arrow

समावेशीमा बानियाँको उदारता- चेपाङदेखि दलित समुदायसम्म मन्त्री

logo
रविन्द्र गौतम,
प्रकाशित २०७९ मंसिर १ बिहिबार
mantri-baniya.jpg

मकवानपुर । २०७४ मा भएको निर्वाचनबाट बागमती प्रदेशसभाको कुल ११० सिटमध्ये नेपाली कांग्रेसले प्रत्यक्ष र समानुपातिक गरी २१ सिट प्राप्त गर्यो । उक्त सिट सरकार बनाउन प्रयाप्त थिएन । त्यसैले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर प्रदेश सरकारको नेतृत्व गर्यो ।

तर साढे तीन वर्षको अवधि पूरा भएपछि एमाले माओवादीबाट बनेको नेपाल कम्युनिष्ट पार्टी विभाजन भई माओवादी अलग्गिनुका साथै एमाले छुट्टिएर नेकपा एकीकृत समाजवादी बन्यो । एमाले सरकार ढल्यो । एक वर्षअघि एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वमा माओवादी र कांग्रेससहितको गठबन्धन सरकार बन्यो । कांग्रेसबाट संसदीय दलका नेता थिए ईन्द्रबहादुर बानियाँ ।

उनले कांग्रेसको भागमा परेका मन्त्रालयमा मन्त्री सिफारिस गर्दा समावेशीलाई मिहीन रुपमा कार्यान्वयन गरे । वर्तमान प्रदेश मन्त्री मण्डलमा ५ मन्त्री र ३ जना राज्यमन्त्री कांग्रेसको भागमा पर्यो । त्यसमा एक जना खसआर्यबाहेक अन्य सबै मन्त्रालयहरुको जिम्मा दलित, जनजाति, अल्पसंख्यक र सीमान्तकृत समुदायका सांसदलाई दिएर बानियाँले समावेशी उदारताको नमूना प्रस्तुत गरे ।

पार्टीभित्र र बाहिरबाट समेत दलका नेता बानियाँले देखाएको उदारताको खुलेरै प्रशंसा भयो । मन्त्रीमण्डलमा युवादेखि ज्येष्ठतासम्मलाई ख्याल गरिएको छ । भाषा, धर्म, सम्प्रदाय, वर्ण, लिंग, पेशा सबैलाई सम्मान गर्ने नेताको रुपमा परिचित बानियाँले समावेशीको मुद्दालाई व्यवहारमा कार्यान्वयन गरेर गतिलो उदाहरण प्रस्तुत गरेका छन् ।

२०७८ कार्तिक ११ गते र पुस ९ गते प्रदेश मुख्यमन्त्री राजेन्द्र पाण्डेले विस्तार गरेको मन्त्रीमण्डलमा कांग्रेसका तर्फबाट अल्पसंख्यक, सीमान्तकृत, दलित तथा द्वन्द्वपीडित समुदायको प्रतिनिधित्व हुने गरी नेता बानियाँले समावेशी रुपमा सिफारिस गरे । जसको परिणामस्वरुप सिमान्तकृत चेपाङ समुदायबाट मुलुकमै पहिलो पटक मकवानपुरको राक्सिराङ गाउँपालिका ७ का सन्तबहादुर प्रजा (चेपाङ) ले मन्त्री हुने अवसर पाए ।

उनलाई भौतिक पूर्वाधार विकास मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी दिइएको थियो । कांग्रेस संसदीय दलका नेता बानियाँको सिफारिसमा मुलुकमै पहिलो मन्त्री बनेका सन्तबहादुर प्रजाले बानियाँको भावनाअनुरुप काम पनि गरेर देखाए ।

चेपाङकै सिफारिसमा प्रदेश सरकारले धादिङ, मकवानपुर र चितवन जिल्लालाई चेपाङ संरक्षित क्षेत्र घोषणा गरी बजेट विनियोजन गर्यो । तीन जिल्लामा चेपाङ, बोटेलगायत विपन्न समुदायको लागि एकीकृत बस्ती विकासको योजना ल्याएर कार्यान्वयनको चरणमा छ । प्रदेशका विकट गाउँमा करोडौंको सडक पूर्वाधार तथा भवनका योजनाहरुमा बजेट विनियोजन गरेका छन् ।

‘दलका नेता इन्द्र बानियाँले जुन विश्वासका साथ मलाई मन्त्रालयको जिम्मेवारी दिनुभएको थियो, त्यो भूमिका मैले पूरापूर निर्वाह गरेको छु । मन्त्रालयमार्फत मैले चेपाङ, दलित, विपन्न समुदायका हितमा गरेका कामहरुको सबै देन इन्द्र बानियाँलाई जान्छ’, चेपाङले भने । द्वन्द्वकालमा श्रीमान् गुमाएकी भक्तपुरकी रजनी अमात्य जोन्छे उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री भइन् । जोन्छेलाई राज्यमन्त्री बनाएर बानियाँले उनको पीडामा मल्हम लगाउने प्रयासमात्रै गरेनन् द्वन्द्व प्रभावितहरुको राज्य सत्तामा प्रतिनिधित्व र सम्मान दिलाए ।

भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा (ख) की जोन्छे उद्योग तथा वाणिज्य क्षेत्रको लागि थुप्रै काम गर्ने मौका पाएकोमा खुशी छिन् । ‘पहिलो पटक सांसद् भएँ, द्वन्द्व प्रभावित समुदायको प्रतिनिधित्व गर्ने अवसर ईन्द्र बानियाँले दिनुभयो । सम्बन्धित क्षेत्रमा धेरै काम गर्ने अवसर पाएँ । अब नयाँ पुस्तालाई अवसर दिन्छु’, उनले भनिन् ।

निमा लामा अल्पसंख्यक ह्योल्मो समुदायको प्रतिनिधित्व गर्दै बागमती प्रदेशको स्वास्थ्यमन्त्री नियुक्त भए । उनी ईन्द्र बानियाँले समावेशीको मुद्दा व्यवहारमा उतारेको भन्दै आभारी छन् ।

‘सबै भूगोल, सबै जातजाति, भाषाभाषीको सम्मान गर्ने कुरा अन्त भाषणमा मात्रै सीमित भएको पाइन्छ । तर, ईन्द्र बानियाँज्यूले गरेरै देखाउनुभयो । धेरै खुशी लागेको छ । परिवर्तन यसैगरी हुँदै जाने हो ।’ आफू मन्त्री भएपछि अत्यावश्यक एवम् विपन्नलाई निःशुल्क रगत उपलब्ध गराउने निर्णय गरेको, प्रदेशका अस्पतालहरुको स्तरोन्नति, स्वास्थ्य जनशक्तिको व्यवस्थापन मिलाएको र आवश्यक उपकरण तथा औषधि उपलब्ध गराएको बताउँछन् । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ (ख) का लामाले बानियाँले गरेका सकारात्मक प्रयासको खुलेर प्रशंसा गरे ।

त्यस्तै नुवाकोटकी कल्पना नेपाली दलित समुदायको प्रतिनिधित्व गर्दै प्रदेशको स्वास्थ्य राज्यमन्त्री नियुक्त भइन् । आफूलाई राज्यमन्त्रीको जिम्मेवारी प्रदान गरेको भन्दै ईन्द्रबहादुर बानियाँलाई उनले धन्यवाद दिइन् । ‘मलाई राज्यमन्त्रीको जिम्मेवारी दिएर ईन्द्र बानियाँज्यूले समग्र दलित तथा दलित महिलाहरुको सम्मान गरेको अर्थमा लिएको छु । उहाँको भावनाअनुसार काम गर्ने प्रयास पनि गरेको छु ।’

राज्यमन्त्री नेपालीले भनिन् ‘म राज्यमन्त्री भएपछि महिलाहरुको स्तन क्यान्सर र पाठेघर क्यान्सरको उपचारको लागि पहल गरेको छु । अब कार्यान्वयनमा जाने तयारीमा छ । स्वास्थ्य क्षेत्रको प्रवद्र्धनमा उल्लेख्य काम भएका छन्, खुशी छु ।’

खसआर्य एवं ज्येष्ठ नागरिकको प्रतिनिधित्व गर्दै बलराम पौडेल प्रदेशको गरिबी निवारण तथा सहकारी मन्त्री भए । बानियाँले समावेशीको उच्चतम कार्यान्वयनको प्रयास गरेको भन्दै पौडेलले बानियाँको प्रशंसा गरे ।

गठबन्धनकै नेतृत्वको प्रदेश सरकारमा संसदीय दलका नेता बानियाँले नेवार समुदायबाट कांग्रेसकै मिलनबाबु श्रेष्ठलाई उद्योग वाणिज्य आपूर्ति मन्त्रीको रुपमा सिफारिस गरेका थिए भने नेवार समुदायकै कृष्णलाल भँडेललाई भौतिक पूर्वाधार विकास मन्त्रालय र दिपेन्द्र श्रेष्ठलाई संस्कृति तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिए । उनीहरुले आफूलाई प्राप्त भएको जिम्मेवारीको प्रतिवद्ध भएर कार्यान्वयन गरिरहेको बताएका छन् ।

नेपाली कांग्रेस राष्ट्रियता, समाजवाद र लोकतन्त्रको पक्षधर भएकोले सबैलाई समान अवसर वितरण गर्नु आफ्नो जिम्मेवारी भएको बानियाँ बताउँछन् । सबै समुदाय र वर्गलाई समान व्यवहार र अवसर सृजना गर्न सकेमात्रै समाजमा सद्भाव र सुशासन स्थापित हुने बताउँछन् । मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट २०७४ सालको निर्वाचनबाट निर्वाचित भएका बानियाँलाई अबको प्रदेशको मुख्यमन्त्रीको दावेदारको रुपमा हेरिएको छ ।

आगामी निर्वाचनमा पनि बानियाँ सोही क्षेत्रबाट प्रदेश सभा सदस्यको उम्मेदवार छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ