arrow

भ्रष्टाचारबारे बहस गर्न गगन चुनौती दिने केपी ओली भाग्ने 

logo
केदार सुवेदी,
प्रकाशित २०७९ कार्तिक २६ शनिबार
gagan-thapa-kp-oli-parliament.jpg

सामान्यतया संसदमा उठेका–उठाइएका कुनै पनि प्रश्नमा सरकारले उत्तर दिनु पर्छ । त्यसमाथि सरकारका प्रमुख प्रधानमन्त्रीसँग जोडिएर आउने कुनै पनि प्रश्नहरु त निरुत्तरित रहनै हुँदैन । त्यस्तो भयो भने प्रधानमन्त्रीमाथि संसद भित्रबाट लागेको आरोप स्थापित भएको मानिन्छ । 

नेकपाको दुईतिहाई नजिक रहेको संसदमा प्रधानमन्त्री यस्तो जवाफ दिनबाट प्रायः सधै तर्किने र भाग्ने गरेको देखियो । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सांसद गगनकुमार थापाका प्रश्नसँग उनको कार्यकाल भरी डराइरहे । त्यस्ता प्रश्नहरुको जवाफ दिनुको साटो असमयमा नै अघिवेशन नै अन्त्य गरिदिएर ढुक्क हुन खोजेकोेसम्म देखियो । 

देश कोरोना महामारीले थलिँदै गएको वर्ष २०७७ को प्रारम्भ कालमा नै खासगरी औषधि उपकरण खरिदमा ठूलो भ्रष्टाचार भएको कुरा देशव्यापी भयो । यो महामारीलाई ओली नेतृत्वको सरकारले सकेसम्म लुट्ने अवसरका रुपमा लिएको बुझाइ आमतहमा फैलियो । 

भ्रष्टाचारको तह कस्तो भने त्यो वर्ष खासगरी कोरोना रोकथामका नाममा भएको खर्चको अंक ९० अर्बको रहेको र हिसाब भने ६० अर्बको मात्र देखिएको भनी महालेखाको ५९ औं  प्रतिवेदनमा उल्लेख भएको छ । 

वास्तवमा भैरहेको पनि त्यस्तै थियो । जस्तै लकडाउन लगाएर, मन्त्रीहरुका सन्तानका  संलग्नता रहेको कुनै एउटा कम्पनी (जो पछि ओम्नी काण्डबाट परिचित भयो) लाई  बिना प्रतिस्पर्धा ठाडो प्रकारले अर्बौका यस्ता सामग्री खरिद गर्न दिइएको र उसबाट परलमोलको ४० गुनासम्म बढी हुने गरी खरिद गरिएका घटना त्यसबेला सञ्चार माध्यममा आइरहे । 

यही क्रममा त्यो वर्षको जेठ अन्तिमतिर करिब दुई महिनाका बीचमा कोरोनाका नाममा १० अर्ब रुपैयाँ खर्च भएको भनी ओली सरकारले बिना फाँटवारीको एकमुष्ट खर्च देखायो । यो खर्चको विवरण दिइयोस् भनी नागरिक समाजका तर्फबाट यता अनसन शुरु भयो भने उता संसदमा पनि यो विषयले प्रवेश पायो । 

यो खर्चको विवरण तुरुन्त संसदमा प्रस्तुत गरियोस् भनी प्रमुख प्रतिपक्ष दलका तर्फबाट जोडदार माग गर्ने सांसद थिए गगन । तर प्रधानमन्त्री ओलीले खर्चको विवरण त दिएनन् बरु नेपाली कांगे्रससँग उनले आग्रह गरे – यो १० अर्बको हिसाब अहिले नखोजियोस् । 

सार्वजनिक कोषबाट खर्च भएको रकमको हिसाव दिइँदैन भने यसलाई सामान्यरुपले लिन मिल्दैन । जब प्रधानमन्त्रीले कांग्रेस दलसँग हिसाव नखोज्न भने त्यसपछि यस्तो हिसाब मागिरहेका गगनहरुलाई झन आक्रोशित बनायो । यो जेठ २७ को कुरा हो 

प्रधानमन्त्रीले खर्च नमाग भनेपछि गगनले थप प्रश्न सोधे । त्यसदिन जवाफ पाउँ भन्दै उनले संसदमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भनी त्यसदिन राखेका प्रश्नहरु –

एकः भ्रष्टाचार  प्रकरणका एकएक सूची राखेर (खासगरी स्वास्थ्य सामग्री) संसदमा छलफल गर्न म प्रधामन्त्रीलाई खुला आह्वान गर्छु, के तपाईँ त्यसका लागि तयार हुनुहुन्छ प्रधानमन्त्रीज्यू ?

दुईः जुन अवस्थामा भारतबाट मानिसहरु ल्याइएका छन्, ती व्यक्ति हुन् कि नेपाली नागरिक हुन् ? 

तीनः सरकारले ५ वटा पीसीआर मेसिन किनेको छ, तर पाँच वटै किन चल्दैन ? किन यस्तो भयो ?

चारः क्वारेन्टाइनबारे आफूले बनाएको मापदण्ड पढ्नुभएको छ ?

पाँचः हामीमा रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेर कसले भन्यो ? के आधारमा हामीले यो भनिरहेका छौं ?

छः नेपालमा मृत्यु भएकाहरुको उमेर र संख्याका आधारमा विश्वब्यापी रुपमा मृत्यु भएकाहरु अनुसार दाँजेर हेर्नुभएको छ ?

सातः नेपाली नागरिकको बारेमा चिन्ता गर्ने, ती आउँदैछन् भन्ने जानकारी राख्ने, तिनको लागि क्वारेन्टाइन राख्ने सम्माननीय प्रधानमन्त्रीको सरकारको काम हो वा हामीले गरिदिनुपर्ने ?

आठः सावधानीपूर्वक सबै तयारी गरेको भए आज कसैलाई दोष दिएर बस्नुपथ्र्यो वा आज हामी एउटा पनि कोरोना संक्रमण नभएको वा कम भएकोमा न्यूजिल्याण्डको प्रधानमन्त्री नाचेको जस्तो हाम्रो प्रधानमन्त्री पनि नाच्नु भएको देख्न पाउँदा कति खुशी हुन्थ्यौं ?

यी कुनै प्रश्नको प्रधानमन्त्रीले उत्तर दिएनन् । 

यता गगनले पनि प्रश्न गर्न छाडेनन् । खासगरी कोरोना नियन्त्रणसँग जोडिएका कुनै पनि कुरामा भ्रष्टाचार चुलिँदै गयो । 

गगनहरुले प्रमाणहरुका साथ प्रधानमन्त्रीसँग  प्रश्न सोधिनै रहे । तर प्रधानमन्त्री यो विषयमा उत्तर दिन तयार भएनन् बरु अधिवेशन नै अन्त्य गर्नेतर्फ लागे । गगनहरुले यस्तो चुनौती दिइरहेकै बेला त्यो वर्षको असार १२ मा सभामुखलाई समेत जानकारी नदिइ प्रतिनिधि सभाको चलिरहेको अधिवेशन अन्त्य गरियो । विगतका कुनैपनि वर्षहरुमा सामान्यतया वर्षे अधिवेशन भदौको अन्त्यसम्म चल्ने गर्थे । 

संविधानमा वर्षे र हिउँदे अधिवेशनको समयअन्तर छ महिनाभन्दा बढी  हुन नहुने भन्ने छ ।  पुस ११ मा छ महिना पुग्ने थियो । तर पुस ५ मा ओलीबाट गगनहरुले यस्ता प्रश्न सोध्ने प्रतिनिनिध सभा नै विघटनमा पर्यो । जसले गर्दा कोरोनालाई निहुँ बनाएर गरिएको ठूलो अंकको भ्रष्टाचार बारेका प्रश्नहरु निरुत्तरित रहन गए । 

५ पुसमा विघटित यो सभा ११ फागुनमा अदालतबाट पुनस्थापित त भयो तर त्यसपछि बसेको सभाको कुनै पनि बैठकमा प्रधानमन्त्री ओली उपस्थित नै भएनन् । 

यसरी महामारी ग्रस्त अवस्थाको जननिर्वाचित थलो संसद २०७७ सालभर यसरी निस्कृय बन्न गयो । बनाइयो । 

अघिल्लो वर्ष पनि भ्रष्टाचारका विषयमा संसदमा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिन नमानेका उदाहरण कायम भएका छन् । 

त्यसबेला पनि सांसदमा प्रधानमन्त्रीसमक्ष यस्तो चुनौती दिनेमा गगन नै थिए ।  

यो उदाहरण प्रतिनिधि सभाको २०७६ फागुन १३ को कुरा हो  । यसदिनको बैठक प्रारम्भ हुनासाथ गगन थापाले विशेष समय लिएर निवर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ७० करोड घुस मागेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने माग राखे । 

उनका अनुसार तत्कालीन सञ्चारमन्त्री बाँस्कोटा र स्वीस कम्पनीका एजेन्ट विजयकुमार मिश्रबीच सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका सम्बन्धमा भएको कुराकानीको यति ठूलो रकमको घुस लेनदेनको टेप २ महिना अगाडि नै सुनेको विषयमा प्रधानमन्त्री ओलीले संसदमा उभिएर जवाफ दिनुपर्छ । 

थापाको पश्न थियो ‘सञ्चारमन्त्री गोकुल बाँस्कोटा र विजय मिश्रबीचको घुस लेनदेनको वार्तालापको अडियो हामीले फागुन ९ गते बिहान सुन्यौं । यो वार्तालाप सम्माननीय प्रधानमन्त्रीज्यूले केही महिना अगाडि सुन्नुभएको अनुमानहरु होइन, दाबीहरु सञ्चारमाध्यममा छापिइरहेका छन्, बजिरहेका छन्, यसका बारेमा संसदमा आएर, उभिएर, आँखामा आँखा जुधाएर नागरिक र हाम्रा प्रश्नको उत्तर दिने हिम्मत प्रधानमन्त्रीज्यूसँग छ कि छैन ?

जवाफ दिनबाट प्रधानमन्त्री भागेमा संसदले प्रधानमन्त्रीलाई जवाफ दिन बाध्य हुनेगरी रुलिङ गरोस् । 

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा र विजय मिश्रबीच ७० करोड घुस लेनदेनको वार्तालापको अडियो पहिलोपटक हाम्रा कुरा डटकमले फागुन ८ मा सार्वजनिक गरेको थियो । 

‘प्रधानमन्त्रीज्यूले डाँडाकाँडा डुलेर बस्ने होइन, ताल तलैया हेरेर बस्ने होइन, सदनमा आउनु पर्छ । यहाँ उभिनु पर्छ । हाम्रो प्रश्नको सामना गर्नुपर्छ । हामी यहाँ बसेर उहाँलाई निम्छरो होइन, सही प्रश्नहरु सोध्ने छौं, म सभामुख महोदयलाई प्रधानमन्त्रीलाई संसदमा उपस्थित हुनका लागि रुलिङ गर्नका लागि आग्रह गर्दछु । प्रधानमन्त्रीले के भन्नुहुन्छ मलाई थाहा छैन’, गगनले भने । 

गगनले अगाडि भने, ‘तर उहाँका आसेपासेहरुले केही दिनदेखि एउटै कुरा भनिरहनुभएको छ, उहाँलाई थाहा थिएन । प्रधानमन्त्रीको चुलो चलाउने, प्रधानमन्त्रीको तुलोमा राख्दै गर्दा कसैले नभ्याउने, अनि प्रधानमन्त्रीको भनाइका आधारमा काभ्रेले आजसम्म जन्माएको सर्वाधिक प्रतिभाशाली, प्रधानमन्त्रीको प्रवक्ताले गर्नुभएको कुराहरु प्रधानमन्त्रीलाई थाहा थिएन भनेर हामीले पत्याइदिनुपर्ने ? हामीले पत्याउने नै हो भने हाम्रो प्रधानमन्त्रीलाई प्रश्न रहन्छ, यी सबै कुरा तपाईंलाई थाहा छैन भने प्रधानमन्त्रीजी तपाईंलाई के थाहा छ ?’

सांसद थापाको प्रधानमन्त्री ओलीलाई गरिएको प्रश्नमा सेक्युरिटी प्रेस मात्र नभइ स्याटेलाइट स्थापना, नेपाल टेलिकमको फोरजी विस्तारलगायत काण्डहरु पनि परे । यी काण्डहरुमा करिब ५० अर्बको भ्रष्टाचार भएको भनी समाचार आइरहेका थिए जो सञ्चार मन्त्रालय मातहतमा  पर्छ ।

यो दिन गगनले गरेका  प्रश्न, ‘प्रधानमन्त्रीजी तपाईंलाई थाहा छ नागरिकहरु के भन्दै छन्, यो सेक्युरिटी प्रेसको ठेक्का मात्रै होइन । स्याटेलाइटको ठेक्का, फोरजी विस्तारको ठेक्का, अप्टिकल फाइबरको ठेक्का, मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमको ठेक्का, सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गर्ने, स्वास्थ्य संस्था, वडा, विद्यालय सबै ठाउँमा निःशुल्क इन्टरनेट पुर्याउने यी सबै कुरा सम्माननीय प्रधानमन्त्रीजीलाई थाहा थियो । परिस्थिति नियन्त्रण बाहिर गएपछि अहिले गोकुल बाँस्कोटालाई बलिको बोका बनाइएको छ भनेर नागरिकहरु भन्दै छन् ।’

गगनले अगाडि सोधे, ‘तपाईंलाई थाहा छ ? प्रधानमन्त्रीजी भ्रष्टाचारीको अनुहार हेर्दिनँ भनेर धेरै पटक भन्नुभएको छ । तर नागरिकहरु प्रश्न गरिरहकेका छन् बालुवाटारमा ऐना छ कि छैन भनेर सोध्दै छन् । प्रधानमन्त्रीजी तपाईंलाई थाहा छ ?’

गगनले फेरि सोधे, ‘प्रधानमन्त्रीजी तपाईंकै पार्टीका कार्यकर्ताहरु ठूलो स्वरले बोल्न सक्दैनन् । तर, कहिलेकाहिँ यही संसदको लबिमा भेट्दै गर्दा सानो स्वरमा भन्ने गर्छन् हाम्रो प्रधानमन्त्री पहिले पहिले मार्क्सवादी जस्तो देखिनुहुन्थ्यो । बीचमा समाजवादी देखिनु’भो । आजभोलि यताबाट हेरेपनि उताबाट हेरेपनि यतीवादी मात्रै देखिन थाल्नु’ भो भनेर भन्छन् प्रधानमन्त्री जी तपाईंलाई थाहा छ ? जवाफ दिनोस् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ