arrow

मन्त्री हुँदा विवादमा परेका जसपाका उम्मेदवार अप्ठेरोमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १ बिहिबार
jasapa-candidates-2079.jpg

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादव बाहिर जति क्रान्तिकारी कुरा गर्छन् व्यवहारमा उनी त्यस्ता छैनन् । यादव जति पटक मन्त्री भए देश र व्यवस्थाको लागि एउटा पनि उदाहरणीय काम गरेनन् । बरु सधै विवादमा परे ।

उपेन्द्रको यही व्यवहारको सिको अन्य मन्त्रीहरुले पनि गरिरहे । उपेन्द्र स्वास्थ्यमन्त्री भएको बेला उनको काम भनेको विदेश जानुमात्र थियो । मन्त्रालयको रेकर्डमा उनी ३ महिनामा ११ पटक विदेश भ्रमणमा गएको देखिएको छ । 

शुरुमा उनी २०६५ सालको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री थिए । त्यसयता उनी पटक पटक मन्त्री भएका छन् । पछिल्लो पटक केपी शर्मा ओली नेतृत्वको सरकारमा स्वास्थ्य र कानून मन्त्री भएका थिए । स्वास्थ्यमन्त्री हुँदा स्वास्थ्य क्षेत्रमा उनले सिन्कोसमेत भाँचेनन् । 
  
स्वास्थ्यमन्त्री हुँदा यादवले आफ्ना पुत्र अमरेन्द्र यादवलाई आफ्नो स्वकीय सचिव बनाएका थिए । मन्त्रालयमा गर्ने नियुक्ति तथा अन्य कामहरुमा अमरेन्द्रले सोझै चासो राख्ने गर्थे । 

आफ्नो निर्वाचन क्षेत्रमासमेत केही काम नगरेपछि यसपटक यादवलाई सप्तरी २ बाट चुनाव जित्न निकै गाह्रो परेको छ । 

सप्तरी २ मा उपेन्द्रलाई एमालेले साथ दिएको छ भने लोसपाका उम्मेदवार जयप्रकाश ठाकुरलाई नेपाली कांग्रेस, माओवादी केन्द्र तथा नेकपा (एस) ले साथ दिएका छन् । 

जसपा र एमालेको भोट जोड्दा करिब २० हजार भोट हुन्छ । तर लोसपा, नेपाली कांग्रेस, माओवादी केन्द्र र एसको भोट जोड्दा ३२ हजार भन्दा बढी हुन्छ । यस हिसाबबाट हेर्दा यादवलाई चुनाव जित्न निकै कठिन छ ।  

त्यतिमात्र हैन यादव आफैंले पनि यादववाद चलाएर भोट लिन खोजेकाले झन् मत काटिने अनुमान गरिएको छ । अर्कातर्फ पहिले एमालेलाई मधेस विरोधी पार्टी भनेर गाली गर्ने अनि अहिले आएर त्यही एमालेसँग गठबन्धन गरेपछि कयौं जसपा नेताहरुले पार्टी छाडेका छन् । 

निकुञ्जमा होटल खोल्न दिने तयारी गर्दै थिए प्रदीप यादव 
तत्कालीन वनमन्त्री प्रदीप यादव जति दिन सरकारमा बसे । उनको एउटा मात्र उद्धेश्य थियो आर्थिक उपार्जन गर्नु ।  छोटो समयमै करोडौं आर्थिक उपार्जन गर्नु उनको मिशन थियो । मन्त्रालयमा आउने बित्तिकै उनले उच्च कर्मचारीहरु फेरबदल गर्न शुरु गरे । 

यतिसम्म गरे कि,  मन्त्रालय मातहतका महानिर्देशक राजेन्द्र केसीलाई अपमान गर्दै उपमहानिर्देशमा झारे । यादवले देशभरीका निकुञ्जमा होटल खोल्न दिने अन्तिम तयारी गर्दे थिए । 

यसको लागि आफूले भन्ने कर्मचारीलाई निकुञ्ज नियमावली संशोधनकोलागि मस्यौदा बनाउन मस्यौदा समितकिो संयोजक बनाए । 

अजय कार्कीलाई मस्यौदा लेखन समितिको संयोजक बनाए । यादवको चाहना अनुसार समितिले निकञ्जमा होटल खोल्न दिन सक्ने प्रावधान राख्यो ।  

तर उक्त नियमावली संशोधन मन्त्रिपरिषद्मा लग्नै पाएनन् । निकुञ्जमा होटल खोल्न दिन केही व्यापारी व्यवसायीसँग पहिले नै मिलोमतो गरिसकेका थिए । 

अहिले रारा निकुञ्जमा मात्र एउटा होटल खोल्न दिइएको अन्य निकुञ्जहरुमा होटल छैनन् । यादवले १२ वटै निकुञ्जमा निजी क्षेत्रलाई होटल खोल्न दिने तयारी गरेका थिए । 

केसी वन विभागको महानिर्देशक हुँदा उनले सरकारले काठ बिक्री गर्दा काठ मापन विधिलाई परिमार्जन गरेका थिए । 

त्यसबाट व्यापारीलाई केही नोक्सान हुन्थ्यो भने राज्यलाई राजस्व बढ्थ्यो तर यादवले केसीले तयार गरेको मापन विधि लागू गरेनन् । बरु उल्टै केसीलाई अपमान गर्दै उपमहानिर्देशमा झारे । 

ठेक्का लगाउदै कमिशन लिँदै इस्तियाक राई
प्रतिनिधि सभामा बाँके २ मा उम्मेदवारी दिएका इस्तियाक राई दुई पटक मन्त्री भए । दुवै पटकमा उनले विकासे मन्त्रालय, त्यसमा पनि बजेट अत्यधिक भएका मन्त्रालय पाए । 

पहिलो पटक शहरी विकास तथा दोश्रो पटक भौतिक पूर्वाधार मन्त्रालय पाए । शहरी र भौतिकमा जान मन्त्रीहरु मरिहत्ते गर्छन् । यस हिसाबमा राई भाग्यमानी मन्त्री हुन् तर उनले काम भने केही गरेनन् । 

यसपटक भौतिक पूर्वाधार मन्त्रालयले १ खर्ब ६७ अर्ब बजेट पाएको थियो । राईको पालामा झण्डै एक खर्ब बराबारको टेण्डर लाग्यो । प्रत्येक टेण्डरमा एक प्रतिशत उनले कमिशन तोकेका थिए । यसको चाँजोपाँजो सडक विभागका महानिर्देशकले गर्थे । टेण्डरबाट आउने कमिशनबाट उनले ५० करोड कमाएका थिए । 

राईले यति चलाखी खेले कि, उनले उच्च तहका कर्मचारीहरु त्यति चलाएनन् । टेण्डरमै  ध्यान दिए । टेण्डरबाट करोडौँ करोड कमिशन आउँथ्यो, कर्मचारी चलाउँदा ५–१० लाख कमिशन आउँछ –मन्त्रालय स्रोत भन्छ । 

जसपाले एमालेसँग गठबन्धन गर्ने बित्तिकै प्रधानमन्त्री शेरबहादुर देउवाले इस्तियाकलाई सरकारबाट हटाएका  थिए ।  

एमालेसँगको गठबन्धनबाट इस्तियाकको मन्त्री पद मात्र गएन चुनावमा जित्ने सम्भावना पनि ह्वात्तै घटेको छ । 

बाँके २ मा नेपाली कांग्रेसबाट उम्मेदवार सुदिपनरसिंह राणाले उम्मेदवारी दिएका छन् । त्यहा राणाले चुनाव जित्ने सम्भावना बढेको छ । कडा प्रतिष्पर्धा धवल र सुदिपबीचमै छ ।  

ओलीका १३ दिने सारथी राजकिशोर 
सिराहा २ मा प्रतिनिधि सभामा उम्मेदवारी दिएका राजकिशोर यादव केपी शर्मा ओलीका १३ दिने सारथी हुन् । उनी ओली सरकारमा १३ दिनसम्म उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री भए । 

त्यसअघि डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला सूचना तथा सञ्चार मन्त्री भएका थिए । 

यसपटक ओली र उपेन्द्र यादववीच मिलन गराउन उनले ठूलो भूमिका निभएका थिए । यसपटक उनलाई चुनाव जित्न कठिन भएको छ । 

गत स्थानीय तहमा वडाध्यक्षमा पार्टीहरुले ल्याएको मतको आधारमा सिराहा २ मा गठबन्धन अगाडि छ । सिरहा २ मा जसपाको भोट  २१ हजार ९७ मात्र छ । 

यसैगरी नेपाली कांग्रेसको १९ हजार ४७४, एमाले १८ हजार ३५८, माओवादीको ११ हजार ६५८, र लोसपाको ९७९ भोट छ ।   

सिराहा २ मा नेपाली कांग्रेसबाट चित्रलेखा यादवले उम्मेदवारी दिएकी छिन् । उनलाई माओवादी, लोसपा र नेकपा (एस) ले साथ दिएको छ । त्यसले उनी अगाडि छिन् ।  

कर्मचारीले कानून आउनै दिएनन् राजेन्द्र श्रेष्ठ
तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठको कारण कर्मचारीहरुको  मूल कानुन संघीय निजामती सेवा ऐन अड्कियो । 

प्रमुख प्रशासकीय अधिकृत तथा प्रदेश सचिव प्रदेश सरकारको मातहतमा हुनुपर्ने श्रेष्ठको अडान थियो । प्रधानमन्त्री भने प्रमुख प्रशासकीय अधिकृत र प्रदेश सचिव संघको मातहतमा हुनु पर्ने अडानमा रहे । 

यही कारण कर्मचारी कानून अघि बढ्न सकेन । कर्मचारी कानून पास नहुँदा प्रशासन क्षेत्रमा धेरै समस्या आएको छ ।

कर्मचारीहरुको खटन, कर्मचारी नियुक्ति, व्यक्तित्व विकास लगायतका सबै काम प्रभावित भएका छन् । 

प्रशासन कानुन ल्याउन सरकारलाई निकै दबाब बढेको छ तर श्रेष्ठले कर्मचारी कानून अघि बढ्नै दिएनन् ।

श्रेष्ठ सामान्य प्रशासन मन्त्री हुँदा कर्मचारीहरुको सरुवामा व्यापक अनियमितता गरे । श्रेष्ठलाई पनि एमालेबाटै धोका भएको छ । 

श्रेष्ठले काठमाडौ ७ मा उम्मेदवारी दिएका छन् । काठमाडौ ७ मा एमालेले पनि उम्मेदवारी दिएको छ ।  काठमाडौ ७ मा एमालेबाट श्याम घिमिरेले उम्मेदवारी दिएका छन् । 

यसबाट श्रेष्ठ निकै कमजोर भएका छन् । अहिले उनी प्रतिष्पर्धामै छैनन् । काठमाडौ ७ मा एमाले र जसपाले मित्रवत प्रतिष्पर्धा गर्ने भनेका छन् । 

जसपा स्रोतका अनुसार शुरुमा काठमाडौं ७ जसपालाई छाड्ने सहमति भएको थियो । तर अन्तिम समयमा एमालेले जसपालाई धोका दिएको छ । 

काठमाडौं श्रेष्ठको गृह जिल्ला भए पनि उनको प्रभाव छैन । यस क्षेत्रमा गठबन्धनबाट मानुषी यामीले उम्मेदवारी दिएकी छिन् । उनी जित नजिक पुगेको स्थानीयबासीको भनाइ छ ।  

बेटी पढाऔ नाममा करोडौंको अनियमितामा मुछिए लालबाबु राउत
मुख्यमन्त्री स्वच्छता अभियान र मुख्यमन्त्री बेटी पढाऔँ, बेटी बचाऔँ अभियान कार्यक्रममा करोडौंको आर्थिक हिनामिनामा जोडिएका मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले यसपटक पर्सा १ (ख) मा प्रदेश सभामा उम्मेदवारी दिएका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री स्वच्छता अभियान र मुख्यमन्त्री बेटी पढाऔं, बेटी बचाआंै अभियान कार्यक्रममा करोडौंको आर्थिक हिनामिना भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्ष निकालेको छ । 

यस विषयमा आयोगले विस्तृत छानविन गरेको थियो । मुख्यमन्त्रीको कार्यालयबाट सञ्चालित कार्यक्रमको अगुवाइ स्वभाविक रुपमा मुख्यमन्त्रीले नै गर्छन् । 

यही कारण आर्थिक हिनामिनामा मुछिएका राउतको राजीनामासमेत मागिएको थियो । जनमत पार्टीले राउतको राजीनामा माग्दै गत साल आन्दोलनसमेत गरेको थियो । 

तर पार्टी अध्यक्ष उपेन्द्र यादवको आडमा राउतले राजीनामा गरेनन् । केन्द्रमा सञ्चालन भएका कार्यक्रमहरु कोही प्रधानमन्त्रीको नाममा, कोही राष्ट्रपतिको नाममा सञ्चालन भएझैं मधेस प्रदेशले सञ्चालन गरेका ठूला बजेटका कार्यक्रममा राउतले आफनो नाम जोड्न लगाएका छन् । 

जसपाले प्रतिनिधि सभामा देशभर ८१ सिटमा उम्मेदवारी दिएको छ । मधेस प्रदेशमा १७ सिटमा उम्मेदवारी दिएको छ । 

यसैगरी प्रदेश सभा तर्फ देशभर १ सय ४३ सिटमा उम्मेदवारी दिएको छ । मधेस प्रदेशमा मात्र ३६ सिटमा उम्मेदवारी दिएको छ । तर मुख्य व्यक्तिहरुकै कर्तुतका कारण सिङ्गो पार्टीलाई असर पुगेको भन्दै दोस्रो तहका नेताहरु चिन्तित भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ