- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अन्तिम समयमा सत्तारुढ गठबन्धनबाट अलग्गिएका जनता समाजवादी पार्टी जसपाका शीर्ष नेताहरूलाई यही मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचन निकै महंगो सावित हुने भएको छ ।
त्यस पार्टीका शीर्ष नेताहरू नै रेडजोनमा परेका छन् । उनीहरूलाई चुनाव जित्न फलामका च्युरा चपाउनु सरह हुनेछ । जसपाले प्रतिनिधि सभामा देशभर ८१ सिटमा उम्मेदवारी दिएको छ । मधेस प्रदेशमा मात्रै १७ सिटमा उम्मेदवारी दिएको छ । यसैगरी प्रदेश सभातर्फ देशभर १ सय ४३ सिटमा उम्मेदवारी दिएको छ । मधेस प्रदेशमा मात्र ३६ सिटमा उम्मेदवारी दिएको छ ।
जसपा अध्यक्ष उपेन्द्र यादवको रणनीति, एमालेसँग गठबन्धन गरेर मधेस प्रदेशमा सरकार बनाउने, सरकार बनाउन नसके ठूलो दल बनाइ मुख्यमन्त्री आफूले लिने, केन्द्रमा लोसपाभन्दा ठूलो दल बन्ने र २०७४ को चुनावको तुलनामा धेरै सिट जित्ने थियो । तर यादवको यो सपना अब सपनामै सीमित हुने पक्का भएको छ ।
किनभने जसपाले अघि सारेका उम्मेदवारहरु अहिले प्रतिष्पर्धी उम्मेदवारभन्दा धेरै पछि छन् । यहाँसम्म कि मधेसमा जसपाभन्दा लोसपा अगाडि देखिएको छ । लोसपाका सबै शीर्ष नेताहरु सुरक्षित रहेको बेला जसपाका शीर्ष नेताहरु भने जोखिममा देखिएका छन् ।
एमालेसँग गरेको चुनावी गठबन्धनका कारण नै जसपाका शीर्ष नेताहरुलाई चुनाव जित्न अप्ठेरो भएको हो । चुनावी तालमेल गरेको भए पनि सोही अनुसार एमालेले इमानदारी नदेखाएपछि जसपाका शीर्ष नेताहरु नै हारको जोखिममा परेका हुन् ।
काठमाडाैंमा राजेन्द्र श्रेष्ठलाई एमालेबाटै धोका
जसपाका तेस्रो नेता राजेन्द्र श्रेष्ठलाई पनि एमालेबाटै धोका भएको छ । श्रेष्ठले काठमाडौं ७ मा उम्मेदवारी दिएका छन् । काठमाडौं ७ मा एमालेले पनि उम्मेदवारी दिएको छ ।
काठमाडाैं ७ मा एमालेबाट श्याम घिमिरेले उम्मेदवारी दिएका छन् । यसबाट श्रेष्ठ निकै कमजोर भएका छन् । अहिले उनी प्रतिष्पर्धामै छैनन् । काठमाडाैं ७ मा एमाले र जसपाले मित्रवत प्रतिष्पर्धा गर्ने भनेका छन् । जसपा स्रोतका अनुसार शुरुमा काठमाडौं ७ जसपालाई छाड्ने सहमति भएको थियो । तर अन्तिम समयमा एमालेले जसपालाई धोका दिएको छ ।
काठमाडौं श्रेष्ठको गृह जिल्ला भए पनि उनको प्रभाव छैन । यस क्षेत्रमा गठबन्धनबाट मानुषी यमीले उम्मेदवारी दिएकी छिन् । उनी जित नजिक पुगेको स्थानीयबासीको भनाइ छ । मानुषी डा. बाबुराम भट्टराईकी छोरी हुन् ।
राजकिशोरलाई चुनाव जित्न मुस्किल
जसपाका अर्का शीर्ष नेता राजकिशोर यादवलाई पनि चुनाव जित्न मुस्किल पर्ने भएको छ । उनले सिराहा २ मा उम्मेदवारी दिएका छन् । गत स्थानीय तहमा वडाध्यक्षमा पार्टीहरुले ल्याएको मतको आधारमा सिराहा २ मा गठबन्धन अगाडि छ ।
सिरहा २ मा जसपाको भोट २१ हजार ९७ मात्र छ । यसैगरी नेपाली कांग्रेसको १९ हजार ४७४, एमालेको १८ हजार ३५८, माओवादी केन्द्रको ११ हजार ६५८, जनमत पार्टीको ५ हजार १०१, नेकपा एसको ३ हजार ९२३, लोसपाको ९७९ मत छ । सिराहा २ मा नेपाली कांग्रेसबाट चित्रलेखा यादवले उम्मेदवारी दिएकी छिन् । उनलाई माओवादी, लोसपा र नेकपा (एस) ले साथ दिएको छ । त्यसले उनी अगाडि छिन् ।
इस्तियाकलाई दोहोरो नोक्सान
एमालेसँगको गठबन्धनले सबैभन्दा नोक्सान जसपाका नेता इस्तियाक राइलाई भएको छ । राईले बाँके २ मा उम्मेदवारी दिएका छन् । त्यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धवलशमसेर राणाले पनि उम्मेदवारी दिएका छन् । एमालेले राणालाई सहयोग गर्ने प्रतिबद्धता गरेको छ ।
त्यसै क्षेत्रमा राईकै भतिजा सामसुल राईले स्वतन्त्र उम्मेदवारी दिएका छन् । अघिल्लो पटक इस्तियाक शहरी विकास मन्त्री हँदा सामसुल इस्तियाकको स्वकीय सचिव थिए । अहिले उनको पहिलो मिशन नै इस्तियाकलाई हराउनु हो । इस्तियाकलाई हराउनकै लागि सामसुलले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
जसपाले एमालेसँग गठबन्धन गर्ने बित्तिकै प्रधानमन्त्री शेरबहादुर देउवाले इस्तियाकलाई सरकारबाट हटाएका थिए । एमालेसँगको गठबन्धनबाट इस्तियाकको मन्त्री पद मात्र गएन, चुनावमा जित्ने सम्भावना पनि ह्वात्तै घटेको छ ।
बाँके २ मा नेपाली कांग्रेसबाट उम्मेदवार सुदिपनरसिंह राणाले उम्मेदवारी दिएका छन् ।
त्यहाँ राणाले चुनाव जित्ने सम्भावना बढेको छ । कडा प्रतिष्पर्धा धवल र सुदिपबीचमै छ ।
रामबाबुलाई धोका
जसपाका अर्का शीर्ष नेता रामबाबु यादवलाई पनि एमालेबाटै धोका भएको छ । जसपाका नेताहरुका अनुसार बारा ३ मा पनि एमालेले जसपालाई धोका दिएको छ ।
बारा ३ मा एमालेका नेता अध्यानन्द पाण्डेले उम्मेदवारी दिएका छन् । त्यस क्षेत्रमा जसपाबाट रामबाबु यादवलाई उम्मेदवार बनाएको छ ।
रामबाबु अध्यक्ष उपेन्द्र यादवसँग निकट मानिन्छन् । एमालेकै कारण त्यस क्षेत्रमा रामबाबुले हार्ने अवस्था आएको हो । बारा ३ मा नेपाली कांग्रेसबाट फरमुल्लाह मन्सुरले उम्मेदवारी दिएका छन् । मन्सुर विजयी हुने सम्भावना बढेको छ ।
पहिलो र दोश्रो नेता हार्दै
जसपाका अध्यक्ष उपेन्द्र यादव र दोश्रो नेता अशोक राईलाई यसपटक चुनाव जित्न धेरै नै कठिन छ । अध्यक्ष यादवलाई सप्तरी २ मा निकै गाह्रो परेको छ ।
स्थानीय तहमा पार्टीहरुले ल्याएको मत परिणाम हेर्दा यादवलाई कठिन देखिएको हो । गत वर्ष सम्पन्न स्थानीय तहमा वडाध्यक्षले ल्याएको मत परिणाम हेर्दा यादव लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) उम्मेदवार भन्दा धेरै पछि छन् ।
उपेन्द्र यादव १२ हजार भोटले पछि
सप्तरी २ मा जसपाको भोट १४ हजार ४०३ मात्र हो । त्यस क्षेत्रमा नेपाली कांग्रेस, माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले ल्याएको भोट जोड्दा १२ हजार भन्दा धेरैले भोटले जसपा भन्दा अगाडि छ ।
गत स्थानीय तहमा सप्तरी २ मा नेपाली कांग्रेसले १० हजार ८ सय ४, लोसपाले १० हजार ४ सय ३५ तथा माओवादीले ९ हजार ५ सय ३४ भोट ल्याएका छन् ।
सप्तरी २ मा एमालेको भोट ५ हजार ९ सय ५१ मात्र छ । यसैगरी त्यस क्षेत्रमा जनमत पार्टीले ४ हजार ५ सय ४२ भोट ल्याएको छ ।
त्यस क्षेत्रमा नेकपा एसको २ हजार ४ सय ८ भोट छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीको १ हजार ४८ भोट छ ।
सप्तरी २ मा उपेन्द्रलाई एमालेले साथ दिएको छ भने लोसपाका उम्मेदवार जयप्रकाश ठाकुरलाई नेपाली कांग्रेस, माओवादी केन्द्र तथा नेकपा (एस) ले साथ दिएका छन् ।
जसपा र एमालेको भोट जोड्दा करिब २० हजार हुन्छ । तर लोसपा, नेपाली कांग्रेस, माओवादी केन्द्र र एसको भोट जोड्दा ३२ हजार भन्दा बढी हुन्छ ।
यस हिसाबबाट हेर्दा यादवलाई चुनाव जित्न निकै कठिन छ । त्यहाँ लोसपाका उम्मेदवार ठाकुर अगाडि छन् । राई जसपाका दोश्रो नेता मानिन्छन् । उनले पनि प्रत्यक्ष्यतर्फ उम्मेदवारी दिएका छन् ।
जसपा विभाजन हुने बेला निर्णायक समयमा राईले यादवलाई साथ दिएका थिए । त्यसको गन तिर्न यादवले यसपटक राईलाई जसरी पनि चुनाव जिताउने आश्वासन दिएका थिए । तर सुनसरी १ मा एमालेले राईलाई धोका दिएको छ ।
त्यस क्षेत्रमा जसपाबाट राईले उम्मेदवारी दिएका छन् । त्यसै क्षेत्रमा एमालेका नेता मनोज म्याङन्मोले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
म्याङन्मो धरानका पूर्व मेयर पनि हुन । त्यसैले धरानमा उनको प्रभाव छ । एमालेका स्थानीय नेताहरु म्याङन्मोको पक्षमा खुलेर प्रचार गर्न थालेका छन् । यसबाट राईको जित्ने सम्भावना घटेको छ ।
सुनसरी १ मा नेपाली कांग्रेसबाट सिताराम महताले उम्मेदवारी दिएका छन् । पछिल्लो समय महताको पक्षमा माहोल बढ्दै गएको छ । राई भने कमजोर देखिएका छन् ।
गत स्थानीय तहमा वडाध्यक्षमा पार्टीहरुले ल्याएको भोट हेर्ने हो भने सुनसरी १ मा गठबन्धन धेरै अगािड छ । सुनसरी १ मा एमालेको भोट ३३ हजार ४५३, कांग्रेसको २६ हजार ६६४, माओवादीको ७ हजार १८ तथा राप्रपाको भोट ४ हजार ७४ छ ।