arrow

धोका दिनेले नै धोका पाउँदा

एमालेसँगको गठबन्धन उपेन्द्र यादवलाई निल्नु न ओकल्नु

सत्ता गठबन्धनलाई धोका दिएर एमालेसँग गठबन्धन गर्दा जसपालाई उल्टै बेफाइदा, कहाँ कहाँ भयो धोका ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ८ मंगलबार
uml-jasapa.jpg

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई नेकपा ( एमाले) सँग गरेको चुनावी गठबन्धन निल्नु न ओकल्नु भएको छ । एमालेसँगको गठबन्धनले पार्टीलाई फाइदा नपुगेको बरु उल्टै एमालेले फाइदा लिएको जसपाका नेताहरूको बुझाइ छ । 

जसपाका अध्यक्ष यादव अहिले धेरैजसो समय मधेसमै बस्ने गरेका छन् । काठमाडौं आए पनि एक दुई दिनमै मधेस फर्कने गरेका छन् । यादव सप्तरी पुगेको बेला दुई दिन अगाडि उनलाई स्थानीय नेताहरुले एमालेसँगको गठबन्धनले पार्टीलाई फाइदा नपुगेको ब्रिफिङ गरेका थिए । 

‘अध्यक्षज्यूले सुन्नु मात्र भयो । प्रतिक्रिया दिनु भएन । तर उहाँले पनि पनि यो महशुस गर्नु भएको जस्तो लाग्छ’ जसपा सप्तरीका एक नेताले भने ।एमालेसँगको गठबन्धनले सबैभन्दा नोक्सान जसपाका नेता इस्तियाक राईलाई भएको छ । राईले बाँके २ मा उम्मेदवारी दिएका छन् । त्यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धवलशमशेर राणाले पनि उम्मेदवारी दिएका छन् । एमालेले राणालाई सहयोग गर्ने प्रतिबद्धता गरेको छ । 

त्यसै क्षेत्रमा राईकै भतिजा सामसुल राईले स्वतन्त्र उम्मेदवारी दिएका छन् । अघिल्लो पटक इस्तियाक शहरी विकास मन्त्री हँदा सामसुल इस्तियाकको स्वकीय सचिव थिए । अहिले उनको पहिलो मिशन नै इस्तियाकलाई हराउनु हो । इस्तिायकलाई हराउनकै लागि सामसुलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

जसपाले एमालेसँग गठबन्धन गर्ने बित्तिकै प्रधानमन्त्री शेरबहादुर देउवाले इस्तियाकलाई सरकारबाट हटाएका  थिए ।  एमालेसँगको गठबन्धनबाट इस्तियाकको मन्त्री पद मात्र गएन चुनावमा जित्ने सम्भावना पनि ह्वात्तै घटेको छ । 

बाँके २ मा नेपाली कांग्रेसबाट उम्मेदवार सुदिपनरसिंह राणाले उम्मेदवारी दिएका छन् । त्यहाँ राणाले चुनाव जित्ने सम्भावना बढेको छ । कडा प्रतिष्पर्धा धवल र सुदिपबीचमै हुने देखिएको छ ।  

आफू नै अप्ठेरोमा परेका अध्यक्ष यादवले अब आफू पछिका दोश्रो नेता अशोक राईलाई जिताउन नसक्ने भएका छन् । जसपा  विभाजन हुने बेला  निर्णायक समयमा राईले यादवलाई साथ दिएका थिए । 

त्यसको गुन तिर्न यादवले यसपटक राईलाई जसरी पनि चुनाव जिताउने आश्वासन दिएका थिए । तर सुनसरी १ मा एमालेले राईलाई धोका दिएको छ । त्यस क्षेत्रमा जसपाबाट राईले उम्मेदवारी दिएका छन् । 

त्यसै क्षेत्रमा एमालेका नेता मनोज म्याङन्मोले स्वतन्त्र उम्मेदवारी दिएका छन् । म्याङन्मो धरानका पूर्व मेयर पनि हुन् । त्यसैले धरानमा उनको प्रभाव छ । एमालेका स्थानीय नेताहरु म्याङन्मोको पक्षमा खुलेर प्रचार गर्न थालेका छन् । यसबाट राईको जित्ने सम्भावना घटेको छ । 

सुनसरी १ मा कांग्रेसबाट सिताराम महताले उम्मेदवारी दिएका छन् । पछिल्लो समय महताको पक्षमा माहोल बढ्दै गएको छ । राई भने कमजोर देखिएका छन् । 

यस्तै स्थिति मोरङमा पनि छ ।  एमाले र जसपाबीच वार्ता हुँदा मोरङ ५ मा एमालेले जसपालाई छाड्ने सहमति भएको थियो । जस अनुसार मोरङ ५ मा जसपाले राजकुमार यादवलाई उम्मेदवार बनायो । तर त्यही क्षेत्रमा एमालेका नेता योगेन्द्र मण्डलले स्वतन्त्र उम्मेदवारी दिए । 

मोरङ एमालेका नेताहरुले अहिले मण्डलको पक्षमा खुलेर प्रचार प्रचार गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली भने मौन छन् । 

मोरङ ६ (ख) मा एमालेका नेता पर्शुराम बस्नेतले उम्मेदवारी दिएका छन् । त्यस क्षेत्रमा जसपाले उम्मेदवारी दिने सहमति भएको थियो । तर सहमति लागु भएन । 

जसपाका नेताहरुका अनुसार बारा ३ मा पनि एमालेले जसपालाई धोका दिएको छ । बारा ३ मा एमालको नेता अध्यानन्द पाण्डेले उम्मेदवारी दिएका छन् । त्यस क्षेत्रमा जसपाबाट रामबाबु यादवलाई उम्मेदवार बनाएको छ । 

रामबाबु अध्यक्ष उपेन्द्र यादवसँग निकट मानिन्छन् । एमालेकै कारण त्यस क्षेत्रमा रामबाबुले हार्ने अवस्था बारा ३ मा नेपाली कांग्रेसबाट फरमुल्लाह मन्सुरले उम्मेदवारी दिएका छन् । मन्सुर विजयी हुने सम्भवना बढेको छ । 

धनुषा २ मा एमालेले उमाशंकर अरगरैयालाई उम्मेदवार बनायो । अरगरैयाले लोसपा छाड्ने बित्तिकै एमालेबाट टिकट लिए । यसअघि अरगरैयाले जसपा अध्यक्ष यादवलाई पनि नराम्रोसँग धोका दिएका छन् । 

२०७४ को निर्वाचनमा उनले यादवकै पार्टीबाट चुनाव जितेका थिए । तर जसपा विभाजन हुने बेला यादवलाई धोका दिएर लोसपातिर लागेका थिए । 

जसपाले धनुषा २ मा गंगाराम यादवलाई उम्मेदवार बनाएको छ । धनुषा २ मा पनि एमालेबाट धोका पाएको जसपाका नेताहरुको बुझाई छ । 

त्यस क्षेत्रमा नेपाली कांग्रेसबाट रामकृष्ण यादवले उम्मेदवारी दिएका छन् । त्यहाँ रामकृष्णले चुनाव जित्ने सम्भावना ह्वात्तै बढेको छ । 

यादवले अन्तिम समयमा आएर सत्ताधारी गठबन्धन छाडेका थिए । बढी महत्वाकांक्षी भएका कारण उनले गठबन्धन छाडेर एमालेसँग सहकार्य गर्न गए । तर एमालेले धोका दिएपछि अहिले यादवले टाउको समातेका छन् । 

त्यतिमात्र हैन यादव आफैंले जित्नेसमेत टुङ्गो नभएपछि बाँकी नेताहरुलाई जिताउने सम्भावना पनि कम हुँदै गएको छ । अहिले सत्ताधारी गठबन्धनका नेताहरुले यादवको स्थिति देखेर ‘धोका दिनेले धोका पाए’ भनिरहेका छन् । 


 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ