arrow

ओली निकटका पदाधिकारी पराजित हुँदा फाइदा कसलाई ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १२ सोमबार
uml-cpn.jpg
तस्बिर – फाइल ।

काठमाडौं । संघीय संसदको निर्वाचनको सकिए लगत्तै नयाँ सरकार गठन हुनै लाग्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट रहेका सबै पदाधिकारीहरु पराजित भएका छन् । कोरोना संक्रमणको बेला यति र ओम्नी समूहसँगै विवादमा परेका एमालेका दोस्रो वरियतामा रहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलदेखि भावी नेतृत्वको सम्भावित व्यक्तिको रुपमा देखिएका सबै नेताहरु पराजित भएका छन् ।

यो पराजयसँगै एमालेको भावी नेतृत्वको दाबी गर्ने महासचिव शंकर पोखरेलको राजनीतिक जीवनमा धक्का लागेको छ । अर्कोतर्फ भावी नेतृत्वकै दाबी गरिरहेका उपाध्यक्ष विष्णु पौडेललाई पार्टीभित्रको आन्तरिक राजनीतिमा फाइदा पुगेको छ । 

उनले रुपेन्देहीको चार क्षेत्रमध्ये एमालेलाई तीन वटामा र एमालेले समर्थन गरेको एउटा गरी चार वटैमा जिताएर आफूलाई केन्द्रीय राजनीतिमा अब्बल सावित गरेका छन् । 

४ पदाधिकारी बाहेक १९ सदस्यीय सचिवालयका नेताहरु संघीय संसदमा  प्रतिस्पर्धा गरेका थिए । उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र रामबहादुर थापा बादल तथा उपमहासचिव विष्णु रिमालले निर्वाचनमा भाग लिएनन् । 

उम्मेदवार बनेकामध्ये वरिष्ठ नेता ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव लेखराज भट्ट पराजित भएका छन् । 

वरिष्ठ उपाध्यक्ष पोखरेल काठमाडौं ५ बाट पराजित भए । २०७४ सालको चुनावमा ठूलो मतान्तरले जितेको काठमाडौं ५ वरिष्ठ नेता पोखरेलले विरासत जोगाउन सकेनन् । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलसँग ५ हजार भन्दा बढी मतान्तरले पराजित भए । 

६८ वर्ष भैसकेका पोखरेल अब पार्टी विधानको कारण नयाँ कार्यकालमा कार्यकारी जिम्मेवारी पाउने छैनन् । एमालेको विधान अनुसार पोखरेलको सक्रिय राजनीतिमा बिराम लाग्ने देखिन्छ । अर्का उपाध्यक्ष पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग पराजित भए । 

त्यसैगरी दाङ २ मा महासचिव पोखरेल नेकपा माओवादीकी नेतृ रेखा शर्मासँग झिनो मतान्तरले पराजित भए । एमाले महासचिव पोखरेल र शर्माबीचको अन्तर १ सय ९६ मतको थियो । 

पोखरेल गत वर्ष भएको पार्टीको महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले महासचिवमा छनोट गरेको नेता हुन् । गत मंसिरमा भएको एमाले महाधिवेशनबाट हालका उपाध्यक्ष विष्णु पौडेलले महासचिवको दाबी गरिरहेको भए पनि पोखरेललाई टिका लगाइएको थियो । 

दाङमा उनकै कारण प्रदेश राजधानी बनाएर पौडेललाई राजनीतिक रुपमा पछि पारिएको थियो । अहिले महाससचव पोखरेल आफैँ मात्र हारेनन् दाङमा एमालेको विरासत कमजोर बनाए । 

त्यसैगरी एमाले उपमहासचिव प्रदीप ज्ञवाली पनि गुल्मी १ बाट पराजित भए  । उनलाई कांग्रेसका चन्द्र भण्डारीले २ हजार बढी मतले पराजित गरे । २०७४ सालको चुनावमा ज्ञवालीले भण्डारीलाई नै पराजित गरेका थिए । 

ओलीको ‘कोर’ टिममा बसेर काम गरेका महासचिव पोखरेल र ज्ञवाली दुवै पराजित भएका छन् । नेकपा विभाजनपछि माओवादी केन्द्रबाट एमालेमै रहेका सचिव लेखराज भट्ट कैलाली ४ बाट पराजित भए । 

सत्तारुढ गठबन्धनको भागमा नेकपा एकीकृत समाजवादीको भागमा परेपछि बलायरलाई कैलाली ४ बाट उम्मेदवार बनाइएको थियो । 

त्यसैगरी सचिव पद्मा अर्याल उम्मेदवार रहेको स्याङ्जा २ मा मतगणना शुरु हुन सकेको छैन । अर्याल पनि अध्यक्ष ओली प्रधानमन्त्री हुँदा भूमि व्यवस्था मन्त्री भएकी थिइन् । अहिले त्यहाँको मत गणना हुन बाँकी छ । अर्याल कमजोर भएकै कारण मतगणना गर्न नदिइएको चर्चासमेत चल्न थालेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ