- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
२००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापनासँगै नेपाली कांग्रेसले आफ्नो झण्डै असी वर्षको राजनीतिक इतिहासमा विभिन्न आरोह अवरोहको सामना गर्दै आएको सर्वविदितै छ । अहिले यो पार्टी देशकै सबैभन्दा पुरानो र जनताले विश्वास गरेको राजनीतिक पार्टीका रूपमा रहेकाको छ । तर बिडम्बना अहिले आएर यस पार्टीभित्र सैद्धान्तिक बिचलन मात्र होइन, नेताप्रति कार्यकर्ताको विश्वासनियता र पार्टीप्रति जनताको आस्था पनि गुम्दै गएको छ । यो हामी सबैका लागि सारै दुर्भाग्यपूर्ण स्थिति हो ।
वीपी कोइरालाले निर्माण गरेको प्रजातान्त्रिक समाजवादको सिद्धान्त बोकेको पार्टी सुवर्ण शमशेरदेखि गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाहरुले संरक्षण र सम्वर्धन गरेर मजबुत बनाएको संगठन तेश्रो पुस्तामा आइनपुग्दै यसरी कुमार्गमा जान्छ भन्ने आम कार्यकर्ताले कहिल्यै सोचेका थिएनन् । पार्टीको सिद्धान्त र संगठन निर्माणको लागि कयौं वीर योद्धाहरुले आफ्नो जीवनको आहुती दिएका छन् भने आन्दोलनको दौरान कयौं कार्यकर्ताहरू अंगभंग र घरबारविहीन भई विदेशिन पनि वाध्य पनि भएका छन् ।
नेपाली कांग्रेस एउटा ऐतिहासिक संस्कार बोकेको देशको सबैभन्दा ठूलो र पुरानो पार्टी पनि हो तर अहिले यो सिद्धान्तविहीन भएको छ । नेताप्रति कार्यकर्ताको विश्वास गुमेको छ भने वैचारिक द्वन्द्वता गहिरिँदै गएको छ । पार्टीका कर्मठ, सच्चा र निष्ठावान साथीहरुलाई परम शत्रुताको व्यवहार गरिएको छ । हिजो आफूलाई कट्टर दुश्मन ठान्ने कम्युनिष्टहरुसँग परम मित्रता गाँसेर उनीहरुलाई जिताउन पार्टी आज कम्मर कसेर लागेको छ । आफ्नै पार्टीको आदर्श चिन्ह रुखलाई नै मास्ने गरी हँसिया हथौडा बोकेर सिंगो पार्टी स्वयम् आफै हिँड्छ भने त्यो भन्दा बढी लाजमर्दो र दुःखको कुरो एउटा सच्चा कांग्रेसीलाई अरु के हुन सक्छ ? पार्टी पंक्ति अहिले भित्रभित्रै सिद्धान्तवादी र सत्तावादीको रुपमा दुई धार भएर विभाजित भएको छ ।
नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा केही वाम घटकहरुसँग गठबन्धन गरेर सरकार चलाएको छ र अहिले सत्ताको प्रलोभनमा परी आउँदो आमचुनावमा पनि यसैलाई कायम राखी पार्टीको अस्तित्वलाईसमेत गौण सम्झेर हिजोका आफ्ना वैचारिक दुश्मनहरुलाई बचाउन मरिमेटेको छ । यो गठबन्धन कांग्रेस पार्टीको संस्कार, आदर्श र सिद्धान्त विपरीत छ ।
अहिलेको नेतृत्व वर्गले आफ्नो पदको लागि कार्यकर्ताको भावनालाई कुल्चेर पार्टीमा जबर्जस्त हैकमवाद लागू गरेको छ र कार्यकर्ता निरीह भएर यसलाई स्वीकार्न बाध्य भएका छन् । कांग्रेसको नेतामुखी तथा चाकडी संस्कारले गर्दा कार्यकर्ता निराश भएका छन् । यो सारै दुःखलाग्दो कुरा हो अनि आम कार्यकर्तामाथि गरिएको कुठाराघात पनि हो ।
पार्टीमा यस्ता समस्या आउनु भनेको कुशल नेतृत्वको अभाव त हो नै पार्टीका आम कार्यकर्ताको मौनता पनि हो । पार्टीभित्र पुराना, सच्चा र निष्ठावान कार्यकर्ताहरु मौन छन् भने नयाँ युवा पिंढी पनि पद लोलुपताले गर्दा चाकडी र गुटबन्दीको शिकार भएका छन् । नेताहरुलाई सत्ता मोहले गाँजेको छ र पार्टी विसंगती र विकृतिले जकडिएको छ । पार्टीले जनताको चाहनालाई आत्मसात गर्न सकेको छैन ।
पार्टीकै गलत नेतृत्वको कारणले गर्दा पार्टी मात्र कमजोर भएको छैन लोकतन्त्र नै गम्भीर संकटमा परेको छ । प्रजातन्त्रमा पार्टीका नेताले राज्य संचालनमा आफ्नो पार्टीको आदर्श र सिद्धान्तलाई नै बिर्से भने त्यो पार्टीको अस्तित्व त धरापमा पर्छ नै देशसमेत संकटमा पर्छ । साँच्चै भन्ने हो भने नेपाली कांग्रेस आफ्नो मौलिकतामा अडिग रहने हो भने नेपालमा कुनै वाद वा राजनीतिक पार्टीको आवश्यकता नै पर्दैन । तर बिडम्बना नेपाली कांग्रेस आफ्नै मौलिकता, आदर्श र सिद्धान्त विपरीत अरुको पुच्छर समातेर बैतरणी तर्न लागिपरेको छ । यो एउटा सच्चा र निष्ठावान कांग्रेसीलाई कदापि सह्य कुरो होइन । तर विचराहरू अल्पमतको कारण किंकर्तव्यविमुढ भएर पार्टी कमजोर हुँदै गएको टुलुटुलु हेर्न बाध्य भएका छन् ।
गठबन्धनको उम्मेदवारलाई भोट माग्न जाँदा पार्टीको संगठन के हुन्छ ? चुनाव हारिन्छ कि भन्ने डरले कहिलेसम्म गठबन्धन गरिरहने ? यो नीतिले पार्टीको संगठन कमजोर त हुन्छ नै कालान्तरमा गएर कांग्रेससँग सहकार्य गर्न उनीहरु नै हिच्किचाउने छन् । त्यतिबेलासम्म आइपुग्दा न पार्टी रहन्छ न सत्ता नै ।
किनकि जो व्यक्ति पार्टीको आदर्श र सिद्धान्तको लागि लडेको छ अब ऊ के को लागि पार्टीमा बसिरहन्छ ? भन्ने विचार उसको मनमा सदा उब्जिरहन्छ । यो एउटा सच्चा कांग्रेसीहरुको लागि गम्भीर प्रश्न भएको छ । पार्टीभित्र सत्ता र पदको लागि राजनीति गर्नेहरु जसरी पनि गठबन्धन गरेरै जानुपर्छ भनिरहेछन् भने पार्टीको आदर्श र सिद्धान्तको लागि मरिमेट्नेहरु भलै निर्वाचनमा हार नै किन नहोस् पार्टीले एक्लै चुनाव लड्नु पर्छ भनिरहेका छन् ।
यो उनीहरुको आत्म स्वाभिमान को कुरा पनि हो । तसर्थ यो गठबन्धन अप्राकृतिक र असान्दर्भिक छ । यस्तो गठबन्धन गर्नु भनेको नेताहरुको सत्ता मोह नै हो । चुनाव जित्नु मात्रै राजनीति होइन । कोही पनि मान्छे पार्टीमा सहभागी हुनु भनेको पार्टीको आदर्श, विचार, सिद्धान्त, संगठन र कार्यशैली मन पराएर नै हो । यिनै आधारभूत कुरामा सहमत भएर नै कुनै पनि कार्यकर्ता पार्टीप्रति समर्पित हुन्छ भन्ने कुरा सबैले मनन गर्नुपर्छ ।
हो, नेपाली कांग्रेस पुरानो र ठूलो पार्टी भएको नाताले प्रजातन्त्र र देशको अस्तित्व र विकासका लागि कम्युनिष्टहरुसँग सहकार्य गरेर सरकार बनाउन त सक्छ तर चुनावको लागि गठबन्धन होइन । संसारमै विपरीत सिद्धान्तका पार्टीहरु गठबन्धन गरेर चुनाव लडेको उदाहरण छैन । तर सरकार बनाउन गठबन्धन भने अवश्य गरेका छन् ।
यसरी सत्ता प्राप्तिकै लागि गठबन्धन गरेर चुनाव लड्नु भनेको यो एक ठगी पनि हो । जनताको स्वाभिमानमाथिको बेइमानी पनि हो । विपरीत सिद्धान्त वा विचारधाराका मानिसहरु बिना स्वार्थ कसरी एकै ठाउँमा रहन सक्छन् र ? कांग्रेसलाई भेट्यो भने काटिहाल्नुपर्छ भनेर स्कुलिंगबाट आएका कम्युनिष्टहरुले रुखमा भोट हाल्छन् भनेर कसरी पत्याउन सकिन्छ र ?
एकछिनलाई मानाैं अब उनीहरुको सोचमा परिवर्तन आएको छ भने पनि उनीहरु किन त्यसो भए गठबन्धनको सट्टा एउटै पार्टी बनाएर जान सक्दैनन् त ? यो एक गम्भीर प्रश्न हो । यदि चुनावमा एक्लै लड्न सकिँदैन र मिलेर जानुपर्छ भन्ने हो भने पार्टीलाई राखिराख्नुको औचित्य नै के भयो र ? अहिले यो नेपाली राजनीति वृत्तमा गम्भीर प्रश्न खडा भएको छ ।
खासै भन्ने हो भने नेपाल जस्तो गरिब मुलुकको लागि दुई वा तीनभन्दा बढी पार्टीको आवश्यकता नै पर्दैन । किनकि पार्टीहरुकै विचारलाई समेटेर संविधान सभाबाट सबैको मूल एउटै साझा सिद्धान्त बोकेको नेपालको संविधान–२०७२ लागू भइसकेको छ । यसै अनुरूप नै देशको शासन व्यवस्था चलाउन सबैले प्रतिवद्धता जनाइसकेपछि यो नै सबै पार्टीको साझा सिद्धान्त भएन र ?
यदि यसैलाई मनन गरेर यो गठबन्धन गरेका हुन् भने निश्चय नै यो राम्रो कुरा हो । देशमा जति थोरै पार्टी भयो देश उति नै विकसित हुन्छ भन्ने उदाहरण संसारका विकसित प्रजातान्त्रिक मुलुकहरुले देखाइसकेका छन् ।
हिजोआज आम नेपालीहरुमा राजनैतिक पार्टीहरुप्रति चरम वितृष्णा बढ्न थालेको छ । लोकतन्त्रमा यस्तो हुनु भनेको पक्कै राम्रो संकेत होइन । नेता उसको विचारले मानिन्छ तर अहिले नेता उसको पदको डर र धम्कीले मान्नु परिरहेछ । नेपाली कांग्रेसमै पनि नेतृत्व परिवर्तनको लागि प्रयास नभएको चाँहि अवश्य होइन । चौधौं महाअधिवेशनले पार्टीको नेतृत्व परिवर्तनको लागि तेश्रो पुस्ताका केही युवा पिँढीप्रति भरोसा गरेर उनीहरुलाई पार्टीको नेतृत्व तहमा नपुर्याएको पनि होइन । तर यसले केही अपेक्षित परिणाम दिन सकेको छैन ।
आजका मितिसम्म पनि उनीहरुबाट कुनै आशालाग्दो परिवर्तनको संकेतसमेत देखिएको छैन । बरु पुरानै शैलीलाई प्रोत्साहन दिने काम भैरहेछ । नेपाली कांग्रेसको युवा नेतृत्वप्रति आम कार्यकर्तालगायत सम्पूर्ण नेपाली जनताकै ठूलो आशा र भरोसा थियो । तर अहिले यो कुठराघात भएको छ । जोशिला, चोटिला र उत्तेजित भाषण गरेर जनतालाई भ्रम छरेर ताली खाएरमात्र नेता हुने भए कलाकार, पत्रकार, खेलाडी सबै नेता हुन्थे ।
असल नेताले त जनताले प्रत्यक्ष महसुस हुने खालको परिवर्तन ल्याउन सक्नुपर्छ । जनतालाइ आफू सँगसँगै हिँडाउन सक्नुपर्छ । नेताको विचारले नै पार्टी सुमार्गमा हिंड्ने हो र देश पनि विकसित हुने हो ।
अहिले आम नेपाली जनता निराश भएर एक असल नेताको खोजीमा भौंतारिइरहेका छन् । यिनै राजनैतिक पार्टीका नेताहरुकै असक्षमताका कारण जनतामा विकल्पस्वरूप गत स्थानीय चुनावमा युवा र स्वतन्त्र उम्मेदवारहरुप्रति आकर्षण बढेको देखियो । तर लोकतान्त्रिक व्यवस्थामा राजनीतिक पार्टीहरुकै भूमिका अहम् हुन्छ र प्रजातन्त्र मजबुत बन्छ पनि । लोकतन्त्रमा राजनैतिक पार्टीहरुबाट मात्र यो कुरा सम्भव हुन्छ । अहिले युवाहरुमा स्वतन्त्रबाट उम्मेदवार भएर नेता बन्ने लहर नै चलेको छ । युवा राजनीतिमा आउनु निश्चय नै राम्रो कुरा हो । तर नेता बन्नु कुनै ठट्टा होइन ।
चुनावमा स्वतन्त्र उम्मेदवार भएर वा ठूल्ठूला उत्तेजित भाषण गरेर जनतामा चिनिएर मात्र पनि पुग्दैन । यसको लागि त राजनीतिक पार्टीको छहारी चाहिन्छ र यिनै पार्टीहरुलाई मजबुत बनाएर तिनै पार्टीहरुको नेतृत्व गर्दै देशलाई आमुल परिवर्तन गरेर जनताको चाहना र आवश्यकता पूरा गर्न सक्नुपर्दछ । यो नै आजको माग पनि हो र असल नेता बन्ने अवसर र चुनौती पनि हो । ( अमेरिकाको टेक्ससमा वसोवास गर्दै आएका लेखक ढकाल जनसम्पर्क विश्व संजालका सल्लाहकार हुन्)