको प्रोटोटाइप (नमूना) प्रदर्शन गर्ने गर्छन् ।

शेल इको-म्याराथन ऊर्जा अनुकूलनमा केन्द्रित विश्वको अग्रणी विद्यार्थी ईन्जिनियरिङ् प्रतियोगिताहरू मध्ये एक हो। सन् १९३९ मा बेलायती बहुर्राष्ट्रिय तेल र ग्यास कम्पनी 'शेल पीएलसी'का निर्देशकले अघि सारेको अवधारणा अनुरुप यो प्रतिस्पर्धा शेल इको म्याराथन सुरू भएकाे थियाे ।

विश्व जलवायु परिवर्तनको चपेटमा पर्दै जाँदा प्रमुख जिम्मेवार जिवाश्म इन्धनकै कम्पनीले कम इन्धन (तेल) मा धेरै लामो यात्रा तय गर्न सक्ने गाडी बनाउन सक्नेहरुलाई यस म्याराथन अन्तर्गतबाट पुरस्कृत गर्दै रकम प्रदान गर्ने गर्छन् ।

यसमा सहभागी विद्यार्थीहरुलाई विभिन्न राम्रो कम्पनीहरुमा रोजगारी र इन्टर्नशिपको अवसर मिल्ने सम्भावना हुन्छ भने राम्रो गाडीको प्रोटोटाइप भएको खण्डमा त्यसलाई राम्रो गाडी निर्मता कम्पनीले प्रयोग गर्छ ।

यसअघि सन् २०१९ मा पनि काठमाडौं विश्वविद्यालय (केयू) का विद्यर्थाीहरुले आफुले बनाएको गाडीको नमूना लगेर मलेसिया भएको म्याराथनमा सहभागीता जनाएका थिए । त्यो प्रोटोटाइप गाडीलाई जुनकिरी नाम दिइएको थियो ।

अहिले सोही बेला निर्मीता प्रोटोटाइपको विकसित भर्सन जुनकिरी२.० लगेर केयुका विद्यार्थीहरुले इन्डोनेसियामा हुने प्रतिस्पर्धामा सहभागीता जनाउने भएका हुन् ।

सन् २०२१–२२ मा भएको भर्चुअल प्रतिस्पर्धामा नेपाल एसियामा यस्तो गाडी बनाउनेमा २० औं स्थानमा रहेको र विश्वभरमा ५० औं स्थानमा रहेका यसै टिममा सहभागी केयूका विद्यार्थी सुमन पाठकले हाम्राकुरलाई बताएका छन् ।

केयूमा मेकानिकल इन्जनियरिङ पढ्ने विद्यार्थीहरु यो प्रतिस्पर्धामा सहभागी हुन गइरहेका हुन् । यो गाडीले १ लिटर तेलबाट १५० किलोमिटर भन्दा बढी यात्रा तय गर्न सक्ने उनीहरुको दाबी छ ।

अक्टोबर १० मा इन्डोनेशियामा सहभागी हुन गाडीको प्रोटोटाइप मात्रै लैजान १२ हजार ४ सय अमेरिकी डलर करिब १६ लाख नेपाली रुपैयाँ लाग्ने टिमका विद्यार्थी सुमन पाठकको भनाइ छ ।

नेपाली विद्यार्थीहरुले आफ्नो इन्नोभेसनलाई विश्वव्यापी प्रतिस्पर्धाको प्लेटफर्ममा लगेर देखाउन मद्दत गर्नका लागि उनीहरुले आर्थिक सहयोगका लागि आग्रह गरेका छन् ।

यति धेरै रकम आफुहरु मात्रै र विश्वविद्यालयबाट जुटाउन नसकिने स्थिती भएको हुँदा उनीहरुले सहयोगका लागि आग्रह गरेका हुन् । थप जानकारीका लागि ९८४६७६६३१९ मा सम्पर्क गर्न पनि उनीहरुले आग्रह गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ