- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । पहाडी जिल्ला र तराईका केही जिल्लाहरुको बजार गर्ने थलो हो रुपन्देहीको बुटवल । व्यापारिक संगम थलोको रुपमा प्युठान, अर्घाखाँची, पाल्पा, गुल्मी र स्याङ्गजा लगायत पहाडी जिल्लाहरुको प्रमुख बजार मानिने बुटवल बजारमा यसपालिको दशैं भित्रिसक्दा पनि खासै चहलपहल हुन सकेको छैन ।
औद्योगिक क्षेत्रको हव र ठूला व्यापारिक गोदाम भएको बुटवल छाडेर दशैंको लागि किनमेल गर्न बुटवललगायत छिमेकी जिल्लाहरुका स्थानीयहरु नजिकै रहेको भारतीय बजार सुनौलीका जाँदा बुटवल सुनसान जस्तै बन्न पुगेको छ ।
अन्य समयमा नभएको बजार दशैं–तिहारका बेला हुने अपेक्षाले आफ्ना पसल, उद्योगहरुमा सामानहरु भर्ने गरेका स्थानीय व्यापारीहरु यसपालिको दशैं पर्वको आज तेस्रो दिन हुँदा पनि किनमेल नहुँदा चिन्तित बनेका छन् । रुपन्देहीसँग सीमा जोडिएको छिमेकी देशको भारतको सुनौली बजारमा यतिबेला नेपालीहरुको घुँइचो लाग्ने गरेको पाइएको छ।
बुटवलको प्रमुख व्यापारिक एवं पुरानो बजार अमरपथ लाइनमा यसअघिका वर्षहरुमा केहि चहलपहल हुने गरे पनि अहिले बजारमा किनमेल गर्नेहरुको संख्या न्यून देखिएको छ ।
विगत लामो समयदेखि सोही स्थानमा सुनचाँदी व्यवसाय गर्दै आएका हिरा गहतराजलाई न यसपालिको तिज आयो न दशैं तिहार । उनी भन्छन्, नेपाली बजारमा पैसा छैन भनौं भारतीय बजारमा किनमेल गर्न नेपालीहरु दिनहुँ सुनौलीमा भरिएका हुन्छन् । यता हामीहरु दैनिक ग्राहकहरु कुरेर बस्छौं । व्यवसाय निकै ओरालो लागेको छ । घरबहाल पनि तिर्नलाई गाह्रो अवस्थामा व्यापार गर्न बाध्य भएका छौं, उनले भने ।
नेपाली बजारमा हरेक सामानहरु महङ्गो हुने भन्दै भारतीय बजार पुगेका अधिकांश नेपालीहरु बताए पनि तर त्यहाँबाट फर्किएर आएकाहरुले आउने, जाने र त्यहाँ पाइने सामान र यहाँ त्यही सामानलाई किन्दा धेरै फरक नपर्ने बताएका छन् । भारतीय बजार गरेर फर्किएकी दिलमाया मगरले भनिन्, चिनीमा मात्रै कम भाउ भएको पाएँ । मैले त सुनौली भन्ने मात्रै हो रहेछ भन्ठानेँ । किनकी धेरै असमानता केही लागेन ।
यसपालि बुटवलमा यहाँका व्यापारीहरुले पोहोरकाके तुलनामा थप बजार खस्किदै गएको बताउँदै यस वर्षको दशैंमा २५ प्रतिशतसमेत व्यापार नभएको जनाएका छन् ।
यता हरेक वर्ष दशैं तिहारको समयमा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले बुटवलमा सञ्चालन गर्ने दशैं सस्तो बजार पनि लाग्दा पनि खासै चहलपहल बढ्न सकेको छैन । वाणिज्य संघले प्रत्येक वर्ष घटस्थापनादेखि पञ्चमीसम्म ५ दिनसम्म दशैं सस्तो बजार सञ्चालन गर्दै आएको संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजले वताएका छन् ।
दैनिक उपभोग्य वस्तुहरुको सुपथ मुल्यमा बिक्री वितरण गरेर उपभोक्ताहरुलाई सहजता दिने उद्देश्यले सञ्चालन गरिने उक्त बजारमा सोचेजस्तो ग्राहकहरु नआएको र भारतीय बजारमा धेरै जना जाने गरेकाले बजारमा सुनसान छाएको बताइएको छ ।