- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कतिपय जिल्लामा अन्तर्घात भएको भन्दै एमालेले कारबाही प्रकृया अघि बढाएको बेला मंसिर २९ गतेभित्र निर्वाचनको समीक्षा रिपोर्ट पठाउन ७७ वटै जिल्लालाई पार्टी केन्द्रले निर्देशन दिएको छ ।
बुधबार दिउँसो बसेको पार्टीको केन्द्रीय कार्यालय बैठकले मंसिर ४ मा सम्पन्न आम निर्वाचनको समीक्षा रिपोर्ट मंसिर २९ भित्र केन्द्रमा पठाइसक्न निर्देशन दिएको हो ।
एमालेले बैतडी, दोलखा, चितवन, कैलाली, अछाम, खोटाङ, तेह्रथुम, दार्चुला, म्याग्दी, मुस्ताङ लगायतका जिल्लाहरुमा पार्टीभित्रबाट अन्तर्घात भएको भन्दै छानबिन प्रकृया अघि बढाएको बेला पार्टी केन्द्रले यस्तो निर्देशन जारी गरेको हो ।
मंसिर ४ मा सम्पन्न निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको भन्दै एमालेले बैतडी जिल्ला कमिटीले एक गाउँपालिकाका अध्यक्षलाई कारबाहीको सिफारिस गरिसकेको छ ।
एमालेको बैतडी जिल्ला कमिटीले आज पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्न प्रदेश कमिटीलाई सिफारिस गरिसकेको अवस्थामा पार्टी कार्यालयको बैठक बसेर सबै जिल्लाबाट विवरण माग गरेको एमालेले जनाएको छ ।
चन्दलाई पालिका अध्यक्षबाटसमेत पदमुक्त गर्न निर्वाचन आयोगलाई सिफारिस गर्न प्रदेश कमिटीलाई आग्रह गरिएको छ । चन्द ३० बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेबाट पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए ।
गाउँपालिका अध्यक्षलाई कारबाहीको सिफारिस गरेका सुरेन्द्रबहादुर पाल हालै सम्पन्न प्रदेश सभा निर्वाचनमा प्रदेशसभा (१) बाट विजयी हुँदा प्रदेशसभा (२) का उम्मेदवार लिलाधर भट्ट भने झिनो मतान्तरले पराजित भएका थिए । भट्ट पराजित हुनुमा चन्दको असहयोग प्रमुख कारण रहेको एमालेको जिल्ला कमिटीले निष्कर्ष निकालेको छ ।
एमालेले यस्ता विषयलाई पार्टी केन्द्रको निर्णयको आधारमा हुने भएकाले अहिलेलाई सिफारिस मात्रै गरिएको हो । बुधबार बसेको पार्टी कार्यालयको बैठकले निर्वाचनको समीक्षा गर्न र सरकार गठन तथा अन्य विषयमा छलफल गर्नका लागि अध्यक्षसँगको सल्लाहमा चाँडै केन्द्रीय सचिवालय बैठक बोलाउने निर्णयसमेत गरेको छ ।
सचिवालय बैठकपछि केन्द्रीय समिति बैठकमार्फतसमेत निर्वाचनको समीक्षा गर्ने एमालेको तयारी छ । केन्द्रीय कार्यालय बैठकले प्रतिकूल परिस्थितिका बाबजुद निर्वाचनमा एमालेले ल्याएको परिणामलाई ठीकै भएको निष्कर्ष निकालेको छ ।
‘निर्वाचनको नतिजाले गठबन्धनलाई अस्वीकृत गरेको छ । जनता गठबन्धनको पक्षमा छैनन् भन्ने सन्देश दिएको छ’, सचिव योगेशकुमार भट्टराईले भने, ‘सरकार निर्माणबारे एमाले अहिले पर्ख र हेरको स्थितिमा बस्छ ।’
समानुपातिकतर्फ एमालेले सबैभन्दा बढी सिट पाएपछि एमाले कार्यालय बैठकले अहिलेको अवस्थामा एमालेले पाएको मत सन्तोषजनक रहेको जनाएको छ ।
आयोगले वुधबार सार्वजनिक गरेको आधिकारिक विवरणअनुसार मंसिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने राजनीतिक दलहरुले प्राप्त गरेको आधारमा सीट संख्या तोकेको छ ।
जसअन्तर्गत नेकपा एमालेले सबैभन्दा धेरै ३०.९१ प्रतिशत मत प्राप्त गर्दै ३४ सीट पाएको छ । नेपाली कांग्रेसले २९.०९ प्रतिशतमा ३२ सिट ल्याएको छ भने माओवादी केन्द्रले १४ सीट पाएको छ ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ वटा सिट जितेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट ल्याएको छ । सात वटा राजनीतिक पार्टीहरुले राष्ट्रिय दलको मान्यता पाएका छन् । जसपाले समानुपातिकमा ५ सीट ल्याएर आफूलाई राष्ट्रिय पार्टी बनाउँदा यसै पटक निर्वाचनमा होमिएको सिके राउट नेतृत्वको जनमत पार्टीले पनि ५ सीटसहित राष्ट्रिय दलमा आफूलाई दर्ज गराएको छ ।
एमाले समानुपातिक तर्फ ठूलो दल हुँदै गर्दा पनि आन्तरिक रुपमा अन्तर्घात भएको भन्दै सबै जिल्लाबाट विवरण माग गरेको हो । गत स्थानीय तहको निर्वाचनमा पनि एमालेले अन्तर्घात भएका स्थान र क्षेत्र तथा नेताहरुको विवरण मागे पनि संघीय संसदको निर्वाचनपछि मात्रै छानबिन गरेर कारबाही गर्ने जनाएको थियो ।
तर अब जिल्ला तहबाट आउने विवरणलाई मात्र आधार मान्ने गरी समीक्षा रिपोटिङ पठाउन निर्देशन दिएको छ ।