arrow

देउखुरीका खोलामा तस्करलाई बेमौसमी दशैं

logo
नारायण वली,
प्रकाशित २०७९ मंसिर २० मंगलबार
received_1085530065397931.jpeg

रुपन्देही । दाङको देउखुरीमा चारवटा पालिकाहरु रहेका छन् । लमही नगरपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका र गढवा गाउँपालिकाले नदीजन्य पदार्थ उत्खनन् र निकासीको लागी हालसम्म ठेक्का लगाएका छैनन् ।

नियमवश प्रक्रियामा गएर स्थानिय पालिकाहरुले नदीजन्य पदार्थको उत्खनन् तथा निकासीका लागि पालिकाको निर्णय सम्बन्धित जिल्ला समन्वय समितिमा पठाउनुपर्ने प्रावधान छ । त्यसरी आएको निर्णयलाई समितिले अनुगमन गर्ने र समितिले सहमति जनाएपछि मात्रै वैधानिक रुपमा निकासी गर्न पाउने उल्लेख छ ।

तर, देउखुरी क्षेत्रमा अहिले खुलेआम अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् एवं निकासी भइरहेको पाइएको छ । स्थानिय पालिकाहरुले नदीजन्य पदार्थ निकासीका लागि कुनैपनि ठेक्का नलगाएका बेला तस्करहरुले केही स्थानिय विपन्न वर्गका र अन्य बाहिरका व्यक्तिहरुलाई प्रयोग गरी प्राकृतिक स्रोतसधानलाई खोलाबाट जम्मा गर्न लगाउने र रातीमा नदिजन्य पदार्थको चोरी तस्करी गर्दा पनि जिल्लाका सम्बन्धित निकायहरु नदिमा लामलस्कर ट्याक्टरहरुको प्रयोग हुँदापनि मौन बसेको स्थानियहरुले गुनासो गरेका छन् । 

रातिको समयमा खोलामा ठूलो मात्रामा ट्याक्टरहरुको प्रयोगले स्थानियबासीहरु राम्रोसँग निदाउन समेत नपाएको गुनासो स्थानियहरुको छ । लमही नगरपालिका वडा न–६ का स्थानियहरुले यस्तो गुनासो गरेका हुन् । स्थानीयहरु भन्छन्, रातिको करिब १० बजेदेखि बिहान ५ बजेसम्म आफ्ना घर अगाडिका सडक भएर ट्याक्टरहरुले नदीजन्य पदार्थ ओसारपसार गर्दा रातभर सुत्न सकेका छैनौं ।

लमही नगरपालिका वडा न–८ स्थित कालिपुरुवा घाटबाट रातको समयमा चोरीतस्करी भइरहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार जुन स्थान लमही नगरपालिका र राजपुर गाउँपालिकाको सिमा क्षेत्र वारी र पारीबाट चोरी हुने गरेको वताईएको छ । राप्ती नदी र अर्जुन खोलाबाट अवैधरुपमा ढुंगा, बालुवा उत्खनन् हुँदा प्रहरी प्रशासन भने कानमा तेल हालेर बसेको स्थानयहरुको आरोप छ । राप्तीपारी गढवा इलाका प्रहरी कार्यालय छ भने, अर्जुनखोला नजिक वडा प्रहरी कार्यालय लमही र अर्जुनखोला नजिक शसस्त्र प्रहरी वेश क्याम्प छ । रातभर हुने नदिजन्य पदार्थको चोरीतस्करी बारे प्रहरी प्रशासन बेखवर हुनुलाई स्थानियहरुले तस्कर र प्रहरीको मिलेमतोमा उत्खनन् भईरहेको दाबी गर्छन् ।

जिल्ला समन्वय समिति दाङले ढुंगाजन्य वस्तुको उत्खनन्को लागी स्थानीय पालिकाबाट आउने निर्णय र फाईलका आधारमा अनुगमन गर्ने गरेको बताउँदै, यसबर्ष ठेक्का लगाउन ढिला भईसकेको छ, निर्वाचनले गर्दा ढिला भएको हो । हालसम्म एउटा पालिकाले मात्रै निर्णय पठाएको र उक्त निर्णयमाथि अनुगमन गरिएको जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले बताए ।

उनले भने, हामीलाई गढवा गाउँपालिकाले पठाएको बातावरणीय प्रभाव मुल्यांकनको निणर्य फाईल पाएका छौं, उक्त निर्णयको आधारमा अनुगमन गरिसक्यौं तर पालिकाले ठेक्का भने लगाएको छैन । स्थानीय पालिकाले ठेक्का नलगाएको अवस्थामा नदिजन्य पदार्थ उत्खनन् हुनु पूर्ण अवैध हुने भएकाले त्यस्तो फेला परेमा कानुन अनुसार कारबाही गरिने जनाउँदै निगरानीलाई चुस्त बनाईने जनाए ।

रातीमा नै अधिकांश ट्याक्टरहरुले नदीजन्य पदार्थ बोकेर लैजान्छन्, कतिपयले नदी किनारमा डम्पिङ्ग गर्छन् । त्यसरी डम्पिङ्ग गरेर राखिएको पदार्थलाई दिउँसोमा विक्रि गर्ने गरेको स्रोतले जानकारी दिएको छ । पछिल्लो समय देउखुरी क्षेत्रमा ढुंगाजन्य बस्तुको अवैध उत्खनन् तथा चोरी तस्करी बढेको ब्यापक जनगुनासो बढेको छ । गढवा गाउँपालिकाको वडा न–२, ३ र ४ वडाका विभिन्न वडाका स्थानहरु महादेवा पुल घाट, बगरापुर घाट लगायतका स्थानहरुबाट अवैध रुपमा नदिजन्य पदार्थको रातिको समयमा चोरी कार्य भइरहेको जनाइएको छ । 

को–को छन् तस्करीका संलग्न ?
कानूनको धज्डी उडाउँदै अवैध रुपमा नदिजन्य पदार्थको चोरीतस्करी गर्नेमा केही स्थानीय व्यक्ति तथा पुरानै नदिजन्य पदार्थ कारोवार गर्दै आएका व्यक्तिहरुको संलग्नता रहेको स्रोतले बताएको छ ।

स्थानीय सरकारले वातावरणीय प्रभाव मुल्यांकन गरेर ठेक्का लगाउँदै आएको भएपनि तर पछिल्लो समय ठेक्का लगाउन ढिलाई भईसकेको अवस्थामा तस्करहरु सल्बलगाएको बताईएको छ । 

हरेक वर्ष स्थानीय सरकारले ठेक्का लगाउन ढिलाई गर्ने प्रवृतिले प्रत्यक्ष लाभ तस्करहरुले पाउने गरेका छन् । विकास निर्माणको काम रोक्न नहुने बाहनामा ठूला मेसिनरी औजारको प्रयोग गरी उत्खनन् गर्ने प्रवृत्ति अझै कायमै रहँदा कमिसनमा कतै जनप्रतिनिधि र ठेकेदारको मिलोमतो हुन्छ की भन्ने आशंका नबढेको पनि होईन् । ‘समयमा ठेक्का खोल्न ढिलाई गर्ने, बैशाख–जेठमा नदीमा डोजर पसालेर मनपरी उत्खनन् गर्ने प्रवृत्तिले सरकारी राजस्व चुहावट गरेर व्यक्ति मोटाउने गजबको कथा नदीजन्य पदार्थमा कायमै छ । 

ट्याक्टर नियन्त्रणमा
राप्ती नदीको बिभिन्न ठाउँमा थुपारेर राखिएको ढुंगा गढवा गाउँपालिकाले जफत गरेको छ । अवैध रुपमा उत्खनन् गरी विक्रिवितरणको लागि ४७ ट्राली ढुंगा थुपारिएको अवस्थामा जफत गरिएको सो गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले बताएका छन् ।

उनका अनुसार मनपरी नदिजन्य पदार्थ ओसारपसारमा संलग्न ६ वटा ट्याक्टरलाई गढवा गाउँपालिका र इलाका प्रहरी कार्यालय गढवाको संयुक्त टोलीले ट्याक्टर नियन्त्रणमा लिएको जनाए ।

गत शुक्रबार र शनिबार नदी क्षेत्रमा थुपारिएको ढुंगा जफत गरिएको जनाईएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ