arrow

रोजाइमा सविन तामाङ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ५ शनिबार
sabin-tamang-kathmandu7b.jpg

काठमाडौं । हुनत काठमाडौंको क्षेत्र नम्बर ७ एमालेले आफ्नो विजयी निश्चित भएको सूचीमा राखेको छ । मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिदै गर्दा देशका अन्य क्षेत्रमा जस्तै काठमाडौं ७ मा पनि चुनावी राप र ताप बढ्दो छ । तर पछिल्ला दिनहरुमा उक्त क्षेत्रमा एमालेले दाबी गरेजस्तो अवस्था छैन । ‘ग्राउण्ड रियालिटी’ बदलिँदो छ ।

मुख्य प्रतिस्पर्धी एमाले पार्टीभित्र देखिएको लफडाले सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले आफ्नो रणनीतिलाई एकाएक परिवर्तन गरेका छन् । विशेषगरी नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एसले आफ्ना उम्मेदवारलाई सहजै विजयी गराउने रणनीतिका साथ चुनावी अभियानलाई तिब्रता दिएका छन् ।

एमालेबाट दुई पटक प्रतिनिधि सभामा निर्वाचित भई मन्त्रीसमेत भइसकेका रामवीर मानन्धरलाई टिकट नदिएर श्याम घिमिरेलाई आधिकारिक उम्मेदवार बनाएपछि एमालेभित्र विवाद चुलिँदो छ । मानन्धरले बागी उम्मेदवारी दिएर चुनावी प्रचार थालेपछि एमाले कार्यकर्ता विभाजित भएका छन् । जसका कारण गठबन्धनका उम्मेदवारहरुलाई सहज भएको छ ।
 
माओवादी केन्द्रको प्रस्तावमा गठबन्धनका तर्फबाट प्रतिनिधि सभामा मानुषी यमी भट्टराई मतदाता माझ लोकप्रिय उम्मेदवारका रुपमा देखिएकी छिन् । प्रदेश सभा (क) मा नेकपा (एकीकृत समाजवादी) का बसन्त मानन्धर र प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका सविन तामाङ मतदातासँग सहज पहुँच विस्तार गरिरहेका छन् ।
रोजाइमा सविन तामाङ
राजधानी काठमाडौंको सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा २०५८ सालपछि दुई कार्यकाल नेविसंघको इकाइ समिति सभापतिको जिम्मेवारी सम्हालेका सविन तामाङ यतिबेला काठमाडौं ७ को प्रदेश सभा (ख) मा कांग्रेसका तर्फबाट सशक्त उम्मेदवार छन् ।

विद्यार्थी आन्दोलनबाट राजनीतिमा खारिएका र काठमाडौं क्षेत्र नम्बर ७ मा सामाजिक काम र पार्टीको संगठन विस्तारमा डेढ दशकदेखि क्रियाशील तामाङ स्थानीय स्तरमा लोकप्रिय छन् । स्वच्छ र निश्कलंकित छवि साथै इमान्दार, निष्ठावान र मतदातामाझै सहजै उपलब्ध हुने उनी प्रदेश सभामा उम्मेदवार बनेपछि बहुसंख्यक मतदाताले उनलाई विजयको आशीर्वाद दिइसकेको उनी आफैं दाबी गर्छन् । 

नेविसंघको केन्द्रीय सदस्य भइसकेका उनले आफ्नो क्षेत्रलाई समुन्नत र विकासको क्षेत्रमा अघि बढाउन प्रष्ट खाका अघि सारेको बताए । ‘राजनीतिमा लामो समयसम्मको क्रियाशीलता र सिकेको ज्ञानलाई कार्यान्वयनमा ल्याउन उम्मेदवारी दिएको हुँ । प्रदेशको औचित्य पुष्टि गर्दै संघीयता कार्यान्वयनका लागि मतदाताको अपार माया अवश्य पाउनेछु,’ उनले भने ।

‘नागार्जुन नगरपालिका वडा नम्बर १, २, ३ र तारकेश्वर नगरपालिका वडा नम्बर ३, ४, ५ का स्थानहरुका सम्भावना र चुनौतीहरु राम्रोसँग बुझेको छु । धार्मिक तथा पर्यटकीय स्थानहरु इचंगुनारायणदेखि जितपुरसम्मका धेरै काम गर्नुपर्नेछ । पूर्वाधार, पर्यटन, शिक्षा, स्वास्थ्य र खेलकुदका क्षेत्रमा जिम्मेवारीमा रहँदा पनि र नरहँदा पनि निरन्तर क्रियाशील हुनेछु,’ उनले आफ्नो लक्ष्य सुनाए । 

४२ वर्षको उम्मेरसम्म सोही क्षेत्रमा बसेर नजिकबाट बुझेकाले जानेर केही पनि गल्ती नगरेको उल्लेख गर्दै गलत कुराको साक्षी नहुने पनि तामाङले प्रतिबद्धता व्यक्त गरे ।

‘हिम्मत हार्दिन, बेइमान गर्दिन’
२०६२–०६३ को जनआन्दोलनताका सविन तामाङ क्याम्पसमा राजनीति गर्थे । उनकै अगुवाइमा काठमाडौंको प्रदर्शनी मार्ग र पुतलीसडक क्षेत्रमा निरंकुशता विरुद्ध आन्दोलनको आगो दन्काउँथे । आफू बसेको नागार्जुन १ मा रातभर आन्दोलनको योजना बनाउँथे र माछापोखरी, नयाँ बसपार्क, बालाजु, गंगबु क्षेत्रमा आन्दोलन चर्काउन युवा परिचालन गर्थे ।

जनआन्दोलनको सफलतापछि उनी क्याम्पसको राजनीतिसँगै आफ्नो क्षेत्रको विकासे काममा पनि क्रियाशील भए । ‘म मेरो क्षेत्रमा सबैसँग परिचित छु, सबैका घरघरमा पुगेको छु । सारोगारो पर्दा साथ दिएको छु । योजना भित्र्याउन सरकारी निकाय धाएको छु । आफ्नो क्षेत्रको समस्या लिएर नेता सुशील कोइराला, गगन थापा, अर्जुननरसिंह केसीलगायत दर्जनौं नेताहरुकहाँ पुगेको छु,’ उनले भने, ‘म कामको जस लिने भन्दा पनि काम गरेर देखाउने, हिम्मत नहार्ने र कसैमाथि बेइमान नगर्ने स्वभावको व्यक्ति हुँ । यसको मूल्यांकन अब गर्ने बेला भएको जस्तो लाग्छ । मतदाताले पक्कै न्याय गर्नुहुन्छ भन्नेमा ढुक्क छु ।’

उक्त प्रदेश सभामा एमालेका प्रकाश श्रेष्ठ उम्मेदवार छन् । यसअघि पनि प्रदेश सभामा विजयी भएका श्रेष्ठले मतदाता रिझाउने गरी काम नगरेको आरोप छ । योजनाहरु भित्र्याउन नसकेको र विजयी भएर गइसकेपछि फर्केर नहेरेको आरोप पनि उनीमाथि लागेको छ ।

एमालेमा देखिएको विग्रह र श्रेष्ठले मतदातामाथि गरेको घातबाट यस पटक कांग्रेसका सविन तामाङले फाइदा लिनसक्ने आंकलन गरिएको छ । प्रदेश सभा (ख) मा एमालेभन्दा गठबन्धनको मत २२ सयले बढी छ । 

यसपालि एमाले विभाजित रहेकाले मत एक ठाउँमा खस्ने संभावना न्यून छ । जसको प्रत्यक्ष फाइदा गठबन्धनले लिने निश्चित छ । उस्तै अवस्था प्रदेश सभा (क) मा पनि रहेकाले गठबन्धनका बसन्त मानन्धरले बाजी मार्नसक्ने मतदाताहरुले भविष्यवाणी गर्न थालिसकेका छन् । 

नयाँ अनुहारमा मतदाताको नजर
काठमाडौं ७ मा प्रतिनिधि सभातर्फकी मानुषी र प्रदेश सभा (ख) मा सविन नयाँ अनुहार हुन् । मुख्य प्रतिस्पर्धी एमालेले पनि नयाँ अनुहारलाई अघि सारेको छ । तर उक्त क्षेत्रमा सत्ता गठबन्धनको भोट एमालेको भन्दा लगभग पाँच हजार बढी छ । 

२०७९ बैैशाख ३० गते सम्पन्न स्थानीय तहको वडागत नतिजा अनुसार काठमाडौं ७ मा नेपाली कांग्रेस १४ हजार १ सय ७६, नेकपा (एकीकृत समाजवादी) ३ हजार ८ सय ३९ र माओवादी केन्द्रको ५ सय ७६ गरी जम्मा १८ हजार ५ सय ८२ मत छ । नेकपा एमालेको १२ हजार २ सय २ भोट छ भने राप्रपाको २ हजार भोट छ । उक्त क्षेत्रमा राप्रपाले ध्रुव विक्रम मल्ललाई अघि सारेको छ । 

तर एमालेसँग मोर्चाबन्दी गरेको छैन । यस पटक एमालेको मत पूर्ण रुपमा विभाजित छ । यसको प्रत्यक्ष फाइदा गठबन्धनका उम्मेदवारहरुले लिने निश्चित छ ।

गठबन्धनले विश्वविद्यालयका ‘ब्रिलियन्ट’, राजनीतिक तथा सामाजिक अभियन्ताका रुपमा क्रियाशील उम्दा युवा अनुहारलाई अघि सारेपछि मतदाताको नजर प्रदेश सभामा कांग्रेसका सविन तामाङ, नेकपा एसका बसन्त मानन्धर र प्रतिनिधि सभामा मानुषी यमी भट्टराईतर्फ सोझिएको अनुमान गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ