arrow

नागरिकता विधेयकविरोधी एमालेसँग घाँटी जोड्दा जसपालाई मधेसमा भोट माग्न सकस 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ९ बुधबार
upendra-yadav-jasapa.jpg

काठमाडाैं । नागरिकता विधेयकको विरोधमा उभिएको नेकपा एमालेसँग गठबन्धन गरेपछि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसहित पार्टीका उम्मेदवारहरुलाई मधेसमा भोट माग्न सकस परेको छ । 

नागरिकता विधेयक मधेस केन्द्रित दुई दल जसपा र लोकतान्त्रिक समाजवादी पार्टीको पहिलो एजेण्डा हो । २०६४ सालदेखि नै मधेस केन्द्रित दलहरूले नागरिकता विधेयकको मागलाई पहिलो एजेण्डा बनाउँदै आएका छन् । 

मधेस आन्दोलनका क्रममा दर्जनौंको निधन भएको छ भने सयौं घाइते भएका छन् । नागरिकता विधेयक तराई मधेससँग सोझै जोडिएको छ । त्यसैले मधेस गई  कसैले नागरिकता विधेयकको विरोध गर्न सक्दैनन् । 

तर नागरिकता विधेयक पास हुन नदिएको एमालेसँग जसपाले घाँटी जोडेको छ । यसबाट जसपाका उम्मेदवारहरुलाई भोट माग्न गाह्रो परेको छ । ‘यो भनेको व्यक्तिगत स्वार्थको लागि सिद्धान्त र एजेण्डालाई सरासर कुल्चिएको हो’ स्वतन्त्र नागरिक समाजवका अध्यक्ष गणेश मण्डलले भने, ‘जसपाले आफ्नो मुद्दा चटक्कै बिर्सेको छ भन्ने पुष्टि भएको छ ।’

नागरिकता विधेयक पास नभएको कारण तराई मधेसका ६ लाख नागरिकले नागरिकता पाउनबाट बञ्चित भएको मधेस केन्द्रित दलका नेताहरूले बारम्बार भन्दै आएका छन् । 

यो मुद्धालाई मधेसमा उम्मेदवारी दिएका नेताहरूले आफ्नो पहिलो एजेण्डा बनाउने निश्चित छ । तर एमालेसँगको तालमेलले जसपाका उम्मेदवारहरुलाई यो मुद्दा उठाउन नैतिक रूपमा समस्या परेको छ । 

एमाले नागरिकता विधेयकको विपक्षमा उभिएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) समेत एमालेसँग सहकार्य गर्न तयार थिएन ।  

जबकि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा अन्तिम समयमा लोसपाले ओलीलाई साथ दिएको थियो । त्यो सम्बन्ध लोसपाका नेताहरुले पछिसम्म कायमै राखेका थिए ।  

तर एमालेसँग चुनावी गठबन्धन गर्न लोसपा हिच्किचायो । अन्तिम समयमसम्म पनि लोसपाले एमालेसँग सहकार्य गर्न चाहेन । बरु एक्लै चुनाव लड्न तयार भयो, एमालेसँग सहकार्य गर्न लोसपाका नेताहरु तयार भएनन् । 

‘एमालेसँग सहकार्य गरेको भए त्यो अप्राकृतिक र मधेस विरोधी हुने थियो’ लोसपाका कार्यकारिणी समितिका सदस्य डा. सुरेन्द्र झाले भने, ‘मैले शुरुदेखि नै एमालेसँग सहकार्य गर्नु हुँदैन भन्ने अडान राखेको थिएँ । अन्ततः पार्टी मैले भनेको बाटोमा आयो ।’ 

एमाले अध्यक्ष ओलीले शुरुदेखि नै मधेस विरोधी छवि बनाए । मधेस आन्दोलनको क्रममा मधेस र मधेसी जनतालाई अपमान हुने गरी थुप्रै अभिव्यक्ति दिएका थिए । 

चाहे नाकाबन्दीका बेला होस्, चाहे मधेसमा गरिएको साङ्ले आन्दोलनको बेला होस्, ओलीले मधेसीको अपमान गरेका थिए । त्यसैले ओलीलाई मधेस पस्न कठिनाइ थियो । 

तर जसपासँगको सहकार्यले ओलीलाई मधेस जाने बहाना बनेको छ । एमालेले ५२ सिटमा जसपासँग सहकार्य गरेको छ । जसपामा एमालेले ३५ तथा जसपाले १७ सिटमा उम्मेदवारी दिने सहमति गरेका छन् । केही ठाउँमा सहमति विपरीत एमालेले उम्मेदवार बनाएको छ । 

एमालेले जसपासँग गरेको तालमेल अधिकांश तराई मधेसमै छन् । गत स्थानीय तहको निर्वाचनको परिणामलाई हेर्दा मधेस प्रदेशका ३२ सिटमध्ये सप्तरी र बाराका  ६ सिटमा मात्र एमाले–जसपाको भोट अगाडि छ । अन्य सिटमा गठबन्धनकै भोट अगाडि छ । 

त्यसमा पनि एमाले र जसपाको गठबन्धनले जसपा बलियो भएको ठाउँमा समेत जसपाको भोट भड्किएको छ । यसले आगामी संसदीय तथा प्रदेश सभाको निर्वाचनमा जसपालाई उल्टै घाटा हुने निश्चित छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ