arrow

मतदाताको मनमा प्रदीप पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ४ शुक्रबार
pradip-poudel-election-2079.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल पछिल्ल दिनहरुमा घरदैलो कार्यक्रममा निरन्तर खटिइरहेका छन् । उनी काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधि सभाका उम्मेदवार हुन् । 

कतिपयले उनलाई तनहुँबाटै चुनाव लड्नु पर्ने बताएका थिए । तर जब पार्टीले नै टिकट काठमाडौं ५ बाट दियो भने उनलाई तनहुँ नै जानुपर्ने आवश्यकता परेन । काठमाडौं ५ उनका लागि नौलो ठाउँ होइन । 

उनी २०३१ साल चैत १ गते तनहुँ शुक्ला ८ मा जन्मेका भए पनि हाल काठमाडौं जाल्पचोक बानियाँटार बस्दै आएका छन् । त्यसैले पनि काठमाडौं ५ का मतदाताका लागि प्रदीप नौला हैनन् । 

प्रदीपले २०७४ सालको निर्वाचनमा तनहुँ २ (क) बाट प्रदेश सभा निर्वाचन लडेका थिए । तर त्यतिबेलाको कम्युनिष्ट गठबन्धनले उनलाई धाँधली गरेर हराएको थियो । उनले निरन्तर अग्रता लिइरहेका बेलामा अन्तिममा धाँधली गरेर पाँच मतले हारेको देखाइएको भन्दै उनले असन्तुष्टि जनाएका थिए । उनले निवेदन पनि हालेका थिए । तर सुनुवाइ भएन । अन्ततः उनले राजनीतिक इमानका आधारमा हार स्वीकारे । 

यसपटक उनी काठमाडौं ५ को सत्तागठबन्धनबाट संयुक्त उम्मेदवार छन् । अहिले काठमाडौं ५ बाट कांग्रेसमात्र हैन गठबन्धनका माओवादी केन्द्र, नेकपा एस र राष्ट्रिय जनमोर्चाका मतदाताले पनि भोट हाल्नेछन् । 

त्यतिमात्रै पनि होइन । उनको राजनीतिक सौम्य आचरणका कारणले उनलाई खुला हृदयले भोट हाल्नेको संख्या उल्लेख्य हुने दाबी गरिएको छ । 

उनको दैनिक घरदैलो कार्यक्रमपछिको विश्लेषणले पनि यही भनिरहेको छ । उनीसँगै घरदैलोमा हिँडेका नेताहरु भन्ने गर्छन्, ‘प्रदीप दाइलाई आउने भोट स्वतः स्फूर्त हुने देखिन्छ । उहाँको प्रभावकै कारणले पनि भड्किएका मतदाताले उहाँलाई नै भोट हाल्ने कुराकानीबाट थाहा पाएका छौं ।’

काठमाडौं ५ बाट उनलाई एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कडा टक्कर दिनेछन् । उनी यसअघि सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भइसकेका छन् । प्रदीपसँग लामो समयदेखि नै संगत गरेकाहरु भने उनी जहाँबाट लडे पनि मतदातालाई खासै फरक नपर्ने बताउँछन् । 

सचिवालयका एक सदस्य भन्छन्, ‘उहाँ जहाँबाट उठे पनि मतदाताका प्यारा नै हुनुहुन्छ जस्तो लाग्छ । अहिलेसम्म कसैले पनि नराम्रो भन्नुभएको छैन । तपाई जित्नुपर्ने मान्छे हो भन्नु भएको छ । यसैले पनि मतदाताका प्यारा हुनुहुन्छ जस्तो लाग्छ ।’

प्रदीपले गत असोज २४ गतेबाट काठमाडौं महानगरपालिका ५ हाँडीगाउँबाट घरदैलोे अभियान शुरु गरेका हुन् । त्यसपछि उनी निरन्तर घरदैलोमै छन् । धेरैसँगको छलफलबाट प्रदीप उत्साही पनि भएका छन् । 

चुनाव हो यसै भन्न त सकिँदैन नै तर स्वतन्त्र व्यक्तिहरुलेसमेत दिएको आशीवर्चन र आश्वासनले भने प्रदीपको टिमलाई हौसाएको छ । 

आफू राजनीतिबाट टाढा रहेको बताएका नेपालका चर्चित हाँस्य कलाकार हरिवंश आचार्यले समेत प्रदीपलाई आफ्नो निवासभित्रै शुभकामनामात्र दिएनन् ‘तपाईं जत्तिको युवा आउनुपर्छ’ भनेर हौसाए पनि । स्वतन्त्र रहेका हरिवंशको प्रदीपप्रतिको यो विचारले पक्कै पनि मत थप बढ्नेमा उनको सचिवालय आशावादी देखिएको छ । 

प्रदीपको सशक्त गहना 
प्रदीप पौडेलको सबैभन्दा राम्रो गहना भन्नु नै उनको बोली हो । उनी चर्को रुपले बोल्दैनन् । अरुलाई होच्याएर आफू माथि पर्ने काम उनले कहिल्यै गरेनन् । 

तथ्यपरक भएर बोल्ने उनको बानी र भाषण नै उनको सबैभन्दा बलियो गहना हो । नेता भएपछि झुटो बोलेर भए पनि आफू माथि नै पर्नुपर्छ भन्ने मान्यताबाट उनी टाढा छन् । 

उनको त्यही बानीकै कारण उनी भुइँनेता हुँदै यहाँसम्म आइपुगेका हुन् । उनी अध्ययनशील युवा नेतामा पर्छन् । 

राजधानीको सिद्धार्थ वनस्थली इन्स्टिच्यूटबाट एसएलसी उत्तीर्ण गरेका प्रदीपले आईएस्सी र बीएस्सी अस्कल क्याम्पसबाट गरे । स्नातकोत्तर उनले त्रिभुवन विश्वविद्यालयबाट गरे । 

शिक्षाअनुसार नै उनको राजनीतिक यात्रा पनि सँगसँगै अगाडि बढेको पाइन्छ । पञ्चायती व्यवस्थाविरुद्ध भएको २०४६ सालको जनआन्दोलनको बेला उनले  सिद्धार्थ वनस्थली हुँदै उपत्यका स्कुले विद्यार्थीको नेतृत्व गर्न पुगेका थिए । 

विद्यालयपछि क्याम्पसमा आएपछि उनी अस्कल क्याम्पसको स्ववीयू सभापति भए । अस्कल क्याम्पस अखिलका विद्यार्थीहरुको गढका रुपमा चिनिँदै आएको छ । नेपाल विद्यार्थी संघका तर्फबाट पहिलो पटक उनी अस्कलको स्ववीयू सभापति भएका थिए । 

त्यहाँ त्यतिबेला नेविसंघका विद्यार्थी बढी भएर भने उनले जितेका हैनन् । उनले आफ्नो व्यक्तित्व, सहभोगी भावना र नेतामा हुनुपर्ने गुणको वृत्तिविकास गरेकै कारणले जितेका थिए । 

उनी २०५९ देखि ०६२ मा संयुक्त विद्यार्थी आन्दोलनको संयोजक रहेर शाही शासनविरुद्ध लडिरहे । सोही समयमा उनले राजद्रोहको मुद्दासमेत खेप्नु परेको थियो । 
 
 प्रदीप २०६४ सालमा नेपाल विद्यार्थी संघको अध्यक्ष भए । २०६७ सालदेखि भने उनी नेपाली कांग्रेसको केन्द्रीय सदस्य रहँदै आएका छन् । उनी  लगातार दोस्रो पटक लोकप्रिय मतसहित केन्द्रीय सदस्य भए । यसपालि महामन्त्रीमा लडेका उनी पराजित भए । 

राजनीतिमा जित हार हुने तर आफ्नो लक्ष्य कहिल्यै नडगमाउने भन्दै उनले गत वर्ष भएको पार्टीको महाधिवेशनमा चुनाव हार्नु अगाडि नै पत्रकार सम्मेलन गरेर जित उन्मुख पुगेका उम्मेदवारहरुलाई बधाई तथा शुभकामना दिँदै सहकार्यका लागि जहिल्यै तयार रहेको जनाएर आफू अर्को महाधिवेशनमा पुनः प्रयास गर्ने भन्दै मतदातालाई धन्यवाद दिएका थिए । 

यस्तो संस्कार विरलै पाइन्छ र त्यो सुसज्जित राजनीतिक संस्कार प्रदीपमा विद्यार्थी कालदेखिनै कायम छ । उनलाई पछि केन्द्रीय सदस्यमा मनोनित गरिएको थियो ।  

प्रदीप स्वार्थविहीन राजनीति गर्छन् । उनी नेतृत्वलाई झक्झक्याउनका लागि सामाजिक गतिविधि पनि गरिरहेका हुन्छन् । त्यसकै परिणामस्वरुप उनले संविधान निर्माणका क्रममा भएको ढिलासुस्तीविरुद्ध दबाब दिन ‘मेची–काली अभियान’ को नेतृत्वसमेत गरेका थिए । 

उनले २०७२ सालको विनाशकारी भूकम्प प्रभावित क्षेत्र र जिल्लामा एक हजार ७०० भन्दा बढी अस्थायी घर एवं पक्की विद्यालय भवन निर्माण साथै तत्काल राहत र उद्धारमा युवा परिचालन गरेका थिए । 

युवा नै देशको विकासका आधार हुन् भन्नेमा विश्वस्त प्रदीपले युवालाई उद्यमशील बनाउने उदेश्यले ‘युथ इन्टरप्रेनरशिप क्याम्पेन २०७१’ प्रारम्भ गरेका छन् । 

स्वास्थ्यलाई प्राथमिकतामा राखेका प्रदीपले कोभिड महामारीका बेलामा धमामम संक्रमितको मृत्यु हुन थालेपछि संक्रमितलाई रगतको सहजताको लागि ‘प्लाज्मा एप’ नै निर्माण गरे । 

त्यस्तै कोभिड महामारीको बेलामा ३०० बढी बेड क्षमताको आइसोलेसन सेन्टर निर्माण एवम् अत्यावश्यक उपकरण र औषधि वितरण गरेका थिए । 

डेमोक्रेटिक लर्निङ एकेडेमी अफ साउथ एसियाका अध्यक्ष तथा एलायन्स फर पिसका पूर्व अध्यक्ष प्रदीपले शैक्षिक अभियानलाई पनि व्यवस्थित गरी अगाडि बढिरहेका छन् । 

जसमा ‘एक विद्यालय–एक पुस्तकालय’, ‘सार्वजनिक विद्यालय सुधार अभियान’, ‘हरेक विद्यालय इन्टरनेट सेवा एवं ई–लाइब्रेरी अभियान’ रहेका छन् । 

त्यसैगरी उनले शैक्षिक गुणस्तर वृद्धिको निम्ति दर्जनौं कार्यशाला र गोष्ठी संचालन गरेका छन् । 

हजारौं गरिब जेहेन्दार विद्यार्थीको लागि निःशुल्क छात्रवृत्ति र शैक्षिक सामग्रीको प्रबन्धसमेत गरेका छन् ।  

इमानदारी नै काठमाडौं ५ मा प्रदीपले जित्ने आधार
प्रदीपको सबैभन्दा ठूलो जितको आधार भनेको उनको इमानदारी नै हो । उनले अहिलेसम्म गरेका काममा कहीँ कतै पनि खोट लगाउने ठाउँ छैन । 

चाहे राजनीतिक वा सामाजिक काम किन नहोस् प्रदीपले कहीँ पनि स्वार्थलाई केन्द्रमा राखेर सेवा गरेका छैनन् । 

अर्कातर्फ उनमा भ्रष्ट मानसिकता कहीँ पनि अहिलेसम्म देखिएको छैन । र, उनी युवा हुन् । एक जोश र जाँजर लिएर चुनावी मैदानमा होमिएका युवा । 

त्यसो त चुनावी मैदानमा उत्रिएपछि विपक्षी कत्तिको बलियो छ भन्ने विषयले पनि अर्थ राख्छ । 

विपक्षमा बलिया उम्मेदवार छन् । उनी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल हुन् । उनी चुनावका लागि भेट्रान प्रतिस्पर्धी नै हुन् । 

यसअघि पनि उनले नै यो क्षेत्रमा चुनाव जितेका थिए । पटक पटक मन्त्री पनि भइसके । पछिल्लो कार्यकाल उनले उपप्रधानमन्त्री खाएका थिए । 

शक्ति केन्द्रसँग उनको निकै नै हिमचिम छ । जसले गर्दा उनले धेरै नै अवसर पाएका छन् । उनी राजनीतिक भेट्रान खेलाडी नै हुन् । 

तर कर्णप्रिय बोली र इमानका कारण नै प्रदीप मतदाताका प्यारा बन्ने दाबी उनको सचिवालयको छ । पाका कांग्रेसी नेताहरु पनि प्रदीपमा विद्यार्थीकालदेखि नै राजनीतिक संस्कार रहेको बताउँछन् । त्यो नै प्रदीपको राजनीतिक करियरको बलियो आधार हो । 

ईश्वरको कमजोरी नै प्रदीपको जितको आधार 
खासमा प्रतिस्पर्धी कमजोर नभई चुनाव जितिँदैन । प्रदीप पौडेलका लागि राजनीतिका भेट्रान खेलाडी ईश्वर पोखरेल हेभिवेट हुन् । तर जसरी उनी हेभिवेट हुन् त्यसरी नै ईश्वरका कमजोरी प्रदीपको जितका आधार हुन सक्छन् । 

ईश्वर पोखरेलले यो क्षेत्रमा धेरै नै आश्वासन बाँडे । उनले लामो समयदेखि बाँडेका आश्वासन कहिल्यै पूरा गर्ने बारेमा सोचेनन् । यही आश्वासन दिने तर वाचा पूरा नगर्ने उनको कमजोरीका कारण स्थानीय रुष्ट छन् । 

पोखरेलसँग विस्तारै मतदाता टाढिएको एमालेकै स्थानीय नेताहरुले बताउन थालेका छन् । 

खासमा ईश्वर यो क्षेत्रका लागि लोकल भइसके । तर उनले मतदातालाई बेवास्ता गरेको आरोप छ । जब आश्वासन नै पूरा हुँदैनन् भने उनलाई मत दिएर के फाइदा भनेर आन्तरिक विरोधमा लागेका एमालेका मतदाता पनि देखिएका छन् । 

अर्कातर्फ शक्ति केन्द्रमा रहेर पनि ईश्वरले नचाहेरै यो क्षेत्रमा काम नगरेको उनीमाथि आरोप छ । यस्तोमा मतदाताले नयाँ परीक्षण गर्न खोजे भने एमालेको मत पनि प्रदीपलाई आउन सक्नेछ । 

त्यसो त यो क्षेत्र एमालेको गढजस्तै मानिन्छ । तर काठमाडौंका मतदाता निकै नै सचेत छन् । जसरी स्थानीय तहमा अनपेक्षित परिणाम आएको थियो त्यसरी नै यसपालि प्रदीपको दीप थप चम्किलो बनाउनेमा काठमाडौं ५ का मतदाता नै अग्रसर भएको बुझिन्छ । 

प्रदीपको प्रतिबद्धतापत्र 
प्रदीप पौडेल आफ्ना मतदाताप्रति प्रतिबद्ध बनेका छन् । उनले मतदातालाई सम्बोधन गर्दै प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरेका छन् । बिहीबार सार्वजनिक भएको प्रतिबद्धतापत्र यस्तो छ –
आदरणीय मतदाता नमस्कार, जय नेपाल ! 
म प्रदीप पौडेल 
काठमाडौं क्षेत्र नं ५ को प्रतिनिधी सभा सदस्य उम्मेदवार 
मेरो राजनीतिक यात्रामा काठमाडौं क्षेत्र नं ५ ले मलाई यस क्षेत्रको शिक्षा र स्वास्थ्यको हब, आईटीको विकास सहितको रोजगारी, पर्यटन र समग्र विकास साथै राष्ट्रिय राजनीतिको नयाँ चित्र कोर्ने अवसर प्रधान गरेको छ ।
 
काठमाडौंलाई विकास मात्र होइन व्यवस्थित विकास आवश्यक छ । पर्यावरणीयमैत्री राजधानी हामी सबैको चाहना हो । यसैगरी राजनीतिक निष्ठा र इमान्दारितामाथि उठेका प्रश्न र राजनीतिप्रति घट्दै गएको विश्वासले आम निराशा छाएको छ । त्यसकारण मेरो संकल्प छ –म राजधानी सफा गर्छु, म राजनीति सफा गर्छु । 
आदरणीय आमाबुवा हजुरआमा हजुरबुवा ।
तपाईंले काखमा खेलाएर, काँधमा चढाएर हुर्काउनु भएका तपाईंहरूका छोरा छोरी, नाति नतिनाले सम्भावनाको खोजीमा विदेशीनु परेको म महसुस गर्न सक्छु । मेरो आफ्नै दाई पनि विदेशिनु भएको छ । तपाईं हाम्रो परिवारको एउटा सदस्य आफू जन्मे हुर्केको, ठाउँ छोडेर अपरिचित भूमिमा जीवन खोज्न जाँदा कति पिडा हुन्छ, म महसुस गर्न सक्छु । 
हामीले यो पीडाको अन्य खोज्नु छ । 
आदरणीय युवा साथीहरु
मलाई थाहा छ तपाईहरु परिवर्तन खोजी रहनुभएको छ । जीवन उपयोगी शिक्षा र व्यवस्थित जीवन धान्न सक्ने स्यालेरी सहितको रोजगारी खोजिरहनु भएको छ । 
म क्याफेमा बसेर चिया कफी पिउँदै गर्दा तपाईहरुको सम्वाद सुनेको छु । तपाईंको बोलीचालीमा ‘ब्रदर’ शब्दलाई ब्रो मात्रै भन्दै गरेको सुन्दा म सोच्छु – ब्रो मात्रैले भाव बुझिन्छ भने ‘दर’ जोडिरहनु । ‘दर’ भन्दै गर्दा अलिक बढी समय लाग्छ भने किन त्यति लामो शब्द प्रयोग गरिरहनु । यसबाट मैले के सिकेको छु भने – आजको पुस्ता ‘फास्ट एण्ड फरवार्ड’ छ । 
ऊ हरेक काम चाँडो होस्, स्पिडमा होस्, अनावश्यक झन्झट बेहोर्नु नपरोस् भन्ने चाहन्छ । हामी जस्ता राजनीतिक दलले अब भाषण मात्र होइन, देखिने, सुनिने र बुझिने गरी परिणाममुखी काम गर्न जरुरी छ ।
त्यसैले, युवा साथीहरु हामी तपाईंले खोजेको स्पिडमा काम गर्न तपाईंको साथ सहयोग र योजना चाहन्छौं । 
आदरणीय पेशाकर्मी साथीहरु – 
काम गर्न अफिस जाँदै गर्दा होस् या काम सकेर घर फर्किंदा– भीडमभीड माइक्रो र बसमा खाँदिएर, उकुसमुुकुस भएर, ठिटलाग्दो लामो जाममा हिँड्नु पर्दाको पीडा मलाई थाहा छ ।  
बाइक, ट्याक्सी होस् वा कारमा हुँदा आफ्नो शिर उठाएर, लामो घाँटी तन्काएर परसम्म जामको दूरी मैले पनि नापेको छु ।
हाम्रा सामु धेरै चुनौती छन् । जो आजको भोलि नै सम्भव हुने विषय होइनन् । तर निरन्तर प्रयत्न गर्ने हो भने यो असम्भव पनि छैन । यसका लागि नीतिसँगै नेतृत्व जरुरी छ । 
म राजनीति नै गर्छु । परिवर्तन सहितको राजनीतिक संस्कार र संस्कृतिको स्थापित गर्छु भनेर विद्यार्थी राजनीतिबाट देशको सक्रिय राजनीतिमा होमिएको हुँ । मेरा नातागोता, पारिवारिक सदस्य र व्यापार व्यवसाय फस्टाउँछ भनेर मैले राजनीतिमा हाम् फालेको होइन । राजनीतिक इमान र परिवर्तन सम्भव छ भन्ने बुझेर नै मैले सक्रिय राजनीतिक जीवन रोजेको हुँ । मेरो मूल मन्त्र यत्ति हो । 
क्षेत्र नं ५ का मतदाताहरुले खोजेको बेला भेटिने छोरो, भाइ, दाइ, साथी र जनप्रतिनिधिको रुपमा प्रदीप तपाईहरु माझ सँगै उभिने छ । नेतृत्वले चाहने हो भने के के सम्भव छ भन्ने कुरा म स्थापित गर्न चाहन्छु । आगामी पाँच वर्षको यो अवसरलाई म किमार्थ खेर जान दिने छैन । 
सम्भव भएसम्म यहाँहरु सम्पूर्णसँग प्रत्यक्ष भेटघाट गरेर नै म आफ्ना एजेण्डा प्रस्तुत गर्नेछु । समयको सीमितताका कारण यहाँहरु सबै माझ आइपुग्न सम्भव नभएमा प्रविधिको माध्यमबाट जोडिने छु । मलाई विश्वास छ तपाईंहरूले समयको चाँपलाई बुझिदिनु हुनेछ ।
धन्यवाद । 
जय नेपाल !          

किसानलाई रासायनिक मल माग्दै प्रदीप पौडेल कृषि मन्त्रालयमा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ