arrow

लुम्बिनीमा विद्युतीय बस सञ्चालन

logo
मणिप्रसाद गैह्रे, 
प्रकाशित २०७९ असोज १३ बिहिबार
electric-bus-lumbini.jpg

लुम्बिनी । दशैंका अवसरमा लुम्बिनी विकास कोषले बिहीबारदेखि पाँच वटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ । बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रबिन्दु बनाएर बृहत्तर लुम्बिनी क्षेत्रमा बस सञ्चालन हुनेछन् । 

दशैं अवधिभर परीक्षणको रुपमा सञ्चालन गरिने बसमा परीक्षण अवधिभर निस्शुल्क यात्राको व्यवस्था मिलाइएको छ । बिहीबार लुम्बिनीमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तिय र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले संयुक्त रुपमा उद्घाटन गरेर बस सञ्चालन गरिएको हो । 

लुम्बिनीबाट कपिलवस्तुको तिलौराकोट क्षेत्र परिक्रमा, लुम्बिनीदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भैरहवाको सीमानाका बेलहियासम्म, लुम्बिनीदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बुद्धको मावलीस्थल देवदह, लुम्बिनीदेखि भैरहवाको बुद्धचोक हुँदै बुटवलको गोलपार्कसम्म ती बस सञ्चालन हुने छन् ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनी र बुद्धसँग सम्बन्धित बृहत्तर लुम्बिनी क्षेत्रमा रहेका बुद्धस्थलमा जाने यात्रुको सहजताका लागि विद्युतीय बस सञ्चालन गरिएको बताए । उनका अनुसार ती बस केही दिनका लागि परीक्षणको रुपमा सञ्चालन गरी बसको यान्त्रिक अवस्थाका बारेमा जानकारी लिएपछि स्थायी रुपमा सञ्चालन गर्नका लागि कार्यविधि तथा मापदण्ड बनाइने छ ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तियले विद्युतीय बस सञ्चालनमा आएपछि स्थानीय पर्यटनको प्रवर्द्धनमा सहयोग पुग्ने बताए । लुम्बिनीको वातावरण प्रदुषण न्यूनीकरण गर्न एसियाली विकास बैंकले अनुदानमा लुम्बिनी विकास कोषलाई तीन वर्षअघि उपलब्ध गराएको पाँचवटा बससहित १४ वटा विद्युतीय भ्यान सञ्चालन गर्ने कार्यविधि र स्वामित्त्व कोषलाई हस्तान्तरण नगरिएकाले सञ्चालनमा आउन सकेको थिएन ।

गृहमन्त्री बालकृष्ण खाँणले विश्व पर्यटन दिवशका अवसरमा मंगलबार भैरहवामा आयोजित समारोहमा बोल्दै विद्युतीय ती सवारी साधन तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएपछि बुधबार लुम्बिनी विकास कोष, स्थानीय पालीका, यातायात कार्यालय, उद्योगी तथा पर्यटन व्यवसायीका सघंसस्थाको बैठकले तत्काललाई पाँचवटा बस सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।



नयाँ