- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । नेकपा माओवादी केन्द्रकी नेतृ तथा दाङ क्षेत्र न-२ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रेखा शर्माले कांग्रेसले प्रधानमन्त्री दाबी गर्नु स्वाभाविक रहेको प्रतिक्रिया दिएकी छन् ।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले शुक्रवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता शर्माले गठबन्धनको सरकार बनाउँदा ठुलो दलको हैसियतले नेपाली कांग्रेसको प्रधानमन्त्री दाबी गर्नुलाई सबैले स्वाभाविक रूपमा लिनुपर्ने बताएकी हुन् ।
साक्षात्कारमा बोल्दै उनले पार्टीबाट प्रधानमन्त्रीको लागि को आउने भन्ने निर्णय पार्टीको मात्रै भएको बताउँदै यसको विषयमा बाहिरबाट टीकाटिप्पणी आवश्यक नरहेको समेत जिकिर गरिन ।
नेता शर्माले माओवादी केन्द्र पनि गठबन्धनको दोस्रो ठुलो दल भएको बताउँदै अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित का शीर्ष नेताहरूको छलफलले प्रधानमन्त्री टुङ्गिने बताइन् । उनले माओवादी केन्द्रले गठबन्धनमा कुनै घात नगर्ने प्रक्रिया दिँदै माओवादीलाई विश्वास गर्न आग्रह गरिन् ।
पत्रकारहरूले सरकारमा नेता शर्माको भूमिकाको विषयको विषयमा राखेको जिज्ञासाको जवाफ दिँदै शर्माले पार्टीले जुनसुकै मन्त्री दिए पनि स्विकार्दै त्यसको जिम्मेवारी सफलताका साथ पुरा गर्न आफू सक्षम रहेको दाबी गरिन् । गठबन्धनको सरकार रहेकोले अहिले नै यो मन्त्री भनी हाल्ने अवस्था नरहेको बताइन।
नेकपा एमालेका महासचिव शङ्कर पोखरेललाई दाङबाट पराजित गर्नको लागि गठबन्धन दलका सबे नेताहरूबाट सहयोग प्राप्त भएको समेत चर्चा गर्दै गठबन्धन सफल भएको दाबी गरिन् ।
यता लुम्बिनी प्रदेशको राजधानी तोक्ने विषयमा तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेल नेतृत्वमा भए पनि माओवादीको समर्थन र अग्रसरताले सम्भव भएको बताइन् । उनले पोखरेलले राजधानी आफू र एमालेले लगेको श्रेय लिनु गलत भएको उल्लेख गरिन।
मङ्सिर ४ मा सम्पन्न भएको चुनावमा देखिएको स्वतन्त्र र केही नयाँ व्यक्तिहरूको प्रवेशलाई राजनीतिक दलहरूले युवाहरूलाई पनि सम्मान गर्नुपर्ने सुझाव दिइन। उनले युवाहरूको जबरजस्ती हस्तक्षेप भन्दा पनि नयाँ भिजन र सोचलाई जनताले चुनेको जनाइन ।