arrow

शान्ति प्रक्रियाका सूत्रधार अविचलित सिटौला

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २१ सोमबार
krishna-prasad-sitaula-election-2079.jpg

काठमाडौं । झापामा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिस्पर्धा गरिरहेको क्षेत्रमा चुनावी रौनक थपिएको छ । 

माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन महत्वपूर्ण भूमिका खेलेका सिटौला आफू गृहमन्त्री हुँदा नै हारेका भए पनि हारबाट विचलित नभई निरन्तर त्यहीँबाट चुनाव लडिरहेका छन् ।

यतिबेला यो क्षेत्रको चुनावलाई लिएर व्यवस्थाको पक्षधर र व्यवस्थाको विरोधीबीचको लडाइँको रुपमा हेरिएको छ । राजतन्त्रको वकालत गर्ने राजेन्द्र लिङदेनलाई एमालेले सहयोग गर्ने अवस्था बनेपछि अहिलेको लडाइँ व्यवस्था विरोधीको विरुद्धमा सिटौलाले उम्मेदवारी दिएको बताइएको छ । 

एमालेका धेरैजसो नेता कार्यकर्ता असन्तुष्ट रहेका कारण पनि यसपल्ट सिटौलाका लागि यो क्षेत्र सहज हुने देखिएको छ । 

पञ्च राजनीतिका चतुर खेलाडी कमल थापालाई राप्रपा अध्यक्षमा पराजित गरेर लिङ्देन चर्चामा आएपछि उनले विगतको क्षेत्रलाई पनि छोडेका छैनन् । 

विगतमा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा निर्वाचनमा सहभागी भएका लिङ्देनले झापा ५ मा ओलीलाई सहयोग गर्ने गरी आफूलाई एमालेको समर्थन लिएका छन् । 

तर झापाली मतदाताले राजतन्त्रको पहरेदार रहेका लिङदेनको भन्दा व्यवस्थाको रक्षक सिटौलाको पक्षमा माहोल बनाइरहेको बुझिन्छ ।   

२०७४ सालको प्रतिनिधि सभामा पूर्वपञ्चको पार्टी राप्रपाको तर्फबाट बिउ जोगाएका लिङ्देन यसपटक पनि नेकपा एमालेको समर्थनमा संसदमा आउने योजनामा मात्रै छैनन् उनीसहित अन्य नेताहरुलाई पनि एमालेकै बलमा प्रतिनिधि सभा छिर्ने तयारीमा छन् । 

‘यदि पूर्व पञ्चहरुले यसपल्ट पाँच सिट जित्ने अवस्था बनेमा एमालेमाथि व्यवस्था विरोधी तत्वहरुलाई मलजल गरेको आरोप लाग्नेछ’, झापाका एक एमाले नेताले भने । 

उनका अनुसार यसपटक गठबन्धन भए पनि सिटौलालाई मत हालेर व्यवस्था विरोधी नेताहरुलाई सबक सिकाउनु पर्नेछ । ‘हामी सबक सिकाउँदैछौं’, ती नेताले भने । 

२०७४ सालको चुनावमा एमाले समेतको समर्थनमा लिङ्देनले ४४ हजार ६ सय १६ मत प्राप्त गर्दा सिटौलाले ३१ हजार १ सय ७१ मत प्राप्त गरेका थिए । 

सत्ता गठबन्धनका सिटको बाँडफाँट मिलाउने जिम्मा पाएका सिटौलालाई यसपटक माओवादीका पूर्णसिंह राजवंशीको साथ रहेको छ । 

उनी सिटौलाकै प्यानलबाट प्रदेश सभामा उम्मेदवार छन् । २०६४ सालको संविधान सभा निर्वाचनमा बहालवाला गृहमन्त्री सिटौलालाई पराजित गरेर राजवंशी चर्चामा आएका थिए । 

स्थानीय तह निर्वाचनको वडागत मतको आधारमा झापा – ३ मा कांग्रेसले २५ हजार ९४९ प्राप्त गर्दा दोस्रो स्थानमा रहेको राप्रपाले २१ हजार १५९ मत पाएको थियो । 

तेस्रो स्थानमा रहेको एमालेले २१ हजार ८५ मत पाउँदा माओवादीले ६ हजार ६८८ मत प्राप्त गरेको थियो । एमालेको समर्थनमा लिङ्देन जित दोहोर्याउने अभियानमा छन् ।  

माओवादी सहितको गठबन्धनको बलमा विगतको हारको बदला लिने प्रयासमा सिटौला देखिन्छन् । 

‘उहाँलाई हाम्रो पनि भित्री समर्थन रहेको छ’, एमालेका ती नेताको दाबी छ । यसपालि कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चा गठबन्धनमा छन् । 

यो गठबन्धनबाट सिटौला साझा उम्मेदवार हुन् । सिटौला ०७४ को चुनावमा पराजित भएपछि धेरैजसो समय निर्वाचन क्षेत्रमै बिताइरहेका थिए । 

पार्टीका कुनै जिम्मेवारीमा हाल नरहेका उनी प्रायः झापातिरै हुने गरेका थिए । उनी निकटले झापामा स्थानीय तह जितेका छन् भने कांग्रेसको प्रदेश नम्बर १ सभापतिसम्म जितेका छन् । 

कार्यकर्ता व्यवस्थापनमा सिटौला माहिर देखिन्छन् । त्यसकारण पनि उनले यसपल्ट सबैलाई मिलाएर लैजान खोजेका कारण आफूलाई जित निकाल्न सहज बनाएका छन् । 

बागीले झन् सहज 
नेकपा एमाले झापाले जिल्ला कमिटी सदस्य डम्बरबहादुर गिरीलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि उनी स्वतन्त्र उम्मेदवार भएका छन् । 

नेकपा एमाले र राप्रपाले तालमेल गरी चुनावी मैदानमा उत्रिएका बेला हल्दिबारी निवासी गिरीले झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदमा बागी उम्मेदवारी दिएका छन् । 

जिल्ला सदस्य गिरीले पार्टी अनुशासन उल्लंघन गरेकाले पार्टीका सबै जिम्मेवारी र साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको भए पनि उनी बागी उठेकोमा एमालेका नेता कार्यकर्ताहरुले उनलाई सहयोग गर्ने अवस्था छ । 

एमालेको सहयोगमा झापा नम्बर ३ बाट राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले उम्मेदवारी दिएपछि लिङ्देनविरुद्ध गिरीले उम्मेदवारी दिएका छन् । गिरीले एमालेसमेत परित्याग नगरी स्वतन्त्र उम्मेदवारी दिएर सूर्यमुखी फूल चुनाव चिन्ह लिएर मत मागिरहेका छन् । 

 को हुन् सिटौला ? 
सुशील कोइराला कांग्रेसको सभापति हुँदा सिटौला महामन्त्री रहेका थिए । लामो समय कांग्रेसको उपल्लो तहमा बसेर काम गरेका सिटौला विगतमा कोइराला परिवारका नजिकका नेता मानिन्थे । 

२०६३ सालमा गृहमन्त्री र उपप्रधानमन्त्री भइसकेका सिटौला कांग्रेसभित्र छुट्टै पहिचान बनाएका राष्ट्रिय व्यक्तित्व हुन् । 

उनले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउँदा अहम् भूमिका खेलेका थिए । उनी तत्कालीन प्रधानमन्त्री एवं कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र थिए । सोही कारण पनि कोइरालाले माओवादीसँगको शान्तिवार्ताका लागि गिरिजाबाबुले सिटाैलालाई नै रोजेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ