arrow

राजस्व अनुसन्धान कार्यालय बुटवलद्धारा राजस्व चुहावटमा कडाई, ६० लाख बढी राजस्व संकलन

logo
नारायण वली,
प्रकाशित २०७९ कार्तिक १८ शुक्रबार
rajaswa karyalay butwal 3.jpg

रुपन्देही । गत आर्थिक वर्ष २०७८–७९ मा राजस्व अनुसन्धान कार्यालय बुटवलले राजस्व छलि गरेर कारोबार गर्नेहरुमाथि कडाई साथ नियमन गरेपछि कार्यालयमा दर्ता भएका १ सय ११ वटा मुद्धाहरुमध्ये ७५ वटा मुद्धाहरुको अनुसन्धान गरिसकेको छ भने ८ वटालाई मुद्धा दायर गरेको बताएको छ । 

राजस्व चुहावट सम्बन्धी दर्ता भएका मुद्धाहरुमध्ये १४ वटा विदेशी विनिमय शीर्षकमा रहेको र जसमध्ये ८ वटा अनुसन्धान सम्पन्न भइसकेको र ६ वटालाई मुद्धा दायर गरिएको राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख राजेश पन्थीले जनाए ।

उनका अनुसार गत आर्थिक वर्षमा भीसीटीएस परिचालन १ सय १३ पटक गरिएको र जसबाट राजस्व छलि गरेर कारोबार गरेकाहरुलाई नियन्त्रणमा लिएर ५८ लाख ५६ हजार ६ सय ४४ रुपैयाँ जरिवाना बापत रकम असुली गरिएको बताइएको छ । 

कार्यालयले दिएको तथ्याङ्कमा उल्लेख भएअनुसार चालु आर्थिक वर्ष २०७९–८० को कार्तिक १७ गतेसम्मको विवरणमा हेर्दा राजस्व चुहावट सम्बन्धी ४९ वटा सूचना दर्ता भएका छन् । १६ वटाको अनुसन्धान भइसकेको र ३ वटालाई मुद्धा दर्ता गरिएको छ । विदेशी विनिमय सम्बन्धी १० वटा सूचना दर्ता भएका छन् भने २ वटाको अनुसन्धान सम्पन्न भएको र २ वटालाई मुद्धा दायर गरिएको उल्लेख छ । 

कार्यालयका प्रमुख पन्थीले कार्यालयमा दरबन्दी अनुसार कर्मचारी अभाव रहेको बताए । २ जना नायव सुब्बा, २ जना अधिकृत रिक्त हुँदा सरकारी वकिल समूहको नायव सुब्बासमेत नहुँदा मुद्धा प्रक्रियामा समस्या भएको उनले बताए । उनी भन्छन्, 'कर्मचारी सीमित हुँदा अनुसन्धानलाई सशक्त एवं प्रभावकारी रुपमा अगाडि बढाउन सोचे अनुरुप तीव्रता पाउन सकेको छैन ।' 

गत बैशाख महिनादेखि कार्तिक १७ गतेसम्म राजस्व अनुसन्धान कार्यालय बुटवलले भीसीटीएस (बिलबिजक) चेकजाँच ३० पटक गरिएको जनाएको छ । जसबाट नियम विपरीत कारोबार गरेकाहरुबाट जरिवाना बापत २ लाख रुपैयाँ गरी कुल ६० लाख ५६ हजार ६ सय ४४ रुपैयाँ राजस्व संकलन भएको जनाइएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ