arrow

कहाँ गयो लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी ?

logo
नारायण वली,
प्रकाशित २०७९ मंसिर २८ बुधबार
lamahi-nagarpalika 1.jpg

रुपन्देही । दाङको लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी करिव बीस दिनदेखि नगरपालिकामा नभएको तथ्य फेला परेको छ । प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले प्रयोग गर्दै आएको बा २ झ ४२०१ नम्बरको कार नगरपालिका मातहतमा नभएको पाइएको हो ।

केही समय अगाडि प्रमुख प्रशासकीय अधिकृत डाँगीले कर्मचारीहरुमाथि “तानाशाह“ प्रवृत्ति लादेको भन्दै कर्मचारीहरुले काम गर्न नसक्ने भन्दै अधिकृत डाँगीको सरुवा नभएसम्म काम नगर्ने अडान लिदै  आन्दोलित भएपछि नगरपालिकाको कामकाज ठप्प भएको थियो । 

आन्दोलनका क्रममा काठमाडाैं बसेका विवादित अधिकृत डाँगी मंसिर १५ गते लमही नगर विकास समितिकामा रहेको कोठामा आएर बसेको सूचना पाएपछि आन्दोलित कर्मचारीहरु सोही ठाउँमा पुगेर घेराबन्दी गरेपछि जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत र आन्दोलित कर्मचारीहरुबीच त्रिपक्षिय छलफल गरी सरुवाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनुरोध गर्ने सर्तमा आन्दोलन स्थगन गरिएको थियो ।                   

कर्मचारीहरुले थालेको आन्दोलन चर्किदै गएपछि नगरवासीहरु नगरपालिकाबाट हुने सेवा प्रवाहबाट वञ्चित हुन पुगेपछि लमही नगरका युवाहरुको टोलीले कर्मचारीहरुका कारण अशान्त भएको नगरपालिकाको विषयलाई यथाशीघ्र समाधान गरि नागरिकका कामकाजमा सहजता ल्याउन ज्ञापनपत्रसमेत बुझाएका थिए । 

निर्वाचन आचारसंहिता २० गतेसम्म भएकाले अधिकृत डाँगीको स्थानमा नयाँ अधिकृत ल्याउन प्रक्रिया थालिने र डाँगीको उपस्थिति नजनाउने गरी गएको भए पनि तर लमही नगरपालिकामा पुनः हाजिर भई नियमित रुपमा कामकाज गर्ने वातावरण मिलाई पाउँ भनी नगर प्रमुखलाई सम्बाेधन तथा बोधार्थमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय काठमाडौंलाई पत्र लेखेको छन् । 

अधिकृत डाँगीले पत्रमा लेखेका छन्ः त्रिपक्षिय सम्झौतामा मेरो हस्ताक्षर छैन, सरुवा भई जाने कागज गरेको अवस्था रहेकोले म सामान्य अवस्थामा कार्यालयमा उपस्थित हुनसक्ने अवस्था देखिँदैन । ‘कानून निकायबाट सरुवा व्यवस्थापन नहुँदासम्म साविक बमोजिम म बहाल रहेको भन्दै नियमित हाजिर भई कामकाज गर्ने व्यवस्था मिलाई दिन हुन सादर निवेदन गर्दछु ।’ यसरी पत्र लेखेपछि डाँगीले नगरपालिका छोड्न नचाहेको र आउनलाई कुटिलचाल खेलिरहेको भनी व्यापाक जनगुनासो बढेको थियो । 

करिब एक महिनासम्म प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको नगरपालिकाको अधिकृतले प्रयोग गर्दै आएको गाडी गायब भएपछि हालसम्म खोजी गरिएको छैन । सरकारी गाडी गायव हुँदासमेत लमही नगरपालिकालाई कुनै वास्ता नभएको र जनताको करबाट खरिद गरिएको गाडीलाई व्यक्तिगत रुपमा त्यो पनि नगरपालिका समेतलाई जानकारी नदिई प्रयोग गर्नु “दूरुपयोग” भएको लमहीका जुझारु युवा मोहन केसीले बताए । 

गाडी चालक यसो भन्छन् !
'सोही गाडी चलाउने चालक मधुसुदन केसीले उक्त गाडी प्रमुख प्रशासकिय अधिकृतज्युले लग्नु भएको छ । गाडी काठमाडौं छ होला ।'  नगरपालिकामा सोधेर लग्नु भएको हो तपाईलाई केही थाहा छ भन्ने जिज्ञासामा चालक केसीले त्यो कुरा आफूलाई जानकारी नभएको बताए । उनले भने, 'गाडी गायब भएको छैन, अधिकृतले नै लग्नु भएको छ । बाहिर त्यसै हल्ला गरेका छन् ।' 

के भन्छन् नगरका प्रशासन शाखा प्रमुख !
नगरपालिकाका प्रशासन शाखा प्रमुख महेश थापा ठेडीले प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने गाडी हिजो (मंगलबार) सम्म नगरपालिका हाताभित्र देखिएको थिएन । क्वार्टर परिसरमा पनि थिएन । आजको हकमा भन्दा म काममा बाहिर छु । नगरपालिकामा गाडी नभएकोमा कहाँ गयो, कसले लगेको छ भन्ने कुरा आश्यर्य बनेको छ । जुन कुरा मलाई मेरो शाखामा जानकारी छैन ।

वडाध्यक्षहरु काठमाडौंमा !
अधिकृतबारे कर्मचारीहरुले चर्काे विरोध जनाएसँगै प्रमुख प्रशासकीय अधिकृतविहीन हुन पुगेको नगरपालिकामा नयाँ अधिकृत ल्याउनका लागि लमहीका ७ वटा वडाका अध्यक्षहरु यतिबेला काठमाडौंमा छन् । उनीहरुले नयाँ अधिकृत मिलानका लागि संघीय मामिला मन्त्रालयमा पुगेको र मन्त्रालयमा मेयर नआउँदा सम्म ठोस निर्णय गर्न नसकिने वताएको वडा न–७ का वडाध्यक्ष एवं नगर प्रवक्ता मोहन गिरीले जनाएका छन् । उनले भने, नयाँ लैजाने कि पुरानोलाई सावित गर्ने कुरा मेयर ज्यु आएपछि कुरा हुन्छ, जहाँ सम्म सम्झौता अनुसार पुरानालाई बहाली गर्दा सम्झौता विपरित हुने र नगरपालिका फेरी आन्दोलनको सिकार बन्न सक्ने जनाए । 

के भन्छन् मेयर साब् ?
आर्थिक बर्ष २०७५–०७६ मा टेण्डर प्रक्रिया बाट खरिद गरिएको ३२ लाख ७५ हजारको कार गायव हुँदासम्म नगरपालिकाका मेयर जोगराज चौधरी बेखबर छन् । मेयर चौधरीले भने, 'गाडी नभएको कुरा मैले निमित्तसँग थाहा पाएँ, मलाई कसैले पनि सोधेर लगेको छैन् । वडाध्यक्षहरु काठमाडौं जानु भएको छ, मलाई बोलाउनु भएको छ, तर आज प्रदेशको स्थायी राजधानी झण्डोत्तोलन कार्यक्रमले गर्दा रोकिएको हुँ, म भोलि काठमाडौं जान्छु र केही निकास निस्केला ।' 

सो सम्बन्धमा अधिकृत डाँगीलाई जानकारी लिनका लागि सम्पर्क गरेपनि सफल हुन सकिएन ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ